म्याग्दी जिल्ला सुन्दर गन्तव्यका रूपमा परिचित छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणबाट प्रचुर पर्यटकीय सम्भावना बोकेको म्याग्दीमा पछिल्लो समय आन्तरिक एवं वाह्य पर्यटकको रोजाइको गन्तव्य बनेको छ। आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ। हिमाली जिल्ला म्याग्दीमा घुम्ने, पदयात्रा गर्ने, आरोहण गर्ने, प्रकृतिको सौन्दर्य अवलोकन गर्ने हिमाल, झरना, पदमार्ग, धार्मिक तथा पर्यटकीय स्थल, बाइसे–चौबीसे राज्यका पालाका दरबार, कोत मन्दिर र तातोपानीका कुण्डलगायत प्रशस्त छन् ।

म्याग्दी जिल्ला समुद्र सतहबाट ७ सय ९२ मिटर उचाइमा रहेको रत्नेचौरदेखि ८ हजार १ सय ६७ मिटरको उचाइमा अवस्थित अग्लो हिमशिखर धौलागिरिसम्म म्याग्दी जिल्ला फैलिएको छ। जलाधार क्षेत्रका आधारमा म्याग्दीलाई कालीगण्डकी, रहुघाट र म्याग्दी खोलासहित ३ क्षेत्रमा विभाजित छ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये ८ नेपालमा छन्। तीमध्ये म्याग्दीमा सातौं अग्लो टाकुरा धौलागिरि ८ हजार १ सय ६७ मिटर र ८ हजार १ सय ६४ मिटर अग्लो अन्नपूर्ण छन्। यसैगरी नेपाल पर्वतारोहण संघका अनुसार ६ हजार मिटरभन्दा अग्ला ५१ वटा हिमाल म्याग्दीमा छन्। धौलागिरी, अन्नपूर्णसहित मानापाथी, चुरेन, गूर्जा, निलगिरि, मुना, पुठा, सीता हिमाल यहाँ छन्। धौलागिरि हिमशृंखलामा नै ६ चुचुरा छन्। यस्ता छन् म्याग्दीका केही पर्यटकीय स्थल।

बेनीबजार राजधानी काठमाडौंबाट २ सय ८५ किलोमिटर, गण्डकी प्रदेशको राजधानी पोखराबाट ८० किलोमिटर पश्चिममा पर्छ म्याग्दी जिल्ला। पूर्वमा पर्वत, उत्तरमा मुस्ताङ र डोल्पा, पश्चिममा रुकुम तथा दक्षिणमा बागलुङ जिल्ला पर्ने म्याग्दीको सदरमुकाम बेनीबजार हो। हिमालपारीको जिल्ला मुस्ताङको मुख्य प्रवेशद्वारका रूपमा पनि बेनीबजारलाई लिइन्छ।

‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाली रुमाल’ बोलको गीतले समेत चर्चित बेनीबजारमा बास बसेर धेरै ठाउँ घुम्न सकिन्छ। बेनीको ३ किलोमिटर उत्तरमा छ– प्रसिद्ध गलेश्वर मन्दिर। सदरमुकाम बेनीबजारको आसपास बेनी शिवालय, लक्ष्मीनारायण मन्दिर, बुद्ध विहार, महारानीथानलगायत धेरै धार्मिक क्षेत्र छन्। बेनीनजिकै पर्यटकीय स्थल लभ्ली हिल छ। बेनीमा अहिले अग्र्या्निक उत्पादनका पसल पनि सञ्चालनमा छन्।

अन्नपूर्ण बेसक्याम्प
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमाल पछिल्लो दुईबर्ष यता विदामा घुम्न जाने सर्वाधिक रुचाइएको गन्तब्य बनेको छ । अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग अन्तष्त समुद्री सतहदेखि चार हजार एक सय ९० मिटरको उचाइ सम्म पुग्न सकिनछ ।

