बेनी (भद्रिबम) शिवालय मन्दिरको अध्यक्षमा दलप्रसाद श्रेष्ठ

म्याग्दीको सदरमुकाम बेनीमा रहेको चार सय वर्ष पुरानो ऐतिहासिक बेनी (भद्रिबम) शिवालय मन्दिरको नबौं साधारणसभा तथा चौथो अधिवेशनबाट दलप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार मन्दिरको सभाहलमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा सुन्दर केसी, सचिव पूर्णबहादुर जिसी, कोषाध्यक्ष भावना पौडेल, सह–सचिव अर्जुन पौडेल, सह–कोषाध्यक्ष गोपाल भट्टचन रहेका छन ।

कार्यसमितिको सदस्यहरूमा हरिमायाँ श्रेष्ठ, डम्बर श्रेष्ठ, हरिकला श्रेष्ठ, सिता भण्डारी, भिमकुमारी भण्डारी बालकुमार महत, शिव भट्टचन र साधना जिसी रहेको निर्वतमान अध्यक्ष बिक्रम श्रेष्ठले जानकारी दिए । मन्दिरको अध्यक्षमा निर्वाचित श्रेष्ठको नेतृत्वमा बिरेन्द्रचोक टोल विकास संस्था बेनी नगरपालिकाकै नमुना घोषित भएको थियो ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गदैं गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले बाइसे चौबिसे राज्यका पालामा निर्मित मन्दिरले प्राचिन धार्मिक सभ्यता झल्काउने भएकाले यसको संरक्षणमा आवश्यक सहयोग गर्ने बताइन् ।

उनले आफ्नो पहलमा मन्दिरको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरी धार्मिक पर्यटकीयस्थल बनाउन सघाउने प्रतिबद्धता जनाइन् । वि.सं. १७५० मा निर्माण गरिएको यो शिवालयमा बटवृक्ष (वरको रुख) छ ।

शिवालय अहिले धार्मिक पर्यटकको मुख्य आकर्षणको केन्द्रसमेत बनेको छ । तत्कालीन ज्यामरुककोटे राजा मलेबम मल्लले भाइ भद्रिबम मल्लको हत्या गरेपछि पापबाट मुक्ती पाउन चार सय वर्षभन्दा पहिले मन्दिर स्थापना गरेको किम्बदन्ती छ । मन्दिर परिसरमा १०८ शिवलिङ्ग स्थापना र यज्ञ मण्डप निर्माण गरिएको छ । भद्रीबम शिवालय तत्कालीन पर्वत राज्यको इतिहासको साक्षी बनेर रहेको छ।