बेनी नगरपालिका–७,हुलाकचोकदेखि संगमचोकसम्मको कालोपत्रे सडक मर्मतसम्भार गर्दा नजिकै रहेको खाल्डाखुल्डीमा सम्बन्धित निकायको ध्यान पुग्न सकेन ।

सडक बोर्ड र बेनी नगरपालिकाको साझेदारीमा हुलाकचोक–संगमचोक सम्मको १३० मिटर सडक मर्मत सकिदाँ हुलाकचोकमै रहेको खाल्डाखुल्डी पुर्नेतर्फ ध्यान नपुगेपछि त्यसै छोडिएको छ ।

बेनी–पुलाचौर र बजारभित्र कालोपत्रे उप्किएपछि मर्मतका लागि प्राविधिकहरुले योजनाको लागत स्टिमेटभित्र नपर्ने बताएपछि मर्मत नभएको स्थानीयबासीले बताएका छन् ।

‘नजिकैको खाल्डाखुल्डी पुर्न अनुरोध गरेका थियौं, स्टिमेटभित्र नपर्ने भन्दै काम भएन’ हुलाकचोकका स्थानीय भोजबहादुर रिजालले भने ।

ग्रामिण क्षेत्रमा कालोपत्रे र ढलान सडकलाई प्राथमिकता दिइरहेको बेनी नगरपालिकाले बजारभित्र कालोपत्रेको आयु सकिएको अवस्थामा मर्मतका लागि न्यून बजेट विनियोजन गरेको नगरपालिकाका इन्जिनियर दिपेश केसीले बताए ।

‘हामीले ठेकेदारलाई भनिसकेका छौ, सबै सडकमा एकैपटक कालोपत्र्रे मर्मतको बजेट पनि छैन, खाल्डाखुल्डी सामान्य भएकाले ध्यान दिनुपर्छ’ इन्जिनियर केसीले भने । उनले जिसस अगाडी र केही अन्य ठाउँमा पनि मर्मतको काम बाँकी रहेकाले ठेकेदारलाई तत्काल जानकारी गराउने बताए ।

उनले खाल्डाखुल्डी रहेको स्थानमा थप बजेट नभएपनि पुर्न खर्च नलाग्ने बताए । मर्मतका लागि एसएस बिल्र्डसले जिम्मा लिएको छ दुर्घटना न्यूनीकरण गर्न समेत खाल्डाखुल्डीले भूमिका खेल्ने भएकाले पुर्नुपर्ने जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

‘‘कतिपय स्थानमा सडकमा परेको खाल्डोका कारण दुर्घटना हुने गरेको छ,’’ एक ट्राफिक प्रहरीले भने । बेनीबजारका चोक तथा गल्लीका सडकमा खाल्डाखुल्डीका कारण दुर्घटना बढेको, यात्रु र साना सवारीसाधनले सास्ती बेहोर्नुपरेको छ ।

Leave a Reply