---Advertisement---

पाक्न लागेको धान असिना पानीले सखाप : क्षतिको विवरण संकलन गर्दै जनप्रतिनिधि

On: October 23, 2024 6:30 PM
Follow Us:

आइतबार साँझ एकाएक परेको असिना सहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धान खेतीमा असर परेको छ । कतिपय ठाउँ फूल खेल्दै गरेको, कतिपय ठाउँमा पाक्न लागेको त कतिपय ठाउँमा काटेर खेतमा नै सुकाएको धानमा असिना र पानीले क्षति गरेको कृषकहरूले बताएका छन् ।

असिना पानीले धान बालीमा क्षति पु¥याए पछि कृषि प्राविधिक सहित जनप्रतिनिधिको टोली क्षतिको विवरण संकलन गर्न किसानका खेतखेतमा पुगेका छन् ।असिना पानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटमा पु¥याएको बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

“अहिले हामी क्षतिको विवरण संकलन गर्न किसानका खेतखेतमा पुगेका छौं,अधिकांश ठाउमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ ।  किसानहरु अहिले दाना झरेर बाँकी रहेको पराल काटीरहेका छन् । केही दिनभित्र क्षतिको पुरै विवरण संकलन हुन्छ” वडाअध्यक्ष कार्कीले भन्नुभयो ।

असिना पानीले जिल्लाको बेनी नगरपालिका २ ज्यामरुककोटको सानालेख,गौश्वारा, तमाने, फापरखेत,खबरा,बगरफाँट,वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १को अर्जम,रत्नेचौर लगाएतका ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानबालीमा क्षति पु¥याएपछि किसानहरु चिन्तित बनेका बेनी नगरपालिका वडा नं २ का वडासदस्य समेत रहनुभएका चन्द्रकान्त रिजालले बताउनुभयो ।

उहाँका अनुसार असिनाले खेतमा रहेको धानको ८० प्रतिशत दाना झारेर नष्ट गरेको छ ।रिजालका अनुसार असिना सहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ । त्यसैगरी नकाटेको धानका बोट ढालेको छ । दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान सन्तबहादुर नेपालीले बताउनुभयो ।

भित्र्याउने समयमा पानीले क्षति पु¥याइदिए पछि किसानहरु रुनु न हाँस्नुको अवस्थामा पुगेको बेनी नगरपालिका–२ सानालेखका नारायण शर्माले बताउनुभयो ।

“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”,उहाँले भन्नुभयो “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?”

जिल्लाको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायतका ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् ।

विगतमा पनि यही समयमा असिना र वर्षाका कारण क्षति बेहोर्दै आएका कृषकहरूले यस वर्ष पनि यही बेलामा क्षति भोग्न बाध्य भएका हुन् । विगतका वर्षको तुलनामा यस वर्ष अधिकांश ठाउँमा धान खेती निकै सप्रिएको र उत्पादन बढ्ने अनुमान गरिएकोमा उच्च क्षेत्रमा भने असिना सहितको वर्षाले असर गरेको हो ।

“असिना र वर्षाले धान नै झारेको छ । चर्को हावाले ठाडो धान नै खेतैमा सुताएको छ” बेनी नगरपालिका २ का कृषक मोहन कार्कीले भन्नुभयो “पाक्ने बेलाको धानमा असिना परेपछि खेतमै झरेको छ ।”

कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका स्थानीय तहहरूले क्षतिका विवरणहरू सङ्कलन गर्ने काम गरिरहेकोले एकीकृत तथ्याङ्क कार्यालयमा नआइपुगेको बताउनुभयो ।

कृषकहरूले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकोले ज्ञान केन्द्रमा क्षतिका विवरण नआएको भन्दै उहाँले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेका खबरहरू भने देखिरहेको जानकारी दिनुभयो ।

कतिपय जातका धानहरू अब भित्र्याउनको लागि पाकेर तयार हुनै लागेकोले असिना र वर्षाले धान बोटबाटै झरेर खेतभर हुँदा उत्पादनमा ह्रास आउन सक्ने प्रमुख वास्तोलाले बताउनुभयो ।