कानुन अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । तर जिल्लामा भने उमेर नपुग्दै विवाह गर्ने मात्र होइन सानै उमेरमा आमा बन्ने र गर्भपतन गर्न बाध्य हुने किशोरीको संख्या उल्लेख्य रहेको पाइएको छ ।
बेनी जिल्ला अस्पतालको पछिल्लो २ वर्षको अभिलेखमा गर्भ जाँच गराउने, गर्भपतन गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने २० वर्षमुनीका किशोरीको संख्या उल्लेख्य रहेको छ । स्वास्थ्य संस्थामा पुगी स्वास्थ्यकर्मीबाट अस्थायी साधन प्रयोग गर्ने किशोरीको संख्या पनि उस्तै छ ।
जिल्ला स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) का अनुसार आर्थिक वर्ष २०७६/७७ मा बेनी अस्पतालमा २० वर्षमुनिका १ सय ४९ किशोरी सुत्केरी भएका थिए । सोही आवमा ३२ किशोरीले बेनी अस्पतालमै औषधि सेवन गरी गर्भपतन गराएकोमा ८ किशोरीको शल्यक्रिया गरी गर्भपतन गराउनुपरेको थियो । त्यसैगरी आव २०७७/७८ मा २० वर्षमुनिका १ सय २४ किशोरीले बेनी अस्पतालमा गर्भ परीक्षण गराएकामा ९७ ले मात्र सुत्केरी सेवा लिएर आमा बने ।
सोही अवधिमा ११ किशोरीले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतन गराएका मध्ये ७ किशोरीको शल्यक्रिया गरिएको थियो । बालविवाह न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारीस्तरबाट धेरै कार्यक्रम, बजेट र मानवस्रोत खर्च भइरहे पनि प्रभावकारी भने बन्न नसकेको यी घटनाले पुष्टि गर्छ । जिल्लामा बालविवाह नरोकिनुमा चेतनास्तरलाई मात्र हेरिएको छैन । मेलाजात्रा लगाउने सामाजिक परम्परा, गरिबी, इन्टरनेनमा बढ्दो कुलत र गलत संगतलाई जिम्मेवार मानिएको छ ।
‘बालविवाह रोक्न अनेक कार्यक्रम चलाइएको भए पनि बालविवाह, किशोरावस्थामै गर्भपतन गराउन र आमा बन्न बाध्य किशोरीको संख्या उल्लेख्ख रहेको तथ्यांकले देखाएको छ,’ बेनी अस्पतालका मेडिकल रेकर्डर तथा मातृ तथा नवशिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपीडीएसआर) का फोकल पर्सन प्रकाश शर्माले भने, ‘चेतनास्तर भन्दा यहाँको सामाजिक संस्कार र मनोरञ्जनमा बढी रमाउने र बढ्दो खुलापनको दुरुपयोग बढेको देखिन्छ ।’
जिल्लामा कलिलै उमेरमा विवाह गर्ने जोडीमध्ये धेरैको छोटो समयमै सम्बन्धविच्छेद पनि हुने गरेको छ । जिल्ला अदालतको अभिलेखमा सम्बन्धविच्छेद गर्नेमध्ये ५० प्रतिशत सम्बन्धविच्छेद मुद्दा १६–२७ वर्ष उमेर समूहका युवती बढी छन् । १४ वर्षमा विवाह गरी १६ वर्षमा बच्चाको नाता कायम गराउने र सम्बन्धविच्छेद रोज्ने पनि छन् ।
समाजशास्त्रीका अनुसार गावैपिच्छे १०–१२ दिनसम्म लाग्ने मेला जात्रामा किशोर उमेरमै ‘रमाइलो’ गर्ने प्रचलनले बालविवाह संरक्षित गर्नुका साथै यौन स्वच्छन्दता बढ्दा सामाजिक सम्बन्ध भत्केका हुन ।
‘किशोरी गर्भपतन गर्ने, कलिलै उमेरमा आमाबन्ने र सम्बन्धविच्छेद गर्ने क्रम बढ्दो छ,’ म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख, समाजशास्त्रका सह–प्राध्यापक गोरखबहादुर जिसीले भने, ‘मोबाइल फोन र फेसबुकसमेतका सामाजिक सञ्जालको प्रयोगले यौनजीवनमा मात्र नभई जन्म, विवाह, मृत्यु संस्कारदेखि मेलाजात्रा र परम्परागत सामाजिक मूल्य मान्यतासमेत भत्काएको छ ।’
स्वास्थ्य संस्था, अदालत र नागरिकता बनाउन किशोरी आमाको संख्या भए पनि बालविवाहलाई नियमन गर्ने स्थानीय तहका महिला बालबालिका शाखा र प्रहरीमा भने बालविवाहका घटना जानकारी हुँदैन । जिल्ला प्रहरीमा पछिल्ला दुई आर्थिक वर्षमा एक–एकवटा मात्र बालविवाहका मुद्दा दर्ता भएका थिए । ‘समाजमा बालविवाहका घटना व्यापक भए पनि प्रहरीमा बालविवाहका मुद्दा भने ज्यादै न्यून परेका छन्,’ जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामकुमार राईले भने, ‘समाजले नै बालविवाहलाई निरुत्साहित गर्न तयार नभएसम्म नियन्त्रण नहुने रहेछ ।’ ekantipur.com