Thursday, December 12, 2024
14.2 C
Beni
14.2 C
Beni
Thursday, December 12, 2024
Home स्थानिय समाचार म्याग्दी समाचार प्यारालाइसिस भएका अमर ह्वीलचियरबाटै फलफूल बेच्दै !

प्यारालाइसिस भएका अमर ह्वीलचियरबाटै फलफूल बेच्दै !

0

बेनी नगरपालिका–८ को नेप्टेचौर जाने चोकमा बिहानैदेखि ह्वीलचियरमा बसेर ग्राहकको प्रतिक्षा गर्नुहुन्छ ४८ वर्षीय अमरबहादुर दमैले । बेनी नगरपालिका–३ भकिम्लि स्थायी बसोबास रहेका उहाँलाई हरेक दिन ५१ वर्षीया पत्नी जुना दमैले त्यहाँसम्म ल्याएर राख्ने गर्नुहुन्छ । फलफूलहरू खोजेर ल्याइदिए पछि नगरपालिकामा सरसफाईका लागि जुना जानुहुन्छ भने अमरले दिनभर स्याउ तथा अन्य मौसम अनुसारका फलफूल बेच्दै बस्नु हुन्छ । हरेक दिन पत्नीले त्यस स्थानसम्म सामानहरू र आफूलाई ल्याएर छाड्ने र आफूले दिनभर व्यापार गर्ने अमरको भनाइ छ ।

photo20241028myagdi (1)

सन् २००७ मा वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स पुग्नु भएका अमरले सात वर्ष वैदेशिक रोजगारी पछि छुट्टीमा नेपाल आएको समयमा एक्कासी रक्तचापको समस्याले च्यापेपछि प्यारालाइसेस भएको थियो । प्यारालाइसेस भएपछि शरीरको ढाड भन्दा मुनीको भाग नचल्ने समस्या भएपछि सङ्घै ह्वीलचियरकै साहारामा हिँड्न पर्ने बाध्यता भएको छ । प्यारालाइसिस भएपछि बेनी ह्वीलचियरको साहारामा हिँड्नु पर्ने बाध्यतामा पुग्नुभएका उहाँले मासिक रुपमा १० हजार रुपियाँ भन्दा बढीको औषधि प्रयोग गर्नु पर्ने उहाँकी पत्नी जुना बताउनुहुन्छ । स्वास्थ्य परीक्षणको छुट्टै र औषधिको पनि थप पैसा तिर्न पर्ने अवस्थाले गर्दा स्वास्थ्य बिमाले नपुग्ने र कतिपय औषधिहरू बिमामा नपाउने हुनाले पनि औषधि जोहो गर्न मुस्किल भएको छ । नियमित रुपमा फलफूल व्यापार गरेर औषधिको लागि रकम जम्मा गर्नु पर्ने बाध्यता बन्न पुगेको छ । झण्डै ६ देखि ७ हजार रुपियाँ हाराहारीको औषधि स्वास्थ्य बिमाबाट निःशुल्कै पाए पनि बाँकी औषधिका लागि रकम जोहो गर्नु नै पर्ने भएकाले फलफूल व्यापार गर्नु परेको उहाँले बताउनु भयो ।

photo20241028myagdi (2)

तीन छोरी र एक छोरा रहेका अमरको जेठी छोरीको विवाह भइसकेको छ भने माइली छोरी भकिम्लि घरमै र कान्छी छोरीले बेनीको प्रकाश माध्यमिक विद्यालयमा अध्ययन गर्दै छिन् । छोराले बेनीमै सानोतीनो सहयोगीको काम गर्ने र पत्नीले बेनी नगरपालिकामा सरसफाईको काम गरेर घरखर्च तथा औषधि खर्च जोहो गर्न नपुग्ने भएकाले नै ह्वीलचियरमै भए पनि आफ्नो औषधिका लागि आफैँ सानोतिनो व्यापार गरेको उहाँको कथन छ । पुख्र्यौली गाउँ भकिम्लि भए पनि आफ्नो बस्ने घर भन्दा अन्य जग्गा जमीन नहुँदा काम पाउने र उपचारका लागि केही सहज होला भन्ने सोचेर बजार झरेको उहाँले बताउनु भयो । जुनाले बेनी नगरपालिकामा ज्यालादारीमा १५ हजार रुपियाँ पारिश्रमिक पाउने र अमरले पाउने ६ हजार रुपियाँ अपाङ्गता भत्ता गर्दा बेनीमा बस्ने कोठाभाडा तथा खाना खर्च थेग्न पनि मुस्किल हुने भएकाले पनि आफूलाइ आर्थिक व्यवस्थापन मुस्किल भएको अमरको भनाइ छ ।

Leave a Reply

error: Content is protected !!