मौसम सफा भएर आकाश खुलेको बेला हिमालको लर्कन तथा ग्रामीण बस्तीको सौन्दर्यहरू छर्लङ्गै देखिन्छ । तरेली परेका पहाडका थुम्का तथा नागबेली डाँडाकाँडाको मनोरम दृश्यहरू धित मरुन्जेल नियाल्न पाइन्छ । हिमाली जिल्ला म्याग्दीमा यस्ता डाँडाकाँडाहरू धेरै छन् । जुनसुकै ठाउँमा पुगे पनि हिमाल नदेखिने डाँडाकाँडा छैनन्। त्यसैमध्ये एक हो, म्याग्दीको पर्यटकीय स्थल खोप्रा लेक क्षेत्र पनि ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखको पाउद्वार गाउँदेखि माथि पर्ने खोप्रा लेक क्षेत्र पर्यटकीय र धार्मिक हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ । खोप्रा लेक क्षेत्रमा पाउद्वारका किसानहरूले वर्षौँदेखि व्यावसायिक रूपमा चौँरी र भेडा पालन गर्दै आइरहेका छन् । खोप्रा लेक क्षेत्रमा पुगेपछि नजिकैबाट हिमालको दृश्य चियाउन पाउनुका साथै हिमालसँगै मितेरी लगाउन पाइन्छ । यहाँको ग्रामीण सौन्दर्यमा मनलाई भुलाउन सकिन्छ । खोप्रा लेक क्षेत्र आफैमा पनि निकै सुन्दर, मनमोहक र आकर्षक छ ।

साँच्चिकै भन्ने हो भने खोप्रा लेक क्षेत्र ‘आहा’ नै छ भन्दा फरक पर्दैन । प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको खोप्रा लेकमा स्थानीयले पर्यटन सहकारीमार्फत सामुदायिक लज सञ्चालन गर्नुका साथै चौंरीपालन र भेडा पालन गरेका छन् । पर्यटकलाई लक्षित गरेर सुविधा सम्पन्न लज निर्माण तथा खोप्रासम्म पुग्न र त्यसभन्दा माथि पनि पदमार्ग निर्माण गरिएको छ । लालीगुराँससहित बहुमूल्य जडीबुटीहरू पाइनु खोप्रा लेक क्षेत्रको अर्को थप आकर्षण हो । खोप्रा लेकबाट नजिकै बराह शिखर तथा अन्नपूर्ण हिमाल देखिन्छ । यसका साथै धौलागिरि, निलगिरी, टु कुचे पिकलगायत अन्नपूर्ण र धौलागिरि रेन्जका अधिकांश हिमालहरू देखिन्छन् ।

समुन्द्री सतहदेखि करिब ३ हजार ७ सय मिटरको उचाइमा अवस्थित खोप्रा लेकबाट पर्यटकीय स्थल पुन हिल, घोरे पानी, महरे डाँडासहित अन्नपूर्ण गाउँपालिकाको अधिकांश भू–भागहरू देख्न सकिन्छ । यसै गरी रघुगंगा गाउँपालिका २ राखुभगवतीको पर्यटकीय क्षेत्र रुईसे भेडीओढार तथा छिमेकी जिल्ला मुस्ताङ र कास्कीको समेत डाँडाकाँडाहरू देखिने लजका व्यवस्थापक आदेश तिलिजा पुनले जानकारी दिनुभयो ।

पर्यटकीय क्षेत्र खोप्रालेकस्थित हिमालको फेदीमा पालिने चौरीगाई र भेडाको दृश्यले पनि पर्यटकहरूको मन जितेको छ । खोप्रा लेक पुगेपछि मनोरम हिमशृङ्खलाहरू देखिन्छन् । यहाँको वन क्षेत्रमा मृग, घोरल, भालु, डाँफे, मुनाललगायत संरक्षित जनावर तथा पंक्षीहरु रहेको स्थानीयवासी बताउँछन् । खोप्रा लेक क्षेत्रको भ्रमणमा पुग्ने पर्यटकहरूलाई लक्षित गरेर पाउद्वार पर्यटन सहकारी संस्था लिमिटेडद्वारा सामुदायिक लज सञ्चालन गरिएको छ ।

उक्त सामुदायिक लजमा एक रातमा करिब ८० जना पर्यटकहरू अटाउँछन् । अहिले खोप्राको भ्रमणमा आन्तरिकभन्दा पनि बाह्य पर्यटकहरू धेरै आउने गरेको लजका व्यवस्थापक पुनले जानकारी दिनुभयो । खोप्रा लेक क्षेत्रको भ्रमणमा खास गरी इन्डियन, फ्रान्स, इजरायल, युके, अमेरिकालगायत देशबाट पर्यटकहरू पुग्ने गरेका छन् भने बिस्तारै आन्तरिक पर्यटकहरूको पनि चाप बढ्दै जान थालेको छ ।

बेलुका खोप्रा लेक पुगेर सामुदायिक लजमा बास बस्ने र बिहान सबेरै उठेर मनोरम दृश्यावलोकन गर्न सकिन्छ । खोप्रा लेक क्षेत्रको भ्रमणमा पुग्नुभएका नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले खोप्राको भ्रमण गर्न पाउँदा आफूले निकै आनन्दको महसुस गर्न पाएको अनुभव सुनाउनुभयो ।

 



Leave a Reply