म्याग्दीमा एक वर्षको अवधिमा करिब ४० किलोमिटर पक्की सडक निर्माण भएको छ ।पूर्वाधार कार्यालयले आफू मातहतका विभिन्न सडक योजनाअन्तर्गत जिल्लामा आर्थिक वर्ष २०८०–८१ मा ३९किलोमिटर चारसय ७० मिटर सडक कालोपत्रे र ढलान गरेको हो ।
बेनी नगरपालिकाले गत आव २०८०/८१ मा पाँच दशमलव ४७ किमी सडक कालोपत्र/ढलान, तीन दशमलव ६२ किमी ग्राबेल र १९ दशमलव ७८ किमी सडकमा सोलिङ, नाली, टेवा पर्खाल निर्माण गरी स्तरोन्नति गरेको बेनी नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिनुभयो ।
त्यसैगरी मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले तीनवटा आयोजनामार्फत सात सय छ मिटर प्रिमिक्स कालोपत्र, पाँच सय ६९ मिटर ढलान र तीन सय मिटर ग्राभेल सडक निर्माण गरिएको बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकामा तीन दशमलव ८८७ किमी सडकको नयाँ मार्ग निर्माण गरिएको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कडेंलले दुईसय ७० मिटर ढलान, एक हजार ६४० दशमलव ७ मिटर सोलिङ र पाँच सय ८८ मिटर नाली निर्माण भएको जानकारी दिनुभयो ।
२०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा अहिलेसम्म ८७ किलोमिटर सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका सूचना अधिकारी इन्जिनियर अर्जुन शर्माले जानकारी दिनुभयो । पक्की सडक निर्माणका लागि तीनवटै तहका सरकारको लगानी रहेको छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार संघीय सरकारको स्थानीय पूर्वाधार आयोजनाले १० किलोमिटर दुईसय मिटर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले आठ किलोमिटर, पूर्वाधार विकास कार्यालयले १२ किलोमिटर र स्थानीय तहहरूले नौ किलोमिटर दुईसय ४५ मिटर पक्की सडक निर्माण गरेका हुन् ।
दुरदराजमा रहेका ग्रामीण सडकहरू समेत धमाधम कालोपत्रे र ढलान हुन थालेपछि स्थानीय वासिन्दा हर्षित भएका छन् । धुलो र हिलोबाट मुक्ति मिलेको, यात्रा अवधि छोटिएको, सुरक्षित र सहज भएको बेनी–दरबाङ सडकका सवारी चालक तोपबहादुर विकले बताउनुभयो ।
ग्रामीण सडक पक्की बनेपछि कृषि उपजको निकासी, खाद्यान्न, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको भाडादर घटाउन, दुर्घटना न्यूनीकरण, प्रत्यक्ष रोजगारी सिर्जना, बसाई सराई घटाउँदै सहरबाट गाउँ फर्काउन, आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि सडक आयोजनाहरू प्रभावकारी बनेका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । ६ वटा स्थानीय तहका ४५ मध्य धवलागिरी गाउँपालिका–१ गुर्जा बाहेकका वडामा सडक पुगेको छ ।
बेनी–भकिम्ली सडक स्तरोन्नति
२०६५ सालमा ट्याक खुलेको म्याग्दीको बेनी–बगरफाँट–भकुण्डे सडकको डेढ दशकपछि स्तरोन्नतिको काम सुरु भएको छ ।
बेनी नगरपालिकाको २, ३, ४ र मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–भकिम्ली सडक स्तरोन्नतिका लागि २०८१ साल जेठ २९ गते पाँच करोड ५९ लाख एक सय ४४ मा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभीले प्रारम्भिक चरणको काम थालेको छ ।
आगामी १८ महिनाभित्र बगरफाँटबाट दूधेखोलासम्मको सडकलाई ग्रेड तथा घुम्ती सुधार, सात मिटर फराकिलो बनाउने, नाली निर्माण गरी तीन किलोमिटर ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ तीन सय ९० मिटर ढलान गर्ने लक्ष्य रहेको छ ।
विसं २०६५ मा मार्ग खुलेको सो सडक हाल चार मिटरको हाराहारीमा फराकिलो छ । मार्ग खुलेपछि हालसम्मकै धेरै बजेट विनियोजन भएर योजना सञ्चालन भएको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो ।