दसैं अघिसम्म सुनसान देखिने पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुममा अहिले निकै चहलपहल छ । विगत सात दिनदेखि संचालन भएको र मंगलबार बडादसैं मेलामा छिमेकी गाउँका मानिसहरुदेखि लिएर गाउँ छोडेर नेपालका विभिन्न ठाउँमा गएका व्यक्तिहरु समेत आएका छन् ।

रुम गाउँमा विगत पाँच वर्षयता बसाइँसराइ गरेर अन्यत्र जानेहरुको संख्या बढ्दै गएपछि गाउँको महत्वलाई बुझाउन र अपनत्व भाव जगाउन स्थानीय युवाहरुको सक्रियतामा राष्ट्रिय कलाकारहरुलाई बोलाइ हरेक वर्ष वडादसैंको अवसरमा मेला आयोजना गरिदै आएको छ । यस वर्ष पनि स्थानीय लालीगुराँस युवा क्लवले बढ्दो बसाइँसराइलाई रोक्न र गाउँ छोडेर अन्यत्र गएकाहरुलाई गाउँमा नै बोलाइ गाउँप्रतिको अपनत्व जागृत गराउन मेला आयोजना गरेको हो ।

“गाउँ छोडेर बसाइँसराइ गर्नेहरुको संख्या बढ्न थालेपछि सुन्दर गाउँ उजाड बन्दै गएको छ” स्थानीय युवा योगेन्द्र हर्मेलले भन्नुभयो “गाउँमा रहेका हामी युवा साथीहरुले सल्लाहा गरी विगत तीन वर्षदेखि दसैंको लगत्तै बडादसैं मेला आयोजना गरेर गाउँ बाहिर रहेका रुमेलीहरुलाई गाउँमा बोलाउँछौं । गाउँको सम्भावना र महत्व बुझाउँछौं । राष्ट्रिय र स्थानीय कलाकारहरु मार्फत मनोरञ्जन गराउँछौँ । विभिन्न किसिमका खेलकुदको आयोजना गर्छौँ, गाउँ छोडेर जान लागेकाहरुलाई सकभर गाउँमै रोक्ने वातावरण बनाउँछौं ।”

मालिका गाउँपालिको केन्द्र दरबाङदेखि दक्षिण भागमा पर्ने रुम गाउँ जैविक,प्राकृतिक र खानीजन्य उत्पादनले सम्पन्न गाउँ हो । कुल २०.७४ वर्ग कि.मी मा फैलियको यस गाउँमा जम्मा तीनहजार,छ सय २६जनसंख्या रहेको छ । जसमध्य एकहजार,आठसय ४१ महिला र एकहजार,सातसय ८५ पुरुष रहेका छन् । यो वडा बागलुङ्ग जिल्ला संग जोडिएको छ । रुममा धान,मकै, कोदो, गहुँ जौँ, फापर आदि बाली हुने गर्दछ । चैत्र महिनामा रुममा रहेको दुरलेक डाँडाको दृृश्य निकै नै रमणिय हुन्छ ।

विगत पाँच वर्षमा रुम गाउँबाट ४८ घर परिवार बसाइँसराइ गरेर अन्यत्र गइसकेका मालिका गाउँपालिका वडा नं २ रुमका वडा सदस्य समेत रहनुभएका भक्तबहादुर पुनले बताउनुभयो ।

“पछिल्लो समय गाउँ छोडेर काठमाण्डौं,पोखरा,चितवन,बेनी,दरबाङ लगाएतका ठाउँमा बसाइँ सराइ गर्नेहरु बढेका छन् । बढ्दो बसाइँसराइलाई रोक्न र गाउँ छोडेर अन्यत्र गएकाहरुलाई केही समय गाउँमा नै फर्काएर गाउँप्रति अपनत्व विस्तार गर्न यस्ता मेला पर्वहरु सहयोगी भएका छन् ।”

लालीगुराँस युवा क्लवका अध्यक्ष सागर पटेलले मेला आयोजना गर्नुको मुख्य उद्धेश्य गाउँमा बढ्दै गएको बसाइँसराइ रोक्न नै रहेको बताउनुभयो ।“गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका बृद्धबृद्धाहरुको संख्या एकसय ३५ रहेको छ । अधिकांश महिला र विद्यालय उमेरका बालबालिकाहरु छन् । युवाहरुको संख्या अत्यन्तै न्यून रहेको छ । यस्तो अवस्थामा मेलापर्वहरु आयोजना गरेर केही समय भएपनि गाउँको रौनक बढाउने काम गरेका हौं” उहाँले भन्नुभयो ।

२०७८ सालमा गरिएको जनगणना अनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार ८ सय ३० रहेकोमा कुल जनसंख्या १ लाख ७ हजार ३३ रहेको छ । २०६८ सालको जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार ७ सय ६२ रहेकोमा त्यतिबेला कुल जनसंख्या १ लाख १३ हजार ६ सय ४१ रहेको थियो । ०७८ सालको जनगणनाअनुसार परिवार संख्या बढेको भए पनि जनसंख्या भने घटेको छ ।

पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको जनसंख्या ५२ हजार १ सय ५३ रहेको छ भने महिलाको ५४ हजार ८ सय ८० रहेको छ । यसैगरी परिवारको औषत आकार ३ दशमलव ७१ प्रतिशत रहेको छ भने लैङ्गिक अनुपात प्रति सयजना महिलामा पुरुषको संख्या ९५ दशमलव ०३ प्रतिशत रहेको छ । त्यस्तै जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेकोमा माइनस शुन्य दशमलव ५७ प्रतिशत रहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ ।

जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्यातर्फ कुल परिवार संख्यामध्ये ८ हजार ३ सय २० रहेकोमा जनसंख्यामा भने १० हजार ७ सय ६६ जना रहेको तथ्याङ्कले देखाएको छ । यसमध्ये पुरुष ८ हजार ९ सय ६१ जना र महिला १८ सय ५ जना रहेकोमा कुल जनसंख्याको शुन्य दशमलव ४९ प्रतिशत विदेशमा रहेको तथ्याङ्क छ ।

 

Leave a Reply