---Advertisement---

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधनी एकादशी मेला हुँदै

On: November 9, 2024 11:05 AM
Follow Us:

यही कात्तिक २७ गते बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा हरिबोधनी एकादशी मेला आयोजना गरिने भएको छ ।लामो समय बन्द भएको मेला झण्डै २४ वर्षपछि गर्न थालिएको हो। कालिगण्डकीमा तोरण तार्ने, भजन किर्तन गर्ने र गण्डकी पुजन गर्ने परम्परा हराएको भन्दै मेला आयोजना गर्न थालिएको छ ।

२०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न सकेको छैन । तर यस वर्ष स्थानीय अगुवाहरूले मेला आयोजना गर्न चासो देखाएका छन् । त्यसका लागि हरिबोधनी एकादशी मेला संरक्षण समिति गठन गरिएको छ ।

समितिका अध्यक्ष रमेश राजभण्डारीले औपचारिक रूपमा करिब २४ वर्षसम्म रोकिएको मेला यस वर्षबाट पुनः सञ्चालन गर्ने गरी तयारी सुरु भएको जानकारी दिए। उनले यही कात्तिक २७ गते कालीगण्डकी किनार निरयघाटमा हरिबोधनी एकादशी मेला लाग्ने बताए ।

मेलामा बाबियो र कुशबाट बनाइने १०८ मिटर लामो तोरण तारिने छ । मेलाको अवसरमा कालिगण्डकी पुजन, कालिगण्डकी सरसफाई र दिप समेत प्रज्ज्वलन गरिने छ । मेला सफल पार्न विभिन्न उप–समिति गठन गरिएको आयोजकले जनाएको छ ।कात्तिक शुक्ल एकादशीका दिन सोमबार हरिबोधनी एकादशी मनाइन्छ ।