म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत म्याग्दीको ऐतिहाँसिक, धार्मिक र पर्यटकीय स्थल हो ।

विस १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले ताकमकोतबाट राज्य सञ्चालन गरेको इतिहास छ । समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाईमा अवस्थित ताकमकोट वाइसे चौविसे राज्यका पालमा हालको धवलागिरी र मालिका गाउँपालिकाको केही वडाको राजधानी थियो ।

बाइसे चौबिसे राजाले हरेक वर्षको वडादसैँको महानवमी पर्वको अवसरमा आठ सय वर्ष अघि ठेला (छेलो) फालेर पहलमान पहिचान गर्न बसाएको चलनलाई अहिलेम्म पनि निरन्तरता दिइएको छ ।

ताकमकोतमा आयोजना हुुने ठेलो फाल्ने प्रतियोगिता जितेर माल ९पहलमान०को सम्मान पाउने यस क्षेत्रका हस्टपुुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाहरुको पुर्खौैअघिदेखिको शोख भएको ताकमकोत संरक्षण व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताउनुभयो ।

“ठेलो फाल्ने यस क्षेत्रका युवाहरुमाझ लोकप्रिय खेल भएपनि ताकमकोतको ठेलोमा जित्नेको छुट्टै महत्व र पहिचान हुने भएकाले यसलाई युवाहरुले प्रतिष्ठाको विषय बनाउने गरेका छन्”, उहाँले भन्नुभयो “तत्कालीन थापा राजाका पालामा सुरु भएको माल पहिचान गर्न ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलनलाई अहिले पनि निरन्तरता दिएका छौँ ।”

माललाई फेता गुुटाएर काँधमा बोकेर गाउँ परिक्रमा गराएर सम्मानका साथै नगद उपहार दिने चलन छ । मेला महोत्सव र सभासमारोहमा मालको उपमा दिएर सम्बोधन गर्ने गरिन्छ । पहिले ताकमकोतको ठेलोमा प्रतिस्पर्धा जनाउनेहरु बर्खामा लेकको बुकीका गोठमा गएर दूध, दही, घ्यू खाने चलन रहेको बुढापाका बताउँछन् ।

जसले नवौँ पटक जिते प्रतियोगिता

ताकमकोतको यस वर्षको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ का ३४ वर्षीय अशोक खत्रीले जित्नुुभएको छ । सोही वडाका अध्यक्ष समेत रहेका खत्रीले नवौ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास रच्नु भएको हो ।

आठ दशमलब पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको थियो । खत्री बाहेक हालसम्म नौपटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि नजितेका कोतपुजा व्यवस्थापन समितिका सदस्य तेजिन्द्र बहादुर थापाले बताउनुभयो ।

“प्रतियोगितामा ताकम र आसपासका गाउँका ३२ जना युवाहरुले सहभागिता जनाएका थिए”, थापाले भन्नुुभयो, “पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा बिजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ ।”

विस २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाउनुुभएको थिएनन् । विसं २०७९ मा मालिका गाउँपालिका–१ निस्कोटका याम परियारसँग पराजित हुनुभएको थियो । निरन्तरको अभ्यास, शारीरिक व्यायम र सन्तुलित खानपानले उपाधि जिताउन सहयोग गरेको खत्रीले बताउनुभयो ।

“विंस २०७८ मा आमाको निधन भएको र २०७९ मा जनप्रतिनिधिको रुपमा काम गर्दा तयारी नपुुगेर सफल भएको थिइन”, उहाँले भन्नुभयो, “गत वर्ष एक महिनादेखि तयारी गरेको थिए । यसपाली विगतको मेरो रेकर्ड तोड्ने कोही पनि प्रतिस्पर्धी नदेखेपछि तयारी नभएपनि अन्तिममा प्रतिस्पर्धामा उत्रिएको थिए । एकै पटकमा अरुले भन्दा टाढा ठेलो फाले । सोख पूरा भएकोमा खुसी छु ।”

मालको सम्मानले समाजमा स्थापित गराउन र निर्वाचनमा उमेद्वार बनेर चुनाव जित्न सजिलो भएको खत्रीको अनुभव छ । भलिबल र बास्केटबलका खेलाडी समेत रहेका स्नातक तहको शिक्षा हासिल गरेका खत्री नेकपा (माओवादी केन्द्र)को वडा कमिटिका अध्यक्ष पनि हुनुहुन्छ । जनप्रतिनिधिको जिम्मेवारी पुरा गरेपछि खेल प्रशिक्षक बन्ने खत्रीको लक्ष्य छ ।

खत्रीलाई गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुुर जुुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमपसाद पुन, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, पूर्वउपध्यक्ष रेशम छन्त्याल लगायतले फेता गुटाएर सम्मान गर्नुभएको थियो ।

स्थानीयबासीहरुले खत्रीलाई काँधमा बोकेर बाजागाजासहित गाउँ परिक्रमा गराएका थिए । महानवमी पर्वको अवसरमा परम्परागत चलनअनुसार ताकमकोतमा मच्छिमका छन्त्याल र काफलडाडाका मगर समुदायले पुुख्र्यौली नाच र हिलापोखरीका कलाकारहरुले नौमती बाजा प्रस्तुत गरेका थिए ।

Leave a Reply