कार्तिक १५ गतेबाट  महिला स्वास्थ्य स्वयंसेविकाले अबदेखि काममा आवतजावत गर्न निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक कार्यक्रमबीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासंघसँगबीच सम्झौता भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने सम्झौता गरे । सम्झौता कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेवीलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन यो पहलकदमी अघि बढाइएको बताए । उनले यातायातको सुविधा निःशुल्क रूपमा उपलब्ध गराउन सके मात्रै पनि धेरै समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे । उनले सम्झौताको पूर्ण कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे ।

उनले भने, ‘उहाँहरूलाई कसरी काम गर्ने वातावरण निर्माण गर्न सकिन्छ ? उहाँहरूको सम्पूर्ण सक्रियताअनुसार उपलब्धिहरू दिने स्थिति कसरी दिन सकिन्छ भनेर मन्त्रालयले छलफल गर्ने सन्दर्भमा हामीले उनहरूलाई यातायातको सुविधा निःशुल्क रूपमा उपलब्ध गराउन सकियो भने उहाँहरूलाई केही हदसम्म राहत हुनसक्छ भन्ने लागेर यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्षज्यू विजयबहादुर स्वाँरज्युलाई सम्पर्क गरेँ ।

उनले हाम्रो प्रस्तावमा सहयोग गर्ने कुरा गरे । हाम्रो बीचमा समझदारी भएको छ । स्वास्थ्य मन्त्रालयले समन्वय गरेको हो । सुविधा यहाँहरूले दिनुभएको । यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा कुनै कसर बाँकी राख्नुहुने छैन । हामीले गरेको समझदारीअनुसार यो पूर्ण रूपमा लागू हुनेछ । महिला स्वास्थ्य स्वयंसेवीलाई उनहरुको कार्यक्षेत्रमा निःशुल्क यातायातको प्रबन्ध गर्ने सम्झौता पूर्णरुपमा लागू हुनेछ ।’

कार्यक्रममा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायातमा स्वास्थ्य स्वयंसेवीहरूलाई निःशुल्क यातायात चढ्न दिँदा यातायात व्यवसायीहरूको शिर उँचो भएको बताए । उनले १२ खर्ब बढी लगानी भएको सार्वजनिक यातायातमा १५ लाख प्रत्यक्ष श्रमिकले रोजगार पाएको बताए ।

उनले भने, ‘यो कामले हाम्रो पनि शिर ठाडो हुने र समाजप्रतिको हाम्रो दायित्व पनि स्पष्ट हुने विश्वास छ । सार्वजनिक यातायात त सबै निजी क्षेत्रबाट नै सञ्चालन भएको छ । यसमा १२ खर्ब बढी लगानी भएको छ भने १५ लाख प्रत्यक्ष श्रमिकले रोजगार पाउनुभएको छ । निजी क्षेत्रबाट सम्पूर्ण सार्वजनिक यातायातलाई व्यवस्थित गर्न, मर्यादित गर्न हामीले दिने सेवाले पहिचान र हाम्रो पेसालाई राम्रो बनाउँछ ।’

कार्यक्रममा नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घकी अध्यक्ष वसन्ती महर्जनले नेपालभरका महिला स्वास्थ्य स्वयंसेविकाको लागि आफ्नो जिल्ला जिल्लामा निःशुल्क रूपमा यातायात चढ्न पाउने कुराको सम्झौता हुँदा खुसी लागेको बताइन् । उनले लामो समयपछि महिला स्वयंसेविकाहरूलाई बल्ल जग खनेर बसोबास शुरु भएको जस्तो महसुस भएको बताइन् ।

महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सार्वजनिक यातायातको सेवा कार्तिक १५ गतेबाट शुरु हुनेछ । सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने सरकारको विश्वास छ । यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने उल्लेख गरेको छ ।

Leave a Reply