शुक्रबार भएको बेमौसमी वर्षा र पोके रोगका कारण म्याग्दीमा पाक्नै लागेको धान बालीमा क्षति पुगेको छ ।

खेतका फाँटमा लहलह झुलिरहेका धानमा आज (शुक्रबार) भएको बेमौसमी वर्षाले क्षति पु¥याएको छ ।

असोज पहिलो साता धान पसाउने समयदेखि नै जिल्लाका विभिन्न ठाउँमा गरिएको धान खेतीमा पोके रोगको प्रकोप देखिएकोमा भित्राउने बेलाको धान बेमौसमी वर्षा र हावाहुरीले ढलाएपछि किसानहरु थप चिन्तित बनेका बेनी नगरपालिका २ का नारायण शर्माले बताउनुभयो ।

जिल्लाको बेनी नगरपालिका सहित रघुगंगा,मालिका,मंगला,अन्नपूर्ण र धवलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटहरुमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने र बोट हरियोमै सुक्दै जाने समस्या देखा परेकोमा त्यसमाथि आज भएको भीषण वर्षाले थप क्षति पु¥याएको कृषि प्राविधिकहरुले बताएका छन् ।

रैथाने धानको बीउ गौरिया,गुडुरा,ताकमारे,आँगा,जौधान लगाइएका ठाउँमा भन्दा आयातित विकासे विउ रोपिएको धानका फाँटमा रोग र किराको समस्या बढी देखिएको र वर्षा तथा हावाहुरीले पनि आयातित बिउ लगाइएको धान खेतीमा नै बढी क्षति पु¥याउने गरेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

धानबाली भित्र्याउने अन्तिम समयमा देखापरेको रोग र हावाहुरी सहितको वर्षाले यसवर्ष धान उत्पादन घट्न सक्ने बगरफाँटका कृषक जीतबहादुर कार्कीको भनाइ छ ।

रत्नेचौर,बगरफाँट,फापरखेत,सीम लगाएतका बढी धान उत्पादन हुने फाँटमा लगाइएको धानबालीमा समेत गबाँरो, राते र खैरे थोप्ले रोगको प्रकोप देखा परेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

गवारो र खैरे फड्के रोगको संक्रमणबाट धानबाली जोगाउन सम्बन्धित पालिकाका कृषि प्राविधिक र किसानसँग रोगको नियन्त्रण बारे समन्वय भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।बेमौसमी वर्षा र हावाहुरीका कारण जिल्लाको सयौं हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ।

वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकहरुको भनाइरहेको छ ।

पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पु¥याएको हो । जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनुका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ ।

जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायतका ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन् ।

थन्क्याउने बेलामा भएको बेमौसमी वर्षा सहितको हावाहुरी रोगका कारण धान बालीमा क्षति पुगेपछि धान उत्पादन घट्ने चिन्ता बढेको कृषक दण्डपाणी रेग्मीले बताउनुभयो ।

म्याग्दीमा गौरिया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । वार्षिक चार हजार मेट्रिक्टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा भिरालो जमिन र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।

म्याग्दीका किसानहरुमा पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति आकर्षण बढेको छ । हल गोरुको विकल्पमा मिनिट्रिलर हलो, ट्र्याक्टरको प्रयोग गर्न थालेका छन् । ठूला गह्रा भएका र फाँटका खेतमा बाँझो जोत्नेदेखि रोपाइँ गर्न ट्याक्टर र मिनिट्रिलर प्रयोग गरेका छन् । गोरुले एक दिनमा जोत्ने खेत ट्याक्टर र मिनिट्रिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने मंगला गाउँपालिका २ का कृषक शेरबहादुर विकले बताउनुभयो ।

Leave a Reply