नारच्याङ हुँदै–छोटेपा–हुमखोलासम्म २० किलोमिटर दुरीमा सडकको ट्र्याक निर्माण भएपछि पर्यटकलाई सहज भएको छ। हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग, आश्रयस्थ लगायत पर्यटन पूर्वाधार निर्माण गरेपछि नर्थ अन्नपूर्ण आधार शिविरमा गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि एकैदिनमा पुग्न सकिन्छ भने ३ र ५ दिनको यात्रा निकै सहज हुन्छ । यो पदर्मागस्थलमा फुतफुते झरना सहित दर्जनभन्दा बढी पर्यटकलाई आर्कषित गर्न सकिने गन्तब्यहरु छन् ।

घोरेपानी र पुनहिल जिल्लाको उत्तरी क्षेत्र अन्नपूर्ण गाउँपालिमा–६ घारमा पर्ने घोरेपानी र पुनहिल म्याग्दीका प्रमुख पर्यटकीय गन्तव्य हुन्। घोरेपानी समुद्र सतहदेखि २८ सय ७४ मिटर उचाइमा स्थित छ। घोरेपानीको शिरमा ३ हजार २ सय १० मिटर अग्लाइमा पुनहिल पर्छ। बेनीबाट सवारीसाधनमा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर–घार–शिख–चित्रे हुँदै घोरेपानी पुगिन्छ। त्यस्तै कास्कीको नयाँपुल, घान्द्रुक भएर पनि घोरेपानी र पुनहिल पुग्न सकिन्छ।

बेलुका घोरेपानीमा बास बसेर बिहान सबेरै पुनहिल पुगेर सूर्योदय, हिमालको दृश्य अवलोकन गर्न सकिन्छ। पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, निलगिरि, गूर्जा, मानापाथीलगायत दर्जनभन्दा बढी हिमाल अवलोकन गर्न सकिन्छ। संसारको सबैभन्दा ठूलोमध्ये एउटा गुराँसे जंगल यसै क्षेत्रमा पर्छ। यहाँ २७ प्रकारका लालीगुराँस पाइन्छन्। पर्यटकको रोजाइमा पर्छ घोरेपानी। घोरेपानीमा पछिल्लो समय स्वदेशी पर्यटकको बाहुल्यता बढ्दै जान थालेको छ।

खयरबराह मन्दिर र खोप्रालेक अन्नपूर्ण गाउँपालिका–५ शिखको पाउद्वारस्थित अर्को प्रसिद्ध धार्मिक तीर्थस्थल हो– खयरबराह मन्दिर र खोप्रालेक। म्याग्दीको बेनीदेखि करिब ४ घण्टाको कच्ची मोटरबाटो यात्रापछि मन्दिर पुग्न २ दिन यात्रा गर्नुपर्छ। खयर क्षेत्रमा व्यावसायिक भेडापालन गरिएको छ। खोप्रालेक पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्दै गएको छ। 

अन्धगल्छी र रुप्से झरना

संसारकै गहिरो अन्धगल्छी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्छ। मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने अन्धगल्छीमा मुस्ताङ आवतजावत गर्ने पर्यटक अवलोकन गर्छन्। शालिग्राम पाइने विश्वको एकमात्र पवित्र कालीगण्डकी नदीले निर्माण गरेको अन्धगल्छीको गहिराइ ६ हजार ९ सय ६७ मिटर छ। संसारको सातौं अग्लो शिखर धौलागिरि र अन्नपूर्ण हिमालको बीचमा पर्ने गल्छी समुद्र सतहबाट १२ सय मिटरमा अवस्थित छ। गल्छी अवलोकन गर्न आन्तरिक र विदेशी पर्यटक दैनिक यहाँ जाने गरेका छन्।

