नेपालको पछिल्लो कानुनले २० वर्ष भन्दा कम उमेरमा` विवाह गर्ने भन्ने कल्पना पनि गरेको छैन । मुलुकी अपराध संहिता–२०७४ मा २० वर्ष भन्दा कम उमेरमा गरेको विवाह स्वत वदर हुने उल्लेख छ तर  म्याग्दी जिल्ला भित्र गत आर्थिक वर्षमा मात्रै एक सय ३२ जना २० वर्ष भन्दा कम उमेरका युवतीहरु आमा भएका छन् ।

मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ११ को विवाह सम्बन्धी कसुरको अन्तरगतको दफा १७३ मा ‘बाल विवाह गर्न नहुने’ भन्ने व्यवस्था उल्लेख छ । दफा १७३ को उपदफा दफा १ मा ‘विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन’ भन्ने उल्लेख छ । उपदफा २ मा ‘उपदफा (१) विपरित भएको विवाह स्वतः बदर हुनेछ भनिएको छ भने उपदफा ३ मा उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिबाना हुनेछ भन्ने उल्लखे छ ।

मुलुकी अपराध संहितामा २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नै नहुने व्यवस्था भएको भएतापनि म्याग्दी जिल्ला भित्र सुत्केरी हुने २० वर्ष भन्दा कम उमेरका युवतिहरुको संख्या नै एक सय ३२ जना रहेको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो ।

कानुनले विवाह गर्नका लागि तोकेको उमेर भन्दा कम उमेरमै आमा भै सकेको अवस्था हेर्दा विवाहको उमेर झन अगाडी नै भएको देखिन्छ । कानुनले वर्जित गरेको २० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने क्रम जिल्ला भित्र सुत्केरी भएका महिलाहरुको अवस्थाले नरोकिएको देखाउँछ ।जिल्लामा रहेका छ वटै स्थानीय तहमानै २० वर्ष भन्दा कम उमेरका आमा भएको तथ्याङ्कले देखाउने सूचना अधिकारी सुवेदीको भनाई छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ को तथ्याङ्क अनुसार जिल्लामा एक सय ३२ जना महिलाले २० वर्ष भन्दा कम उमेरमा नै बच्चा जन्माएका छन् । २० वर्ष मुनीको उमेरमा विवाह भएको भन्दै उजुरी दिने वा कानुनी व्यवस्थाका बारेमा चासोका साथ कुराकानी हुने गरेको देखिएको छैन ।

अवस्था हेर्दा २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेहरू नरहेको जस्तो देखिएको भए पनि एक सय ३२ जना किशोरीहरूले २० वर्ष मुनी नै सुत्केरी हुनुले जिल्लामा कानुनको पालना भएनभएको वारेमा पनि सोच्न पर्ने देखिएको छ ।

जिल्लामा एक सय ३२ जना २० वर्ष मुनिका र पाँच सय ९७ जना २० वर्ष माथिका महिलाहरु सुत्केरी भएका छन् । यो संख्या रोक्नका लागि तत्काल नसकिने देखिएपनि परिवार नियोजनको साधनको प्रयोग बढाएको खण्डमा भने किसोरी आमाको संख्या घटाउन सकिने ठकुराठीको भनाई छ ।

त्यस्तै आर्थिक वर्ष २०७९÷०८० मा एक हजार एक सय ९३ जना २० वर्ष माथिका महिला सुत्केरी हुँदा एक सय ८८ जना २० वर्ष मुनिका युवतीहरु सुत्केरी भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आार्थिक वर्षमा समग्र सुत्केरी हुनेको संख्या नै कम भएकाले २० वर्ष मुनिका सुत्केरीहुनेको संख्या घटेको देखिए पनि यो समस्या समाधान हुन निकै समय लाग्ने जिल्ला समन्वय समितिकी उपप्रमुख डिलकुमारी खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘२० वर्ष भन्दा कम उमेरमा विवाह गर्न हुँदैन भनेर जतनचेताना जगाउने र अभियान नै बनाएर सबै स्थानीय तह तथा जनप्रतिनिधि र सबै तहतप्काका नागरिकले नै प्रयास नगरे सम्म यो हट्न सक्दैन ।’

किसोरी आमाको संख्या न्यूनिकरण गर्नका लागि बालबिबाह नै रोक्नु पर्ने र त्यसका लागि समुदाय र विद्यालयमा गएर जनचेतना मुलक कार्यक्रम गर्न आवश्यक रहेको जिसस उपप्रमुख खत्रीको भनाई छ । उहाँले भन्नुभयो–‘अधिकारका कुराहरुले पनि केही सहज र असहज बनाएको हुन्छ, बालविवाह शुन्य बनाउनु पर्ने र भै हालेको अवस्था हरेछ भने पनि स्थानीय तबरटै त्यसलाई रोक्न पर्ने हुन्छ ।’

Leave a Reply