म्याग्दीको बेनी नगरपालिका-५,पुलाचौरस्थित जनकल्याण माविमा आगामी कात्तिक २६ देखि २९ गतेसम्म बृहत शैक्षिक कार्यक्रम हुने भएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको विद्यार्थी कल्याणकारी कार्यक्रम अन्तरगत काठमाडौँ विश्वविद्यालय (केयू) सँगको सहकार्यमा म्याग्दी जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयलाई लक्षित गरी शैक्षिक कार्यक्रम गर्न लागिएको विद्यालयका प्रधानध्यापक कमलप्रसाद पौडेलले बताउनुभयो।
‘शैक्षिक र अतिरिक्त क्रियाकलाय केन्द्रित कार्यक्रम हुन्छ, विद्यार्थीलाई अति आवश्यक पर्ने विषयबस्तुहरू राखिएको छ’ प्रअ पौडेलले भन्नुभयो ।
उहाँका अनुसार सोमबारदेखि बिहिबारसम्म सञ्चालन हुने कार्यक्रममा केयूबाट आउने प्रशिक्षकले पहिलो दिन प्रविधि,हेरचाह परामर्श,टाइपिङ प्रतिस्पर्धा, दोस्रो दिन वित्तिय साक्षरता, बचत गर्ने बानी, हाजिरीजवाफ प्रतियोगिता, तेस्रो दिन शाररीक,मानसिक तथा स्वास्थ्य परामर्श, अन्तर विद्यालय फुटबल प्रतियोगिता र अन्तिम दिन फुटबलको फाइनल तथा अन्य खेलकुद गतिविधि सञ्चालन गरिने छ ।
चार दिने शैक्षिक तथा खेलकुद कार्यक्रममा विद्यार्थीलाई विद्युतीय उपकरणबाट हुनसक्ने असर सहित विद्यार्थीको दैनिक गतिविधिमा समेत केन्द्रित गरी थप तालिमहरू सञ्चालन गरिने छ ।
मोना अस्ट्रेलियाका कार्यसमिति सदस्य मुक्ति सुबेदीले विद्यार्थीको पठनसंस्कृतिलाई सघाउने गरी आगामी दिनमा समेत तालिम सञ्चालन गरिने बताउनुभयो ।उहाँले काठमाडौँ विश्वविद्यालय (केयू) टोलीले आगामी दिनमा समेत निरन्तर उपयोगी शिक्षा सम्बन्धि तालिमलाई प्राथमिकता दिने बताउनुभयो ।