अन्धगल्छीदेखि केही माथि रहेको मनै लोभ्याउने सुन्दर प्राकृतिक रुप्से छहरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर, मनमोहक र आकर्षक छ। यो छहरा समुद्र सतहबाट झन्डै १८ सय मिटर उचाइमा छ। सरकारले छहराको हुलाक टिकटसमेत प्रकाशन गरिसकेको छ। बेनीबजारबाट ३० किलोमिटर उत्तरपूर्वमा पर्ने रुप्से छहरा र अन्धगल्छी पुग्न करिब १ दिनको पैदलयात्रा गर्नुपर्छ। बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने अन्धगल्छी र रुप्से झरनामा बेनीबाट सवारीसाधनमार्फत ३ घण्टामा सजिलै पुग्न सकिन्छ। मुस्ताङ जाने पर्यटक सवारी रोकेर झरनामा तस्बिर खिचाउँछन्।

लभ्लीहिल (प्रणय शिखर) पछिल्लो समय पर्यटकीयस्थलको चर्चा बटुलेको छ लभ्लीहिल (प्रणय शिखर) ले। ‘मायालु डाँडा’ अर्थात् लभ्लीहिलका नामले चर्चित यहाँ खासगरी युवायुवती र तन्नेरीको भीड लाग्छ। बेनीबजार नजिक पर्यटकीय गन्तव्यको सम्भावना बोकेको लभ्लीहिलमा अहिले दिनहुँजसो सयौं पर्यटकको चहलपहल हुन्छ। लभ्लीहिलमा रेलिङ, आराम गर्न बेन्च र गोलघर बनाएपछि पर्यटक अझै बढेका छन्।

बेनीदेखि आधा घन्टामा पुग्न सकिने लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्र देख्न सकिन्छ। यसैगरी म्याग्दी जिल्लाको अधिकांश भूभागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तसमेत अवलोकन गर्न पाइन्छ। बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको यस ठाउँबाट अवलोकन गर्न सकिन्छ।

भकिम्लीको स्वर्गाश्रम गाउँको शिर र वरिपरिबाट सप्तरंगी डाँडाकाँडाले घेरिएको पर्यटकीयस्थल भकिम्लीको स्वर्गाश्रम म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा पर्छ। स्वर्गाश्रमबाट धौलागिरि, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ«े, गूर्जा, चुरेन, बेहुला–बेहुली नामकरण गरिएका हिमाल देखिन्छन्।

यहाँबाट धौलागिरी र अन्नपूर्ण रेन्जका सबै हिमशृंखला देखिनुका साथै यस ठाउँबाट डेढ दर्जनभन्दा बढी हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। स्वर्गाश्रम नजिकै तपस्याका लागि ओढार पनि छ। विभिन्न समयमा ऋषिमुनि र माता आएर तपस्या गर्ने स्वर्गाश्रममा आन्तरिक र वाह्य पर्यटक जाने गर्छन्।

बेलढुंगा (पत्थर) बेलको जस्तो आकारको रुपमा रहेको हुँदा भकिम्लीको शिरमास्थित शिलालाई बेलढुंगा भनिन्छ। म्याग्दी र छिमेकी जिल्ला बागलुङको सिमानामा पर्ने बेलढुंगाबाट बागलुङकै काठेखोला गाउँपालिकाको धम्जा तथा घुम्टेको लेक, गाजाको धुरी र म्याग्दीका अधिकांश भूभाग देखिन्छन्।

बेनीबजारबाट ३ कोस टाढाको भकिम्ली गाउँदेखि १ घण्टाको दुरीमा स्थित बेलढुंगा पर्यटकका लागि निकै आकर्षक गन्तव्य मानिन्छ। बेनीबजारबाट सवारीसाधनमा डेढ घण्टा त्यसपछि एक घण्टा पैदलयात्रा गरेर पुग्न सकिने यहाँबाट धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गूर्जा, चुरेन, बेहुला–बेहुलीसहित दर्जनौं हिमालका साथै अनेकौं सुन्दर, आकर्षक र मनमोहक दृश्यावलोकन गर्न सकिन्छ।

जगन्नाथ मन्दिर कुखुरापालन र मदिरा निषेधित गाउँको परिचय बनाएको म्याग्दीको गाजनेमा छ– प्रसिद्ध जगन्नाथ मन्दिर। बेनी नगरपालिकाको वडा नम्बर ५ गाजनेमा पर्ने नेपालमै फरक स्वरूपको करिब ५ सय २५ वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्ति छन्।

बाइसे–चौबीसे राज्यका पालामा गाजनेमा १४औं शताब्दिताका तत्कालीन राजा दिलिपबम मल्ल (डिम्ब)ले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर मन्दिरको स्थापना गरेको किम्बदन्ती छ। गुफाको डाँडो बेनीबजारदेखि ३ घण्टाको पैदल दुरीको जगन्नाथ मन्दिरमा सवारीसाधनमा एक घण्टामा सजिलै पुग्न सकिन्छ। पर्यटकीय सम्भावना बोकेको गुफाको डाँडाबाट झन्डै दुई दर्जन हिमाल देखिन्छन्। हिमालको साथसाथै यहाँबाट म्याग्दी जिल्लाको साबिकका ४१ गाविसमध्ये ३६ गाविस अवलोकन गर्न सकिन्छ।

निस्कोटको बराहताल हिमालसँगै पौडी खेल्न मिल्ने ताल हो पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा पर्ने निस्कोटको बराहताल। यो बराहताल र तालको आसपासबाट मनोरम हिमशृंखला देखिन्छन्। बराहतालमा देखिने वनजंगल र हिमालका प्रतिबिम्ब (छाया) निकै आकर्षक र मनमोहक लाग्छ। पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल र तलाउमा देखिने हिमालको दृष्यले सबैलाई अचम्भित बनाउँछ। निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहताल हेर्नकै लागि त्यहाँ पुग्ने गरेका छन्।

तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयमा विकसित हुँदै गैरहेको तातोपानी कुण्ड सदरमुकाम बेनीदेखि ९ किलोमिटर पश्चिम बेनी नगरपालिका–४ सिंगामा छ। चिसोका कारण हुने सबै प्रकारका रोग निको हुने भएपछि तातोपानी कुण्डमा दिनहुँ स्वदेशी र विदेशी पर्यटक तथा बिरामीको भीड बढ्दै जान थालेको छ । पर्यटकीय हिसाबले पनि तातोपानी कुण्ड आकर्षणको केन्द्र बनेको छ।

तातोपानी कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथ, गानोगोला, युरिकएसिड, हाडजोर्नी दुख्ने, हाडको दुखाइ, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबै प्रकारका रोग निको हुने जनविश्वास छ। कुण्डमा उपचार गराउन आउने पर्यटकले तातोपानीमा पछिल्लो समय होटल व्यवसाय फस्टाउँदै गएको छ भने होमस्टेसमेत सञ्चालनमा आएका छन्। तातोपानी कुण्डमा मात्रै वार्षिक झन्डै २० हजार पर्यटक आउने गरेका छन्।

गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो– म्याग्दीको गलेश्वर मन्दिर। बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम एउटै चक्रशिलामा छ। सत्ययुगमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहेको किम्बदन्ती छ। मन्दिर नजिकै कहिल्यै नसुक्ने जलबराह कुण्डसमेत छ।

पौलस्त्य पुलहाश्रम

पौलस्त्य ऋषिका नाति लंकाका राजा रावण जन्मिएको ठाउँ पौलस्त्य–पुलहाश्रम म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पछैमा पर्छ। राउन्ड धौलागिरी बेसक्याम्पसम्म पदमार्ग पु¥याउन धार्मिकस्थल पौलस्त्य–पुलहाश्रम हुँदै अघि बढाउन निरन्तरता दिइने भएको छ।  पौलस्त्य मन्दिरनजिकै रावणको नाभी गाडिएको भन्ने ढुङ्गा (पत्थर) पनि रहेको छ । विश्वका १५ पवित्र धार्मिक तीर्थस्थलमध्ये एउटा पौलस्त्य मन्दिरबारे श्रीमद्भागवत पुराणमा पनि उल्लेख पाइन्छ। यहाँबाट पनि मनोरम हिमशृंखला देखिन्छन्।

