पछिल्लो समय व्यावसायिक रुपमा नै सयपत्री फूलको खेती गर्न थालिएपछि सयपत्री फूलले म्याग्दी आत्मनिर्भर बन्दै गएको छ । तर, तिहारको भाइटीकाका दिन दिदी बहिनीहरुले आफ्ना दाजुभाइलाई लगाइदिने मालामा अनिवार्य जस्तै बनेको मखमली फूल भने जिल्लाका ग्रामीण भेगहरुबाट लोप हुँदै गइरहेको छ ।
‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ प्रशिद्ध लोकगायक नारायण रायमाझीले गाएको यो गीतका शब्दले तिहारमा दाजुभाइका लागि माला बनाउन जोगाइ राखेको मखमली फूल परदेशबाट भाइटीकामा दाजुदाइ नआएपछि ओइलाएर खेर गएको भाव दर्शाउछन् ।
दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइनाका साथै तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् ।
तर,केही वर्ष अघिसम्म गाउँघरमा प्रशस्तै पाइने मखमली फूल हिजोआज लोप हुँदै गएको छ । मखमली फूल पाइन छोडेपछि भाइटीकामा दिदीबहिनीहरुले दाजुभाइलाई थुङ्गे फूल,सयपत्री फूल र स्थानीय मौसमी फूलको माला लगाइदिन बाध्य हुनुपरेको दुखेसो पोख्छन् ।
नेपालीहरुका लागि तिहारको अभिन्न अंग बनेको मखमली फूल हराउँदै जानुमा तापक्रम बृद्धिका कारण माटोमा अम्लियपना बढ्नु र अनुकुलन हुनेगरी यसको संरक्षण नगरिनु रहेको जानकारहरु बताउँछन् ।
“पछिल्ला तीनवर्ष यता म्याग्दीको ग्रामीण भेगबाट मखमली फूल लोप हुँदै गएको छ । तर,यसको संरक्षणमा ध्यान भने जान सकेको छैन”बेनीको न्यूरोडमा पूजा तथा श्रृङ्गार पसल संचालन गर्नुभएका टीकाराम आचार्यले बताउनुभयो ।
संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर हुन्छ । मखमली फूल नोपालीहरूका लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फुल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ । अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन् ।
सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्रीझैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिएता पनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा मखमली विशेष लोकप्रिय छ ।
मखमली फूलसँगै गाउँघरमा फुल्ने सुपारी,गरधौली र लालुपाते लगाएतका फूल पनि देखिन छाडेको उहाँले बताउनुभयो । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फुले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको विमला सुवेदीले बताउनुभयो ।
नझर्ने, नओइलाउने र वर्षौँ पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी र हल्का रातो रङमा फुल्ने गर्दछ । यस फूललाई नरम मखमली नाम दिइन्छ ।