स्याङ्जामा गोरु पाल्ने परम्परा हराउँदै जाँदा दाइँ हाल्ने परम्परा पनि हराउँदै जान थालेको छ । गाई पाल्न छाडेपछि गोरुको उत्पादन घट्दै गएर दाइँ हाल्न पनि गोरु नपाइने स्थिति सिर्जना भएको छ ।
विदेशिने प्रवृत्ति र सहरीकरणको कारण गाउँघरमा मानिसहरु बस्न छाडेका छन् जसका कारण कृषि गर्ने परम्परा पनि घट्दै गएको छ । गाउँमा युवाहरु नहुँदा उत्पादनसँग सम्बन्धित कामहरु हुन छाडेका छन् ।
पुतलीबजार १४ का नरेश भण्डारीले भन्नुभयो, ‘हाम्रो गाइ गोरु पाल्ने परम्परा कम हुँदै गयो । त्यसको जगेर्ना गर्नुपर्छ भनेर हामीले दुई चार ओटा गोरु पालेर काम गरेका छौं । गोरु पालेर ससाना टारी टुक्रामा खेत जोत्न पनि सजिलो हुन्छ । हो हो माले हो हो हो हो तारे हो हो भन्दै दाइँ गीत गाएर काम गर्नुको मजा नै छुट्टै हुन्छ ।’
स्थानीय तहले खेत जोत्न पावर ट्रिलर वा हाते ट्याक्टर अनुदानमा वितरण गर्न थालेपछि खेत जोत्न प्रयोग हुने गोरु विस्थापित भइरहेका छन् । गोरुको भन्दा छिटो र सरल तरिकाले जोत्ने भएकाले हाते ट्याक्टरतर्फ किसानको आकर्षण बढेको छ । पहिले गाउँघरमा १८–२० हजारसम्म गोरुको मूल्य पथ्र्याे भने अहिले आएर गोरु सित्तैमा पाइए पनि मान्छेले किन्दैन ।
दाइँ हाल्न भने गोरु नै सहज भएको अधिकांश किसानको अनुभव छ । दाइँ हाल्न मात्र गोरु पाल्न कठिन भएकाले गोरु विस्थापित भएका हुन् । आँधीखोला ६ का मेघनाथ ढकालले भन्नुभयो ‘गाइ गोरु पाल्न छाडे । परम्परागत संस्कृति लोप हुँदै गए । आधुनिक हलाले गर्दा विस्थापित भए । पाल्न छाडे । संस्कृति नै लोप हुने भयो ।’
स्याङ्जाका पहाडी धान खेत तथा लेकतिरका बारीहरुमा जोत्नका लागि अहिले पनि गोरुको विकल्प नभएको कतिपय किसानहरुको भनाइ छ । ठुला कान्ला र अग्ला डिल भएकाले हाते ट्याक्टर उचाल्न गाह्रो हुने भएकाले पहाडी लेकहरुमा अहिले पनि गोरुको आवश्यकता रहेको छ ।
कृषिलाई आधुनिक र प्रविधिमैत्री बनाउनैपर्छ । यसका साथै परम्परागत मौलिक चालचलन र परम्पराहरुलाई पनि कुनै न कुनै रुपमा जोगाउनु आवश्यक छ ।