टोड्के क्षेत्र

रैथाने मूला, आलु, धजरालगायत पाइने टोड्के पर्यटकीय स्थल हो। मनोरम दृष्यावलोकन गर्न सकिने टोड्के पर्यटकीय हिसाबले सम्भावनायुक्त क्षेत्रका रूपमा चिनिन्छ।  टोड्केमा म्याग्दीसहित स्वदेशी र विदेशी पर्यटक जान थालेका छन्। टोड्केको धुरीबाट म्याग्दीको अधिकांश भूभागका साथै मुस्ताङ र पर्वतका डाँडाकाँडासमेत देखिन्छन्।

टोड्केमा हेलिप्याड पनि छ। टोड्के वनभोज खान, घुमफिर गर्न र स्थानीय उत्पादन किन्न उपयुक्त छ। स्वर्गद्वारी आश्रम पर्यटकीय क्षेत्र टोड्केमा सय वर्ष पुरानो धार्मिकस्थल स्वर्गद्वारी आश्रम पनि छ। आश्रममा देशका विभिन्न ठाउँबाट समय समयमा ऋषिमुनि आएर तपस्या गर्ने गरेका छन्। प्युठान जिल्लाको प्रसिद्ध स्वर्गद्वारी मन्दिरको शाखा मानिने टोड्केको स्वर्गाश्रम आसपासमा अन्य धार्मिक संरचनाको पनि निर्माण भएका छन्। पछिल्लोपटक पर्यटक लक्षित गरेर टोड्के नजिकै पूर्ण र झिँ गाउँमा होमस्टे सञ्चालन गरिएको छ। टोड्केमा स्थानीयले रिसोर्ट निर्माण गरिरहेका छन्। आश्रमबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे नजिकै देखिने भएकाले यो क्षेत्र ऋषिमुनिले धेरै मन पराएको मानिन्छ।

गुरिल्ला पदमार्ग,जलजला लेक

गुरिल्ला पदमार्गमा समेटिएको म्याग्दीको पर्यटकीय ठाउँ जलजला लेक प्रचारप्रसार तथा पूर्वाधारको अभावले ओझेलमा परेको छ ।धौलागिरि गाउँपालिका–२ मा अवस्थित जलजलाको लेकबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने भए पनि प्रचारप्रसार नहुँदा पर्यटक आगमन हुन नसकेको हो ।

समुद्री सहतदेखि तीन हजार ४२० मिटरको उचाइमा समथर भूभागमा अवस्थित जलजलाको लेकबाट धौलागिरि, गुर्जा, चुरेन, पुथा, निलगिरिलगायतका दर्जनौँ हिमशृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको जलजलाको लेकलाई कुमारी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ । जलजला क्षेत्र ढोरपाटन शिकार आरक्ष क्षेत्र भित्र पर्दछ ।

तत्कालीन सरकार र माओवादीको द्वन्द्वका कारण चर्चामा आएका द्वन्द्व प्रभावित क्षेत्रलाई समेटेर सन् २०१२ देखि गुरिल्ला पदमार्ग खुला गरेपछि म्याग्दीको बेनी हुँदै पश्चिमी व्यापारिक केन्द्र दरवाङबाट बागलुङको ढोरपाटन क्षेत्र र रुकुम हुँदै रोल्पाको सुलिचौरमा पुगेर टुंगिने यस पदमार्गलाई करिब दुई सातामा फन्को लगाउन सकिन्छ ।द्वन्द्व प्रभावित क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न र विदेशी पर्यटकलाई जनयुद्धकालीन अवस्था, विकट बस्तीको जनजीवन र मगर तथा छन्त्याललगायतका जातजातिको संस्कृतिको रसास्वादन गराउन यस पदमार्गले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

पर्वत राज्यको राजधानी ढोलठान

ऐतिहासिक पर्वत राज्यको राजधानी ढोलठानस्थित पर्यटकीय र पुरातात्विक महत्वले युक्त राजदरबार सम्म पुग्ने पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज भएको हो। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको शिरमा अवस्थित ढोलठान दरबार समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा छ।

