म्याग्दीको मंगला गाउँपालिका-२,बावियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको देउसीभैलोमा एकैपरिवारबाट ५ लाख ७६ हजार सहयोग भएको छ ।

क्याम्पसले २ करोडको मुद्धती÷अक्षयकोष तथा आर्थिक सङ्कलन अभियानमार्फत समुदायस्तरमा सञ्चालन गरिरहेको देउसीभैलोमा अमेरिका र यूकेमा रहनुभएकी  डा. रेखा रोका,डा.रंजना रोका र डा. स्वस्ती रोकाले १ लाख ९२ हजारका दरले उक्त सहयोग गर्नुभएको हो ।

मंगला गाउँपालिका अध्यक्ष एवम् क्याम्पसका सम्मानार्थ संरक्षक सतप्रसाद रोका, क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक संकलन उपसमिति संयोजक यसुदा रोकाका तीन छोरीले कोषमा नगदै उक्त सहयोग गर्नुभएको क्याम्पस सञ्चालक समिति अध्यक्ष यामबहादुर थापाले बताउनुभयो ।रोका परिवारबाट मात्रै हालसम्म १४ लाख १ हजार ५० रुपैयाँ सहयोग प्राप्त भएको छ ।

देउसीभैलो अभियान अगाडी नै कोषमा १३ लाखभन्दा बढी आर्थिक संकलन भइसकेको थियो । घरायसी समस्याले सहरबजारमा गएर पढन नसकेका छोरीबुहारीलाई बरदान नै बनेको क्याम्पसले आर्थिक संकटमा समेत समुदायमै पुगेर अहिलेसम्म गरेको शैक्षिक तथा भौतिक सफलताको सन्देश सुनाउँदै विभिन्न माध्यमबाट आर्थिक संकलनको अभियान सञ्चालन गर्ने गरेको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो ।

मंगला गाउँपालिकाभित्रका ३७ सय घरधुरीबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा भर्चुयल माध्यमबाट क्याम्पसको शैक्षिक कोषमा सहयोग जुटाउने अभियान लक्ष्य प्राप्ती भएसम्मका लागि जारी रहने क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक संकलन उपसमिति संयोजक उश्दा रोकाले बताउनुभयो ।

समुदायबाटै प्राप्त सहयोगबाट सञ्चालित क्याम्पसले यो अभियानमार्फत पूर्वकालिन प्रध्यापकलाई तलबसुविधा, क्यूएए प्रक्रियाका पूर्वाधारहरु तयार गर्न, गरिब तथा विपन्न बर्गका विद्यार्थीहरूलाई छात्रबृत्ती प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन समेत देउसीभैलो अभियान प्रभावकारी भएको बताइएको छ ।

क्याम्पसले १२ लाख सहयोग गर्नेलाई संरक्षक, ७ लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, १ लाख सहयोग गर्नेलाई आजीवन सदस्य, ५० हजार सहयोग गर्नेलाई बरिष्ठ सदस्य र ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पससभा सदस्य प्रदान गर्ने जनाइएको छ ।

Leave a Reply