म्याग्दी समाज न्यूर्योक यूएसए इंकले तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम गरेको छ । नेपाली संस्कृति र सम्पदा संरक्षण गरी हरेक वर्ष देउसी भैलोबाट रकम संकलन गरेर नेपालमा विभिन्न सामाजिक कामा सहयोग गर्दै आएको समाजले धर्म हाउसमा आयोजित कार्यक्रममा म्याग्देली सहित नेपालीको उत्साहजनक सहभागिता रहेको थियो ।
देउसी भैलो कार्यक्रमका प्रमुख अतिथि समाजका अध्यक्ष रमेश तुलाचनले चाडपर्वमा जन्मभूमीमा जान नपाएका म्याग्देलीलाई जोड्न सफल भएको बताउनुभयो । समाजमार्फत चाडपर्वलाई खल्लो हुन नदिन आगामी दिनमा पनि निरन्तर कार्यक्रमहरु गरी सम्बन्ध थप प्रगाढ बनाउने बताउनुभयो । देउसी भैलोमा नेपालकी थाली नाचकी अभियान्ता एवम् नेपाल मगर संघ काठमाण्डौ उपत्याकी अध्यक्ष दिलकुमारी गर्बुजाले नाच सहित शुभकामना मन्तब्य राख्नुभएको थियो ।
देउसी भैलो सांस्कृतिक कार्यक्रममा पारम्परिक भेषभूषासहित सोरठी नाच, थाली नाच सहित विभिन्न नृत्यहरु समेत प्रस्तुत गरी खुसियाली मनाइएको थियो । कार्यक्रममा समाजका संरक्षक भविन शेरपुञ्जा, समाजका बरिष्ठ उपाध्यक्ष एवम् मगर संघ अमेरिकाको अध्यक्ष याम पुन, बरिष्ठ सल्लाहकार मन रोका, महिला संयोजक प्रेमा घर्ती मगर, महिला उपाध्यक्ष प्रितिमायाँ पुन, सल्लाहकार हरि राना,यमन रोका,कर्ण रोका लगायत ३ सयभन्दा बढीको उपस्थिती रहेको थियो ।
देउसी भैलो कार्यक्रमका संयोजक एवम् समाजका सचिव चक पाइजाको अध्यक्षता, उपाध्यक्ष सोम बुढाथोकीको स्वागत र सञ्चालन महासचीव चयन्द्र बहादुर थापा क्षेत्री (प्रकाश) र नम्रता बानियाँ रोकाले सञ्चालन गर्नुभएको थियो । यसबर्षको देउसीभैलोबाट २२ लाख १० हजार नेपाली रुपैयाँ आर्थिक संकलन भएकोमा खर्च घटाएर आपतकालिन कोषमा जम्मा गर्ने समाजका सदस्य रामचन्द्र सापकोटाले बताउनुभयो। म्याग्दी समाज न्यूर्योक यूएसए इंकले विभिन्न सामाजिक कार्यका साथै जन्मभूमि म्याग्दीमा समेत कार्यक्रम गर्ने गरेको छ ।