‘कहिले राजा ढोलठाना, कहिले राजा बेनी’ म्याग्दीमा यो लोक कथन अझै पनि उत्तिकै प्रचलित छ। बाइसी, चौबीसी राज्यकालमा चौबीसी राज्यअन्तर्गतको ‘मलेबम प्रदेश’का नामले चिनिएको १६ हजार पर्वत राज्यको ग्रिष्मकालीन राजधानी ढोलठान ऐतिहासिक, सामरिक र पर्यटकीय सम्भावनाले पनि उत्तिकै महत्वपूर्ण रहेको छ। यहाँ तत्कालीन राजाहरुले पूजा गर्ने पुरातात्विक सम्पदासहितको पुरानो मन्दिर र विभिन्न हातहतियारसमेत रहेका छन्। म्याग्दीको सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत ४५ मिनेट र पैदल करिब तीन घण्टामा यहाँ पुग्न सकिन्छ।

धौलागिरी आइसफल
म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरी आइसफल नयाँ पर्यटकीय गन्तव्य हो । बेनी– जोमसोम सडक खण्ड अन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदलयात्रामा धौलागिरि हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ । धौलागिरी आइसफलमा मानापाथी हिमालको समेत आइसफलसंगै जोडिएको छ । सडकमार्गबाट छोटो अवधिकै पैदलयात्रामा हिमालको काखमा पुग्न सकिन्छ । छोटो दुरीको पैदलयात्रामा हिमालको फेदमा आउन सकिने यहाँको प्रमुख विशेषता हो । वरिपरी हिमालको लस्करले घेरिएको बुकी पाटनबाट हिमालको टुप्पोदेखि निरन्तर खसिरहने आइसफलको दृष्य लोभलाग्दो देखिन्छ ।

समुद्री सतहदेखि ४ हजार १५० मिटर उचाईमा रहेको धौलागिरि र मानापाथी हिमालको आइसफल क्षेत्रबाट नीलगिरी र अन्नपूर्णलगायतका हिमशृङ्खलाका १० ओटा बढी हिमचुचुराहरुको समेत नजिकैबाट दृष्यावलोकन गर्न सकिन्छ । थासाङको ह्याङडिङ डाँडाको बुकी पाटनबाट धौलागिरी र मानापाथी हिमालको आइसफल समेत हेर्न सकिन्छ । पाँच घण्टाको पैदलयात्रामै पुग्न सकिने भएकाले कतिपय पर्यटकहरु टाङछारा क्षेत्रमा रहेका होटलहरुमा बास बसेर एकै दिनमा आइसफल क्षेत्रको भ्रमण गरेर पुनःफर्कने गर्छन् ।

रुइसे
समुन्द्री सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित रुइसे क्षेत्र नजिकैको आर्कषक गन्तब्य मानिन्छ । पछिल्लो समय भगवती, पिप्ले, गलेश्वर, बेनी, बागलुङ, कुश्मा, पोखराबाटसमम घुमेर एकैदिन फर्किन सकिन्छ । यस क्षेत्रबाट

धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न पाउनु रुइसेको प्रमुख आकर्षण हो। ऋतुअनुसार रुइसेको पाखामा फुल्ने फूल, वनजङ्गल, ग्रामीण बस्ती, पशुगोठ, जीवनशैली र पहाडी भूगोलको दृश्य अवलोकन गर्न पाइने रुइसे बस्तीदेखि टाढा भएकाले कोलाहलबाट मुक्त छ।म्याग्दीको सदरमुकाम बेनीदेखि गलेश्वर–पिप्ले–भगवती हुँदै करिब एक घण्टा ३० मिनेट सवारी साधनको यात्रा गरेपछि रुइसे पुग्न सकिन्छ।

