म्याग्दीको मंगला गाउँपालिका-२ सिमलचौरमा देउसीभैलोबाट संकलित आर्थिकले फोहोर ब्यवस्थापन र खेलकुद साम्रागी सहयोग गरिएको छ ।
सिमलचौर क्रियाशील युवा समाजद्धारा सिमलचौर, नेवारे, कस्केरी र सिमको क्षेत्रमा फोहोर व्यबस्थापनको लागि भलिबलको पोल सहित १५ थान जर्सी, १ थान भलिबल र १७ वटा डस्बिन सहयोग गरिएको अध्यक्ष सुरेन्द्र पौडेलले बताए ।
उनका अनुसार एकदिन देउसीभैलो खेलेर संकलित ३० हजारबाट उक्त सहयोग गरिएको थियो ।
देउसीभैलो खेलेर बनभोज तथा अन्य फजुल खर्च गर्नेहरुलाई सिमलचौरका यूवाहरुले सन्देश दिएको अतिथि श्रीराम पौडेलले बताए ।
सिमलचौरमा रहेको सार्वजनिक शौचालय सहित आसपासका क्षेत्रलाई सफा र सुन्दर बनाउन स्थानीय यूवाहरुले विगतदेखि नै सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका छन् ।
बेनी–दरबाङ सडकखण्ड अन्तरगत पर्ने उक्त क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई समेत कुनै समस्या हुन नदिने गरी आगामी दिनमा थप सक्रिय हुने सचिव सुमित थापा क्षत्रीको भनाई छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लवका अगुवा अर्जुन शाही ठकुरी, हरिलाल कँडेल, जिवन पौडेल,सन्दीप केसी साथै समाजको अग्रज समाजसेवी अभिभावकहको उपस्थिती रहेको थियो ।