हुलाक भन्दासाथ जनमानसमा चिठ्ठीपत्र ओसार–पसार गर्ने माध्यम बुझ्ने गर्दछन् । अनि हुलाकी भन्दासाथ कसैको चिठी बोकेर ल्याउने मानिस ठानिन्छ। गाउँघरमा मात्र हैन, सबैतिर हुलाक र चिठीपत्र एकअर्काका पर्याय बन्दै आएका छन्। पछिल्लो समय हुलाकको लोकप्रियता घट्दो भए पनि आममानिसले बुझ्नेचाहिँ अहिले पनि यही हो।

बि.स १९३५ मा नेपालमा हुलाकघरको स्थापना पछि एक ठाउँको खबर अर्को ठाउँमा पु–याउने भरपर्दो माध्यमको रुपमा रहेको हुलाकसेवाबाट आधुनिक प्रविधिको जमानामा चिठ्ठीपत्रकै काम गर्ने गरेकाले पनि नेपालीमा हुलाकको नाम सुन्दा वित्तिकै पूरानै सोच आउन नौलो पनि होइन् ।

तर अब भने हुलाक खबर र जानकारीसँग मात्र सीमित रहेन। यो आले मानिसलाई आवश्यक पर्ने सामानसमेत ओसारपसार गर्न थालेको छ। त्यो पनि घरदैलोसम्म । हुलाकले चिठ्ठीपत्र बाहेकको सेवा प्रदान गरिरहेको अवस्थामा पनि राम्रोसँग प्रचारप्रसार भने गर्न सकेको छैन ।

म्याग्दीको हुलाक कार्यालय कार्यालयका कर्मचारी यतिबेला चिठीपत्र मात्र बोक्दैनन्। उनीहरूका झोलामा गुन्द्रुक हुन सक्छ। मोबाइल हुन सक्छ। कपडा हुन सक्छ। अनि अन्य अत्यावश्यक सामग्री पनि हुन सक्छ। जुन पठाउनेबाट लिएर पाउनेसम्म ढुवानी÷पैठारी गरिदिन्छन्। हुलाकीको दैनिकी फेरिएको मात्रै छैन, सेवा लिने सेवाग्राही समेत मख्ख छन् ।

काम नहुने र फुर्सदमा समय विताउने हुलाक कार्यालयमा सरुवा हुनुलाई दण्ड÷सजाय दिइएको रूपमा बुझ्ने गरिएकोमा अहिले कर्मचारीलाई भ्याइनभ्याई छ । विगतमा सरकारी स्वामित्वको हुलाक कार्यालय सुक्दै जाने अर्कोतिर यसैको फाइदा उठाएर निजी स्तरबाट सञ्चालित कुरियर कम्पनीहरू भने फुक्दै गएका दृश्य सबैसामु छर्लंगै छ ।

‘एक पालिका ः एक हुलाक’ अवलम्बन गरेर म्याग्दी हुलाकले बेनी नगरपालिका बाहेक ५ स्थानीय तहको संरचना टुंगो लगाउने नेपालमै पहिलो कार्यालय भएको छ । यससँगै अहिले हुलाकले छिमेकी बागलुङ, उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका र पश्चिम म्याग्दीको ताकमसम्म सवारीसाधनकै प्रयोग गरी सेवा दिने गरेको छ ।

हाल म्याग्दीमा अतिरिक्त हुलाक २९ वटा छन् भने हुलाकी १ र हल्कारा २६ जनाले चिठीपत्र बाहेक पनि अन्य सामान घरदैलोमा लगेर हुलाकको परिचय फेरिदिएका छन् । सेवाविस्तारसँगै गत बर्ष म्याग्दीबाट चिठीपत्र सहित पार्सल गरी २५ हजार सेवाग्राहीले सेवा लिएकोमा यसबर्ष दोब्बर हुने अनुमान गरिएको छ ।

हुलाकलाई पुनर्जीवन दिने ‘सञ्जीवनी बुटी’ पनि हो यो। समयअनुसार चल्ने र नयाँ सोच सिर्जना गर्न सक्ने हो भने कोही पनि अल्पायुमै मर्नुपर्दैन भन्ने प्रमाण पनि हो। अहिलेको जमानामा आफ्ना लागि आफैँले सोच्नुपर्छ। सधैँ अर्काले सोचिदिएर र पालिदिएर मात्र सधैँ टिक्न सकिन्न। यो वास्तविकतालाई मनन गर्ने हो भने मुलुकभरका हुलाक कार्यालयले यस्तै यस्तै नवप्रवर्तनका काम नगरी सुखै छैन।

म्याग्दी हुलाक कार्यालयको आफू पनि जीवित रहने र सेवाग्राहीलाई पनि सन्तुष्ट पार्न सकिने यो गतिविधि साँच्चै समयसान्दर्भिक छ। त्यसैले अब हु्लाकले सर्वसाधारणको दैनिकजिवनमा आवश्यक पर्ने सम्पूर्ण सामानहरू जुन राज्यले गैरकानुनी घोषित गरेको छैन सबै सामानहरूको ढुवानीको माध्यम बन्नुपर्छ । हुलाकको सेवा विस्तारलाई आधुनिक प्रविधिसँग प्रतिस्पर्धा गर्ने लायकको बनाउनुपर्छ । अहिलेको सेवा विस्तारलाई सुरुवात मात्रै मान्न सकिन्छ ।

बेनी साप्ताहिक पत्रिकाबाट साभार

Leave a Reply