मलेसियामा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका-१,का मिमबहादुर राना मगरको शब नेपाल ल्याउन समस्या भएको छ । प्यारालाइसेसबाट ग्रसित राना मगरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाउने तयारी भएपनि पासर्पोट सहित अन्य प्रक्रिया पूरा नहुदाँ शब पठाउन कठिनाई भएको मोना मलेसियाका अध्यक्ष पूर्णबहादुर रोकाले बताउनुभयो ।
‘परिवारसँग सम्पर्क पनि हुन सकेको छैन, पासर्पोट नहुदाँ शब मलेसियामै अन्तेष्टी गर्नुपर्ने हुनसक्छ’ अध्यक्ष रोकाले भन्नुभयो। १२ बर्षसम्म परिवारको सम्पर्कमा नरहेका मृतक रानामगरको शब अहिले मलेसियाको जोहर बहरु बेवारिसे लास राख्ने हस्पितलमा राखिएको छ ।
मलेसिया प्रहरी र कम्पनीका प्रतिनिधिले आवश्यक कागजात सहितको प्रक्रिया पूरा गरी नेपालमा शब बुझ्न तयार भएमा पठाउन सकिने बताएको मोना मलेसियाले जनाएको छ । मृतक रानामगर सुरक्षा गार्डको रुपमा पेनाङमा कार्यरत रहदाँ हात र कम्मर भन्दा मुनीको पुरै भाग नचल्ने अवस्थामा म्याग्दी र बागलुङका यूवाहरुले उद्धार गरेका थिए।
मानसिक सन्तुलन समेत गुमेको अवस्थामा साथबाट भेटिएको घरायसी कारोबार, लेनदेनको कागजात भेटिएपनि पासर्पोट सहितका कागजात फेला नपरेपछि थप समस्या परेको थियो । मृतकको साथमा अर्को नेपाली साथीको पासर्पोट भेटिएको थियो । मृतकको उपचारमा कम्पनीले खर्च गरेको थियो ।
मलेसियामा गैरकानुनी रुपमा बसोबास गरेकालाई उद्धार सहित आवश्यक सहयोग गर्न त्यहाँ रहेका मोना सहितका अन्य संघसंस्थालाई प्रहरीको अनुरोध बाहेक सहज नहुने भएकाले कम्पनीसँगै सिधै सम्पर्क गरी आवश्यक सहयोग तथा तलब सहित अन्य सुविधा भएमा नेपालमा रहेका छोराछोरीलाई उपलब्ध गराउन अनुरोध गरिएपनि मृतकको तलबसुविधा समेत लिइसकेको बताइएको छ ।