पत्रकार प्रदीप पोखरेल निर्देशित डकुमेन्ट्री फिल्म स्नो लियोपार्डले मेक्सिकोमा सम्पन्न भएको वाइल्डलाइफ कन्जरभेसन फिल्म फेस्टिभलमा अनरेवल मेनसन अवार्ड जितेको छ।
सो फिल्म फेस्टिभल अक्टोर २४ देखि २७ सम्म ४ दिन भएको थियो। सो फिल्म फेस्टिभलमा बेलायत, अमेरिका, क्यानडा, अस्ट्रिया, फ्रान्स, रुस, मेक्सिको, नेदरल्याण्ड, अस्ट्रेलिया, नर्वे, स्पेन, जर्मनी, भारत, पाकिस्तान, थाइल्याण्डलगायत दर्जनौं देशका सयौं फिल्मले प्रतिस्पर्धा गरेका थिए। सबै फिल्म तथा डकुमेन्ट्री वन्यजन्तु संरक्षणसम्बन्धी कथामा आधारित थिए।
प्रदीपको यस डकुमेन्ट्रीमा नेपाली संरक्षणकर्मी डा.सोम आलेले नेपालको हिउँचितुवाको संरक्षणमा गरेको संघर्ष देखाइएको छ। संरक्षणकर्मी आले तनहुँका बासिन्दा हुन्। तीन दशक अगाडिसम्म मनाङमा हिउँचितुवा संरक्षणमा खासै चासो देखाइदैनथ्यो। घरपालुवा जनावर याक, चौंरी, घोडा, भेडा, च्याङ्ग्रालाई हिउँचितुवाले आक्रमण गरेपछि किसानले त्यसको ज्यानै लिइदिन्थे।
हिउँचितुवा मार्नेलाई खादालगाएर सम्मानका साथ घोडा चढाएर सात गाउँ घुमाइन्थ्यो। सन् १९९३ मा सोम आले संरक्षणकर्मीका रुपमा मनाङ पुगेपछि उनले हिउँचितुवा संरक्षणसम्बन्धी अभियान चलाए।
गाउँलेलाई उनको अभियान मन परेन। स्थानीय किसानले प्रश्न गर्न थाले, ‘हाम्रो पशु मार्नेलाई किन जोगाउने?’ गाउँलेलाई हिउँचितुवाको महत्त्व बुझाउन बर्सौं लाग्यो। मनाङीले उनको नाम मनाङी भाषामा पाङ्चे राखिदिए। पाङ्चेको नेपाली अर्थ हिउँचितुवा हो।
उनको अभियान मनाङमा मात्र सिमित रहेन। मुस्ताङ, उपल्लो डोल्पा, सगरमाथा क्षेत्र, गोरखाको मनास्लु क्षेत्रसम्म फैलियो। विभिन्न जिल्लाका विद्यालयमा हिउँचितुवा संरक्षण शिक्षा संचालन गरियो।
विद्यार्थीलाई फिल्ड लगेर हिउँचितुवा संरक्षणसम्बन्धी आउटडोर कक्षा संचालन गर्ने र हिउँचितुवा स्काउट गठन गर्ने काम भए। डकुमेन्टी निर्देशक प्रदीपका अनुसार यस कार्यले सार्थकता पाउन थालेपछि हिउँचितुवा संरक्षण कार्यले सार्थकता पाएको हो। यही कुरा नै यस डकुमेन्ट्रीमा कलात्मक रूपमा देखाइएको छ।
हिउँचितुवा संरक्षणको लागि सेभिङ एण्ड क्रेडिट संचालन गरिएको छ। पाङ्चे फाउन्डेसनले मनाङ, डोल्पा, गोरखामा गठन भएका हिउँचितुवा संरक्षण समितिलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।
विगतमा हिउँचितुवा संरक्षणको विरोधमा लाग्नेहरू नै अहिले संरक्षणमा लागेका छन्। हिउँचितुवाको संख्या पनि बढ्न थालेको छ। यसले हिमाली भेगका किसान झन् कर्मामा परेका छन्। डकुमेन्ट्रीको मुख्य कुरा यही हो।
यस अगाडि निर्देशक प्रदीपका दर्जनौं डकुमेन्ट्री विभिन्न फिल्म फेस्टिवलमा छनोट भइसकेका छन् भने उनले दर्जनौं इन्टरनेशनल अवार्ड पनि जितिसकेका छन्। यस डकुमेन्ट्रीको सम्पादन ईश्वर कोइरालाले गरेका हुन् भने संगीत संयोजन शलिल सुवेदीले गरेका हुन्।