म्याग्दी, बागलुङ र रुकुमको भूगोलमा समेटिएको ढोरपाटन क्षेत्र नेपालको एकमात्र शिकार आरक्षको कारण चर्चामा रहेपनि यहाँका अद्धभुत सम्पदा मानिएका उत्तरगंगा नदी र रुद्रताल भने ओझेलमा परेका छन् ।
ढोरपाटन क्षेत्रको बीच भागमा रहेको उत्तरगङ्गा नदी उत्तरतर्फ बगेको छ । पौराणिक मान्यता अनुसार उत्तरतर्फ हुँदै बग्ने नदीलाई उत्तरबाहिनी नदी भनिन्छ । उत्तरबाहिनी नदीलाई अत्यन्त पवित्र मान्ने गरिएको स्कन्दपुराण, बराहा पुराणलगायतका विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
नेपालमा दुईवटा मात्र उत्तरबाहिनी नदी रहेका छन् । एउटा ढोरपाटनको उत्तरगङ्गा र अर्को ललितपुरको कर्मनसा नदी । यी दुबै नदीहरु धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेका धर्मशास्त्रका ज्ञाता वैकुण्ठ सिग्देलले बताउनुभयो ।
उत्तरतर्फ भई बग्ने उत्तरगङ्गा नदीको मुहान यहाँस्थित ढोरबराह थान रहेको ढोरपाटन नगरपालिका वडा नं १ का वडाअध्यक्ष बानबहादुर छन्त्यालले जानकारी दिनुभयो । ढोरबराह मन्दिरसहित उत्तरगंगा धाम यहाँको अतिप्राचीन तीर्थस्थल भए पनि यसको प्रचारप्रसार हुन नसक्दा सधैँ ओझेलमा परेको उहाँको भनाइ छ ।
यसैगरी ढोरपाटनको दक्षिणपट्टिको डाँडामा रुद्रताल रहेको छ । उक्त तालबाट बगेको पानी गुल्मीको बेलिनमा आएर कालीगण्डकीमा मिसिने भएकाले उक्त ठाउँको नाम रुद्रवेणी भएको इतिहास छ । ढोरपाटनमा रहेको ढोरबाराही मन्दिरमा दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । उक्त क्षेत्रमा प्रत्यक वर्षको साउन शुक्ल पूर्णिणा (जनैपूर्णिमा) मा विशेष मेला लाग्ने गर्दछ ।
ढोरबराहा र बाइसधारा लगायतका धार्मिक र ऐतिहासिक सम्पदाको प्रचारप्रसार नहुँदा ती सम्पदा भने ओझेलमा परेका स्थानीय मनबहादुर छन्यालले बताउनुभयो । कलकल बगेको सङ्लो पानीसहितको स्वच्छ उत्तरगङ्गा नदी, ढोरबाराही र बाइसधारा ढोरपाटन शिकार आरक्षभन्दा कम महत्वका सम्पदा होइनन् । सिकार आरक्षको मात्रै एकतर्फी प्रचारप्रसारले यस्ता महत्वपूर्ण सम्पदा ओझेलमा परेका उहाँको भनाइ छ ।
उत्तरगङ्गाको उद्गमस्थल ढोरबराहमा भेडाको बलिसहित पूजाआजा गर्ने चलन छ । यहाँ गरिएको भाकल कहिल्यै झुठा नहुने जनविश्वासले म्याग्दी, बागलुङ, रुकुमलगायत नेपालका विभिन्न ठाउँबाट समेत यहाँ पूजाआजाका लागि मानिस आउने गरेका ढोरपाटन नगरपालिका-७ का वडाअध्यक्ष धनबहादुर अदैले जानकारी दिनुभयो । भेडाको बलिसहित ढोरबराहको पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।
हिमाली र पहाडी भूभागको सङ्गमस्थल भएका कारण प्राकृतिक दृष्टिकोणबाट ढोरपाटन क्षेत्र अत्यन्त मनमोहक छ । ढोरपाटन शिकार आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्गकिलोमिटर रहेको छ । यो आरक्ष विसं २०४० मा स्थापना भई २०४४ मा सरकारी मान्यता प्राप्त गरेको हो । यसको उत्तरी सीमामा पुथा, चुरेन र गुर्जा हिमाल छन् ।
ढोरपाटन शिकार आरक्षको पाटन क्षेत्रमा हरेको उत्तरगङ्गा नदीको शिरबिन्दुमा उत्तरगङ्गा धारा रहेका छन् । उक्त ठाउँमा २२ वटा बाह्रैमास पानी आउने धारा छन् । ती २२ धारामा नुहाएर नजिकैको ढोरबाराही मन्दिरमा पूजा गरेमा सबै मनोकांक्षा पूरा हुने जनविश्वास रहेको वडाध्यक्ष अदैले बताउनुभयो ।