बेनी–मालढुंगा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई तत्काल रोकिएको कामलाई तिब्रता दिन निर्देशन दिइएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किमिको सडक स्तरोन्नतिको काम छोडेर ठेकेदार भागेपछि म्याग्दीका प्रमुख जिल्ला अधिकारी ध्यानाकर्षण गराएपछि शुक्रबार आयोजित सर्वपक्षीय भेलामा अब काम नगरे कानुनी कारवाहीमा जाने चेतावनी दिइएको छ ।

प्रजिअ गुरुप्रसाद ढकालले सडकखण्डमा देखिएको ढिलासुस्ती, सरोकारवालाको दबाब तथा सर्वसाधारणले दैनिक भोग्नुपरेको सास्तीलाई अब ठेग्न सक्ने अवस्था नभएको भन्दै आयोजना प्रमुख धुब्रकुमार झा र एपेक्स–खड्का–कृष्ण जेभी कम्पनीका प्रतिनिधिलाई एकदुई दिनमै ठूलो संख्यामा मजदुर सहित काममा फर्किने वातावरण बनाउन निर्देशन दिनुभएको छ ।

प्रजिअ ढकालले सडक अलपत्र पर्दा पर्वत, म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटक, स्थानीयबासीले भोग्नुपरेको सास्तीलाई अब टुलुटुलु हेरेर नबस्ने बताउनुभयो ।नेकपा एमालेनिकट अनेरास्ववियुका केन्द्रिय सचिव प्रकाश पौडेलको नेतृत्वमा भएको जनदवावमुलक कार्यक्रम सञ्चालन भइरहेको छ ।

शुक्रबार ठेकेदार र आयोजना पक्षसँगको भेलामा बेनी नगरपालिकाका मेयर सुरत केसी, बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधि सहित सरोकारवाला निकायको उपस्थितीमा २०७७ सालमा ठेक्का सम्झौता भए पनि हालसम्म कुनै प्रगति नभएको भन्दै ‘कहिले अभियान’ले अब पनि काम नभए सरकारी सवारीसाधनलाई उक्त सडकमा रोग लगाएर आन्दोलन गर्ने चेतावी दिइएको थियो ।

सोही अवसरमा अब निर्माण कम्पनीलाई तिब्र गतिमा काम गर्न आवश्यक परेमा बेनी नगरपालिकाभित्र रहेको नदीजन्य पदार्थ उत्खनन गरी समेत प्रयोग गर्न दिने मेयर केसीको भनाई थियो भने जलजला गाउँपालिका पर्वतका प्रबक्ता हरिविकास जिसीले कालिगण्डकीबाट सडक निर्माण प्रयोजनका लागि जनसहभागितामा समेत निर्माण साम्रागी दिलाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएकोमा सम्झौता अवधि सकिएर पटकपटक म्याद थप गर्दा कामको प्रगति नदेखिएपछि अबको सम्झौता रद्द नै अन्तिम विकल्प भएको सर्वपक्षीय भेलामा सहभागीको एकमत थियो ।

कालोपत्रसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गर्नुपर्नेमा अहिले हिउँदमा धुलो र वर्षामा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य भएका छन् ।

Leave a Reply