असोजको दोस्रो साता आएको भीषण वर्षा र बाढीका लागि तीव्र सहरीकरण र जलवायु परिवर्तन कारक रहेको वैज्ञानिक अध्ययनले देखाएको छ।
नेपाल, भारत, स्विडेन, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका र बेलायतका २० वैज्ञानिकले गरेका एक संयुक्त अध्ययनअन्तर्गत मानवजन्य गतिविधिका कारण सिर्जित जलवायु परिवर्तनले यो वर्षाको सम्भावना, प्रवृत्ति र तीव्रतालाई कति हदसम्म प्रभावित गर्यो भनेर समीक्षात्मक अध्ययन गरेका थिए। ‘वर्ल्ड वेदर एट्रिब्युसन’ नामक अन्तर्राष्ट्रिय संस्थाको अगुवाईमा यो अध्ययन भएको हो।
उपलब्ध विभिन्न क्लाइमेट मोडलहरुको आधारमा गरिएको सो अध्ययनका अनुसार औद्योगिक क्रान्तिअघिको तुलनामा पृथ्वीको सरदर तापक्रम १.३ डिग्रीले बढेको सन्दर्भमा यो क्षेत्रमा भीषण वर्षाजस्ता घटनाकाे तीव्रता १० प्रतिशतले बढेको र यस्ता घटना घट्न सक्ने सम्भावना ७० प्रतिशत रहेको देखिएको छ।
विश्वको सरदर तापमान दुई डिग्रीले बढ्दा यस्तो वर्षाको तीव्रता थप तीन प्रतिशतले बढ्ने वैज्ञानिक आँकलन छ। विश्वको सरदर तापपान बढ्दा यसले वर्षामा पार्ने प्रभावलाई आँकलन गर्न सकिने वैज्ञानिक तर्क छ।
मानवजन्य जलवायु परिवर्तनका कारण भएको यो भारी वर्षाको घटना परम्परागत भए–नभएको निर्क्याैल गर्ने क्रममा वैज्ञानिकले पहिलाभन्दा वर्षा १८ प्रतिशतले तीव्र बनेकाे र यसप्रकारको घटना घट्ने सम्भावना २ गुणाले बढेको आँकलन गरेका छन्। विभिन्न तथ्यांकअनुसार फरक–फरक संकेत गरे पनि सन् १९८० यता भू–उपग्रहमा आधारित तथ्यांकले यो प्रवृत्तिलाई मजबुत आधार दिएको पुष्टि हुन्छ।
सानो पहाडी क्षेत्र एवं वर्षा र जलवायुको जटिल आपसी सम्बन्धका कारण नेपालमा भारी वर्षा भएको वैज्ञानिकहरूको निष्कर्ष छ। तातो हावाले अत्यधिक जलवाष्प धारण गर्न सक्ने अवस्था र यही कारणले भीषण वर्षाको प्रमुख कारक रहने यथेष्ट वैज्ञानिक प्रमाण रहेको बताइन्छ।
अनुसन्धानकर्ता मञ्जित ढकालका अनुसार अन्तर्राष्ट्रिय मञ्च र विशेषगरी आसन्न संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप २९) जस्ता मञ्चमा जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालमा परेको विषयलाई उठाउन वर्षा मजबुत प्रमाण भएको बताए।
‘जलवायुजन्य हानी नोक्सानी कोष कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा यो अध्ययन नतिजामार्फत नेपालले कोषको सदुपयोग गर्न सक्नुपर्छ,’ उनले भने।
मध्यअसोजमा आएको भीषण वर्षाले काठमाडौं र आसपासका क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति गरेको थियो। नेपालका कुल ५८ जिल्ला वर्षाबाट प्रभावित थिए। यो विपत्मा परी दुई सय ४४ जनाको मृत्य भएको थियो भने अर्बौं रूपैयाँको आर्थिक नोक्सानी भएको थियो। वर्षाका कारण आएको पहिरोले काठमाडौं जोड्ने प्रमुख राजमार्गलगयात देशका अन्य सडकहरूसमेत अवरुद्ध बनेका थिए। जल तथा मौसम विज्ञान विभागका कैयन् वर्षामापन केन्द्रहरूले यो विगत ५४ सर्वाधिक वर्षा भएको देखाएका थिए।
अध्ययन नतिजामा काठमाडौं र ललितपुर भौगोलिक अवस्थितिका कारण बाढीको उच्च जोखिममा रहेको र दुवै महानगरपालिकामा प्राकृतिक ढलनिकासको सीमितता रहेको उल्लेख छ।
विशेषगरी सन् १९८९ देखि सन् २०२० सम्म उपत्यकाको सहरीकरणमा तीन सय ८६ प्रतिशतले बढेको, सन् १९८९ देखि २०१९ सम्म उपत्यकामा वनले ढाकेको क्षेत्रमा २८ प्रतिशतले कमी आएको र यसले प्राकृतिक जलप्रक्रिया बिथोलेको, ढलनिकासले यो थेक्न नसकेको र सतहमा पानीको बहाव बढेको अनुसन्धानकर्ताको ठहर छ। बाढीको जोखिममा रहेका स्थान र नदी किनारमा बस्ती निर्माणले जोखिम बढाएको पनि अध्ययनमा उल्लेख छ।
यसबाहेक मनसुन सिजनको अन्त्यमा माटो यथेष्ट रूपमा भिजेर संतृप्त हुने भएकाले यसले भारी वर्षाको प्रभावलाई झन् बढाएको तर्क अनुसन्धानकर्ताको छ।
परम्परागत रूपमा नेपालको तराई क्षेत्र बाढीको उच्च जोखिममा मानिँदै आएकामा यो वर्षाले काठमाडौं उपत्यकालगायतका सहरी केन्द्रहरूमा पनि विपत रोकथाममा पूर्व तयारी गर्नुपर्ने देखिएको अध्ययनमा उल्लेख छ। यसबाहेक काठमाडौं उपत्यकासहित मध्य र पूर्वी नेपालमा विपद् जोखिम न्यूनीकरण र अनुकूलनका नीति तथा कार्यक्रममा प्रभावकारी कार्यान्वयन र व्यापक जनचेतनाको विकाससहितका स्थानीय योजनाहरू कार्यान्वयन गर्ने अध्ययनको सुझाव छ।