फ्रान्सेली नागरिक छोरा माथिएस हर्जाेगले पहिलोपटक आफ्ना बुबा मौरिस हर्जोगले आरोहण गरेको अन्नपूर्ण प्रथमको पदयात्राका लागि नारच्याङ आइपुगेका छन् ।

म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर) को नारच्याङ हुदै आधार शिविरसम्म पुगेर मौरिस हर्जोगले हिमाल आरोहणको क्रममा यात्रा गरेको क्षेत्रको अवलोकन गर्ने अभियान्ता तेज गुरुङले बेनीअनलाइनलाई बताए । ‘उहाँ नारच्याङ आउनुभएको छ, भोली हामी आधारशिविर तर्फ जान्छौ, उहाँलाई हामीले थाहा पाएका सबै सुनाउँछौ’ गुरुङले भने ।

सडक सञ्जाल र पैदलयात्रकाको क्रममा मुस्ताङतर्फबाट आउने पुरानो पदमार्ग सहित बसेका स्थान र आरोहण गरी फर्किएका सबै जानकारी लिन हर्जोगका छोरा माथिएस निकै इच्छुक देखिएका छन् ।

सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको हर्जाेगले सफल आरोहण नै पहिलो पटक मानव पाइला परेसँगै नेपालमा पर्वतीय पर्यटनको व्यवसायिक सुरुवात भएको थियो ।

हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण समेत गरेको छ भने सालिक समेत राखिएको छ ।

अन्नपूर्ण हिमालमा मानव पाइला पुगेको ३ वर्षपछि मात्रै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको थियो। यसबर्ष माथिएस हर्जाेग ‘अन्नपूर्ण डे’मा सहभागि हुन पोखरा आएका थिए । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये दशौं स्थान (८०९१ मिटर) मा पर्ने अन्नपूर्ण प्रथमसम्मको पदमार्ग अहिले म्याग्दीको प्रमुख गन्तब्य बन्दै छ ।

बुबा पुगेको चुचुरोमा जान नसकेपछि फेँदीसम्म जाने योजनालाई सफल बनाउन अन्नपूर्ण गाउँपालिकाले भरपुर साथ दिने जनाएको छ । गाउँपालिकाले यो भ्रमणलाई थप उपलब्धीका रुपमा लिएको छ । माथिएस यसअघि ३० वर्ष अघि नेपाल आएका थिए। दशैंतिहारको विदामा अहिले म्याग्दीमा भित्रिने स्वदेशी पर्यटकको सबैभन्दा उत्कृष्ट गन्तब्य अन्नपूर्ण हिमाल रहेको छ ।

Leave a Reply