कच्ची सडक पुगेको रुइसेमा रघुगङ्गा गाउँपालिकाले भ्यू टावर, पदमार्ग, वनभोजस्थल र डिभिजन वन कार्यालयले गुराँसको बगैँचा स्थापना गरेको छ । रुइसेमा बास बस्ने पर्यटकहरु एक घण्टा उकालो हिँडेर भेडिओडारसम्म पुग्न सक्छन्। हिउँदमा भेडिओडारमा आउने भेडाबाख्राका गोठले परम्परागत जीवनशैलीको झल्को दिन्छ। चरन क्षेत्रका भेडाबाख्राको दृश्य लोभलाग्दो हुन्छ।भगवतीको ऐतिहासिक कोतघर र मल्लकालीन रुइसे दरबारका भग्नाअवशेषहरु पनि अवलोकन गर्न सकिन्छ।

मालिकाधुरी
बाह्रैमास चिसो हावा चल्ने मालिकाधुरीे मालिका, रघुगंगा र मंगला गाउँपालिकाको सीमानामा अवस्थित छ । हिमालको काखैमा रहेको मन्दिरमा बर्षेनी हजारौं भक्तजनहरू मनोकामना पूरा हुने विश्वासका साथ पुग्ने गरेका छन्।समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला त्यहाँ पुग्ने पर्यटकभन्दा होेँचा देखिन्छन् ।

मन्दिर आसपासका क्षेत्रबाट दृष्य अवलोकन गर्न आउने धार्मिक तथा पदयात्रामा पुग्ने पर्यटक हिमालभन्दा अग्ला देखिन्छन् । आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यले सजिएको मालिका प्राकृतिक दृष्यको धनी हुनुका साथै धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्रस्थलको परिचय पाएकोे छ ।

रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाईवाङ,हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हुदै पनि मालिका पुग्न सकिन्छ ।बेनी–कुहुँ– पूर्णगाउँ, बेनी–दरबाङ, दरबाङ–बिमको बिलबाङ र बेनी–झिँ–पाखापानीको ठाडाखानी हुदै सडक पुगेपनि सबै क्षेत्रबाट करिब ३ घण्टासम्म कठोर यात्रा गरेपछि मात्रै मालिका पुगिन्छ । काठमाण्डौको चन्द्रागिरीमा एउटा भालेश्वर महादेव, मनकामना र कालिन्चोकमा एकएक देवीको मात्र बास छ।

मोहरेडाँडा

समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरे डाँडा’ बाट देखिने हिमशृङ्खला पर्यटकलाईआर्कषित गर्ने गर्दछ । घना गुराँसे जङ्गलको यात्रा निकै रोमाञ्चकृत हुँदो रहेछ, प्राकृतिक छटाले यहाँ आउँदा हुने सबै दुःख बिसाइदिन्छ र अन्नपूर्ण र धौलागिरि रेञ्जका दन्तेलहर हिमाललाई एक ठाउँबाट नियाल्नुको मज्जा नै छुट्टै हुन्छ ।

यस डाँडाबाट धौलागिरि, गुर्जा, चुरेन, माना पाथी, टुकुचे, निलगिरी, अन्नपूर्ण, मार्दी, मनास्लु, माछापुच्छ्रे लगायतका करिब दुई दर्जन हिमाललाई अवलोकन गर्न सकिन्छ ।मोहर डाँडाको भ्रमणका लागि म्याग्दीको बेनीबाट नागी र राम्चे हुँदै आलडाँडा भएर मोहरे, कास्कीको नयाँ पुल–उल्लेरी–वनठाँटी–कोखे हुँदै मोहरे, बेनीबाट घोरे पानी–पुन हिल हुँदै मोहरे र पर्वतको मिलन चोक–सालिजा–जलजला–हप्पाल हुँदै मोहरेमा पर्यटक पुग्ने गर्छन् ।पछिल्लो समय पुन हिलदेखि मोहरे जोड्ने गुराँस पदमार्ग भएर धेरै पर्यटक मोहरे डाँडा क्षेत्रको भ्रमणमा जाने गरेका छन् ।

Leave a Reply