म्याग्दीको बेनी नगरपालिका—९ घतानका ६० वर्षीय दिलबहादुर दमाईं र बेनी नगरपालिका–२ ज्यामरुककोटका ७१ वर्षीय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आएका छन् ।

गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पुर्‍याउन डाँडा उक्लिहाल्छन् । सदरमुकामसँगै जोडिएकाले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ छ ।

उनी विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउनका लागि कटुवाल कराउँछन् । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्‍याउने जिम्मा उनकै छ । म्याग्दीका ६ वटै स्थानीय तहका प्रायः सबै गाउँमा अझै पनि कटुवाल प्रथा कायमै छ । सञ्चार तथा सूचना प्रविधिको पहुँच विस्तार गरी परम्परागत प्रथालाई आधुनिकीकरण गर्दै लैजानेतर्फ भने कसैको पनि ध्यान पुग्न नसकेको पत्रकार हरिकृष्ण गौतमको भनाइ छ ।

यसरी परम्परागत प्रथा जोगाउन महत्त्वपूर्ण भूमिका खेले पनि उनीहरूको पारिश्रमिक भने न्यून छ । बगरफाँटमा एक सय ९७ घरधुरी छन् । तीमध्ये बसाइँसराइका कारण कैयौँ घर खाली छन्, कतिपय घरमा गाउँ बाहिरबाट आएका मानिस भाडामा बसेका छन् ।

बसोबास गर्नेहरूबाट विकले वर्षभरको ज्याला प्रतिघर दुई पाथी अन्न मात्र पाउने गर्नुभएको छ । यसले जीविका धान्न मुस्किल भइरहेको उनको गुनासो छ । “बाबुबाजेले गर्दै आएको पेसा धान्नका लागि अरू काममा ध्यानै दिइएन । यसैलाई निरन्तरता दिन आफ्नो सम्पूर्ण समय खर्चियो । गाउँमा अन्य पेसा र विकल्प पनि भएनन् तर कटुवाल कराउने काम गरेर जीवन धान्न सकिएन”, विकले भने ।

कटुवाल दिलबहादुर दमाईको पनि यस्तै गुनासो छ । विगत २० वर्षदेखि कटुवालको काम गर्दै आएका उनले दैनिकजसो बस्ती नजिकैको डाँडामा आफ्नो कर्नाल फुक्दै चिच्याएर थरीथरीका सूचना सुनाउँछन् । दसैँको बेला त झन् व्यस्तता बढ्छ । दसैँमा गाउँघरमा बाटो सफाइ गर्नेदेखि मदिरा सेवन नगर्न, कोतघरको पूजा, वडा कार्यालयबाट आउने सूचनाहरू बस्तीसम्म पुर्‍याउन दिलबहादुरलाई भ्याइनभ्याइ हुन्छ ।

“सुन हो गाउँले हो, दसैँको बेलामा आफ्नो बाटोघाटो सरसफाइ गरेर बस्नुहोस् ।

कसैले रक्सी नखानुहोला, नबेच्नुहोला, रक्सी खाएर होहल्ला नगर्नुहोला ।”

एकाबिहानै यस्ता यस्तै सूचना बोकेर अग्लो डाँडामा गएर कराउनु उनको काम हो । सामाजिक सुरक्षाभत्ता, पूजाआजा, विभिन्न भेला, कार्यक्रम तथा बैठक, सुख वा दुःखका कुरा घरघरमा पुर्‍याउन थालेको पनि उनको दुई दशक बितिसकेको छ । उहाँले ज्यालामजदुरीसँगै कटुवाल पेसालाई निरन्तरता दिँदै आएको बताए । “सूचना हुदाँ भोकै घरबाट निस्किन्छु, पूरै गाउँ डुलेर सूचना भन्दाभन्दै जहाँ पाइन्छ त्यही खान्छु” दिलबहादुरले भने, “केही सूचना नभएको दिन जे पाउँछ त्यही ज्याला मजदुरीमा काम गर्छु ।”

  • आफ्नो पीडा कसलाई सुनाउनु !

गाउँलेलाई सूचना र खबर सुनाउने दमाईले आफ्नो पीडा सुनाउने ठाउँ भने कतै नपाएको बताए । “पीडाको पहाडले मलाई थिचेको छ । एकमात्रै छोराको उपचारको क्रममा मृत्युपछि अपाङ्गता भएकी श्रीमती र दुई नातिलाई बिहान–बेलुकी ‘हातमुख जोड्ने’ खर्च जुटाउनेदेखि आफ्नो नियमित जिम्मेवारी पूरा गर्नैपर्छ । छोरोको उपचारमा लागेको ऋण अहिलेसम्म तिर्न सकेको छैन । कहिलेकाहीँ त पेटभरि खाने अन्न पनि हुँदैन”, दिलबहादुरले दुखेसो पोखे, “एक्लो कमाइले श्रीमती, दुई नातिलाई पेटभरि खान समेत पुग्दैन । कटुवाल कराएबापत समुदायस्तरबाट आउने खाद्यान्न नपुगेपछि सहयोग माग्दै हिँड्ने गरेको छु ।”

उनले गाउँलेका सूचना दिने कर्ममा लागेको मान्छेले आफ्नै सूचना सुनाउने ठाउँ नपाउँदा खिन्न हुने गरेको सुनाए । “एउटा नातिको आँखामा समस्या छ, उपचारका लागि पैसा छैन । अरूले जस्तै राम्रो लाउने र मिठो खाने चाहना राख्छन् तर आफ्नो कमाइले पुग्दैन”, दिलबहादुरले भने । कटुवाल पेसाले परिवारको गुजारा जसोतसो चले पनि नातिको शिक्षादीक्षा, उपचारमा सहयोगको खोजीमा रहेको उनको भनाइ छ ।

उनीलगायत लामो समयदेखि कटुवालको काम गर्दै आएका यहाँका सबैजसोलाई आजभोलि अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ । आफ्नो कामबापत आउने अन्नबालीको सट्टा पैसा दिएमा छोराको उपचारमा लागेको ऋण तिर्ने र नातिको उपचार गर्न सहज हुने दिलबहादुर बताउँछन् ।

बेनी नगरपालिका—९ का वडा अध्यक्ष चक्र केसी दिलबहादुरको इमानदारिता र सूचना प्रवाह गर्ने भूमिकाको तारिफ गर्छन् । “उहाँलाई सूचना प्रवाहमा सहज बनाउने छौँ । वडाबाट सक्ने सहयोग गरिएको छ, अझै पनि थप प्रोत्साहन गर्छौँ”,  वडाध्यक्ष केसीले भने ।

कटुवालको सहजताका लागि हाते—माइकको व्यवस्था गर्नसमेत माग गरिएको छ । “बेनीसहित सबै गाउँपालिकामा अझै पनि कटुवाल प्रथा कायम नै छ । त्यसैले सूचना प्रवाहमा सहजता ल्याउन प्रविधि सहयोग र यस काममा लागेका हामीहरूको जीविकोपार्जनलाई ध्यानमा राखेर आवश्यक काम गर्न हाम्रो आग्रह छ”, कटुवाल विकले भने ।

Leave a Reply