म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको दरबाङ आधारभूत अस्पताल म्याग्दी जिल्लाका स्वास्थ्य संस्थाहरुमध्ये उत्कृष्ट बन्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । अस्पतालमा निर्माण भएका पूर्वाधार उत्कृष्ट सेवा प्रवाहका कारण यो अस्पतालले प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।

स्वास्थ्य कार्यालय म्याग्दीद्धारा आयोजित जिल्ला स्तरीय वार्षिक समीक्षाको अवसरमा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमतर्फ उत्कृष्ट कार्य सम्पादन गरी विभिन्न जनस्वास्थ्यका सूचकहरुको आधारमा प्रथम स्थान प्राप्त गर्न सफल भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएको मालिका गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

वडाअध्यक्ष रोकाका अनुसार स्पतालको सेवा प्रवाहलाई सहज बनाउन पूर्वाधार विस्तारमा प्राथमिकता दिइएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजन गरेको बजेटबाट तीनवटा भवन, भवन परिसरमा ब्लक बिछ्याउने र घेराबार गरिएको उहाँको भनाइरहेको छ ।

अस्पताल परिसरमा आँखा उपचार केन्द्र,आयुर्वेद उपचार र औषधी विक्री कक्ष (फार्मेसी) का लागि तीन कोठे भवन निर्माण गरिएको वडाअध्यक्ष रोकाले बताउनुभयो । “रु २४ लाख बजेट विनियोजन भएको योजनाका लागि उपभोक्ता समितिले यस वर्ष रु १४ लाख बराबरको काम गरे” उहाँले भन्नुभयो, “अस्पतालको पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्षमा पनि बजेट विनियोजन भएको छ ।”

गाउँपालिकाले अस्पताल सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु ३२ लाख अनुदान दिएको उहाँले जानकारी दिनुभयो । यसअघि प्राथमिक स्वास्थ्य केन्द्र हुँदा आकस्मिक र कार्यालय समयमा स्वास्थ्य परीक्षण सेवा दिँदै आएकामा अस्पतालमा रुपान्तरण भएपछि चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर सेवा दिन थालिएको छ ।

एकजना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा निक साइमन इन्स्च्यिुटले थप एकजना चिकित्सक, एकजना रेडियोग्राफर र एकजना स्टाफ नर्स जनशक्ति सहयोग गरेको छ । प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै फार्मेसी सञ्चालन गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर सञ्चालन गरिएको अस्पतालबाट मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् । सामान्य बिरामी हुँदा बेनी, बागलुङ, पोखरा, काठमाडौँलगायत सहरमा पुग्नुपर्ने बाध्यता हटेको दरवाङका समाजसेवी एवम् होटल व्यवसायी अमृत सापकोटाले बताउनुभयो ।

गत वर्ष मालिका गाउँपालिकाले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी पाँच शैया क्षमताको आधारभूत अस्पताल बनाए पछि पश्चिम म्याग्दीका जनता लाभान्वित भएका छन् । अस्पतालमा आवश्यक पूर्वाधार निर्माण भएपछि अस्पताल परिसर पनि चिटिक्क परेको छ ।

Leave a Reply