सोमबार र मङ्गलबारको वर्षाले म्याग्दीका विभिन्न क्षेत्रमा वर्षाका कारण थन्क्याउने तयारी भएको धानमा क्षति पुगेको छ। वर्षाले खेतमा काटेर सुकाएको धानको निहिन र पराल डुबाएको किसानले बताएका छन्।
जिल्लाका रघुगङ्गा, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए। तिहार अघिदेखि काटेर सुकाएको धानको निहिन पानीले भिजाएपछि धान खेतमा नै मक्किएको र दाना कालो देखिएको रघुगङ्गा–३ का किसान वेलबहादुर दर्जीले बताए।
यही कात्तिक ६ गते साँझ पनि म्याग्दीका विभिन्न क्षेत्रमा असिनापानीले धानखेतमा ठूलो क्षति भएको थियो।असिनापानीले बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीन सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको थियो।
बेनी नगरपालिका वडा नं २ का वडासदस्य चन्द्रकान्त रिजालका अनुसार असिनापानीले खेतमा पाक्नै लागेको धानबालीमा २५ देखि ८० प्रतिशतसम्म क्षति पुर्याएको छभने कोदोबालीमा पनि ५० प्रतिशत क्षति भएको छ। रासस