सुन हो गाउँले हो …
दसैंको बेलामा आफ्नो बाटोघाटो सरसफाई गरेर बस्नुहोस् ।
कसैले रक्सी नखानुहोस्, नबेच्नुहोला ।
रक्सी खाएर होहल्ला नगर्नुहोला।

म्याग्दीको बेनी नगरपालिका-९,घतानका ६० बर्षिय दिलबहादुर दमाईले दसैंमा दैनिकजसो बस्ती नजिकैको डाँडामा आफ्नो कर्नाल फुक्दै चिच्याएर सूचना सुनाइरहेका हुन्छन् । अहिले दसैमा गाउँघरमा रौनकता छाएको अवस्थामा बाटो सरसफाईदेखि मदिरा सेवन नगर्न, कोतघरको पूजा,वडा कार्यालयबाट आउने सूचनाहरू बस्तीसम्म पु-याउन दिलबहादुरलाई भ्याईनभ्याई छ ।

एकाविहानै उनी सूचना बोकेर डाँडाडाँडामा पुगेर सामाजिक सुरक्षा भत्ता,पूजाआजा, विभिन्न भेलाकार्यक्रम तथा बैठक,ब्यक्तिगत सूचनाहरू गाउँलेका घरघरमा पु¥याउँछन्। कर्नालको आवाज सँगै भट्याएर दिने सूचनालाई स्थानीयले ध्यान दिएर सुन्छन् ।

दिलबहादुरले कटुवालको जिम्मेबारी सम्हालेर सूचना बाँड्ने काम थालेको दुई दशक बितेको वितिसकेको छ। उनले ज्यालामजदुरीसँगै कटुवाल पेशालाई सँगसँगै लगेका छन् ।

‘सूचना हुदाँ भोकै घरबाट निस्किन्छु, पूरै गाउँ डुलेर सूचना भन्दाभन्दै जहाँ पाइन्छ त्यही खान्छु’ दिलबहादुरले भने । उनले कटुवाल पेसा गरेरै गाउँलेको सेवा गर्न पाएकोमा खुसी रहेको र यही जिम्मेबारीकै कारण गाउँलेले अन्न, लत्ताकपडा प्रयोग गर्ने गरेको बताउँछन् ।

गाउँलेलाई सूचना छर्दाछर्दै उनलाई भने पीडाले थिचेको छ । उनको एकमात्रै छोराको उपचारको क्रममा मृत्यु भएपछि घरमा रहेकी अपाङ्ग श्रीमीत र दुई नातीलाई विहान–बेलुकी हातमुख जोड्ने खर्च जुटाउने देखि आफ्नो नियमित जिम्मेबारी पूरा गर्न दिलबहादुर जहिले बिहानै घरबाट निस्किन्छन् ।‘छोरोको उपचारको क्रममा मृत्यु भयो, ऋण तिर्न सकेको छैन, पेटभरी खाने अन्न पनि हुदैन’दिलबहादुरले भने ।

उनको एक्लो कमाइले श्रीमति, दुई नातिलाई पेटभरी खान समेत पुग्दैन । कटुवाल कराए बापत समुदायस्तरबाट आउने खाद्यान्न नपुगेपछि सहयोग माग्दै हिड्ने गरेको दिलबहादुरको भनाई छ ।‘गाउँलेलाई सूचना दिने मेरो आफ्नै सूचना सुनाउने ठाउँ पाएको छैन, एउटा नातिको आँखामा समस्या छ, उपचारका लागि पैसा छैन’ दिलबहादुरले बेनीअनलाइनसँग भने ।

कटुवाल पेसाले परिवारको गुजारा जसोतसो चलेपनि नातिको शिक्षादीक्षा, उपचारमा सहयोगको खोजीमा रहेको बताए । लामो समयदेखि कटुवाल गर्दै आएका उनलाई आजभोलि भने अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ । गाउँघरबाट कटुवाल गरेबापत आउने अन्नबालीको ठाउँमा पैसा दिए छोराको उपचारमा लागेको ऋण तिर्नेदेखि अन्य घरायसी खर्च चलाउन सहज हुने दिलबहादुर बताउँछन् ।

यता वडा अध्यक्ष चक्र केसीले दिलबहादुरको इमान्दारिता र सही सुचना प्रवाहले समुदायस्तरमा कटुवाललाई विश्वास गर्ने बताए । ‘उहाँलाई सूचना प्रवाहमा सहज बनाउने छौ, वडाबाट सक्ने सहयोग गरिएको छ, अझैपनि थप प्रोत्साहन गछौं’ वडा अध्यक्ष केसीले भने । कटुवालले प्रदान गर्ने सूचना प्रवाहमा सहज हुने गरी हाते माइकको व्यवस्था गर्न समेत माग गरिएको छ । म्याग्दीको बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिकामा अझैपनि कटुवाल प्रथा कायम छ ।

Leave a Reply