कृष्णबहादुर विश्वकर्मा/ धेरै चर्चा र कौतुहलताका विच यतिबेला देशभरका हलहरूमा ‘पूर्ण बहादुरको सारंङ्गी’ ले नेपाली्हरूलाई रूवाई रहेको छ। फिल्म हेर्ने हरकोही पटक-पटक रुनेगर्छन्। अति विपन्न वर्गको परिवार बाहेक आजको विल्कुल नयाँ पुस्ताले सायद देख्न र बुझ्न पाएको छैन। यो सिनेमाले फर्काएर त्यहाँ लगेको छ, जहाँ जातीय विभेदको डरलाग्दो खाडल छ, वर्गिय उत्पीडन आक्रोशपूर्ण छ र मान्छे मात्र पनि बन्न कत्रो क्रान्ति लड्नु पर्नै थियो भन्ने कुरालाई प्रष्ट देखाएको छ।
सानो झुपडी, मट्टितेलको टुकी, दिनभर गाएर बाँचेको गाईने दाईको परिवार, पलपलको अभाव, आफ्नो खुशीमाथिको कुर्वाणी,समाजको तिरस्कार र यो सबका बिच सबै विभेद र अभावको पर्खाल फोड्न निस्केको क्रान्तिकारी पूर्णबहादुरको बेजोड संघर्षको हकिकत तथ्यलाई पुनः उजागर गरेको छ। फिल्मका कलाकारहरूको अभिनय र कथावस्तु अदभुत छ। पैसा तिरेर रूनलाई हलभरी मान्छेहरू लामबद्व छन्।
संघर्षको स्वरुप फेरिदो छ, तर हरेक विपन्न वस्तिहरूमा पाईने पूर्णबहादुरहरूको प्रतिवद्वताले मात्र आजको समाज र व्यवस्था संभव भएको छ। अझै पनी यो व्यवस्थाको असली अंशियार पूर्णबहादुरहरू हुन पाईरहेका छैनन्। यो फिल्म हाम्रो पहिलो पुस्ता (जीवित नेताहरूको पनि) लाई संयुक्त रूपमा हेर्न खुला अनुरोध गर्न चाहन्छु। कम्युनिष्ट आन्दोलनप्रति गौरव गर्नै हाम्रो सम्पूर्ण ध्यान त्यस्तै पूर्णबहादुरहरूको वरपर हुनु पर्दथ्यो। हजारौं पूर्णबहादुरहरूको रगत र पसिनाले सिंचित कम्युनिष्ट आन्दोलन आज ड्राईभिङ सिटमा बसेर कहाँ लैजादै हुनुहुन्छ?
हाम्रो प्राथमिकताको वर्ग कुन बनेको छ? कुन कसम र धरातलबाट आयौ आज हाम्रो जीवनशैली कसरी चल्दै छ? यी तमाम विषयहरू नबोलेरै हामीलाई प्रश्न गरिरहेको छ। जो आजपनि वर्गिय पक्षधरताको चर्को वहस गर्छौँ। अझँ भनौं कम्युनिष्ट विचारसँग सामिप्यता राख्छौँ। पूर्णबहादुरहरूले हामीलाई सधै दिए मात्र तर हामी बदलामा दिएका के छौँ? खाली गणतन्त्र वाहेक ? व्यवस्था आफैले दिने त केही हैन, यो फिल्मले देखाएको समय र हाम्रो उपस्थितीलाई हेर्ने हो भने करिब-करिब सत्ताको बागडोर हामीसँगै छ।
स्वास्थ र शिक्षा जस्तो संवेदनशिल क्षेत्र दलाल पूँजिपतीहरूको कब्जामा छ। हाम्रो निर्णयहरू ती विपन्न परिवारको पक्षमा हैन तिनै माथी व्यापार गर्नेहरुको हितमा देखिन्छ। पहुँच तिनैको छ, उठवस त्यस्तैसँग छ। मानौँ कि आजको केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईहरु बन्नलाई विपन्न पूर्णबहादुरहरुको भन्दा ज्यादा त्यस्तै तस्करहरूको योगदान छ। यस्मा धेरैथोरै आरोपको वहस र खण्डन गर्दै जाँउला । तर कहीँ त समीक्षा गरौं।
सामान्य टोलसुधार समितीमा मासिक समीक्षा हुन्छ वा समाजका सबै युनिटहरूमा समीक्षा गर्नै गरिन्छ भने यति धेरै पूर्णबहादुरहरूको संघर्ष, वलिदान र त्यागको जगमा सबैको जीवन वदल्ने र समाज रूपान्तरण गर्छौं भन्ने हाम्रो ईमान र प्रतिवद्वताको समीक्षा हुनु पर्दैन? वर्ग र वर्गीय हितलाई पटकपटक बिर्सन पाईन्छ? बर्सेनि आउने सरकारको बजेट भाषण किन त्यो विपन्न वर्गको रूचिमा पर्दैन? वा हाम्रो निम्ति पनि केही बोल्ने छ भनेर विश्वास गर्दैनन्? किन यस्तो हुदैछ ?
कत्रो आकर्षण थियो। जता निस्कदा पनि कार्यकर्ता र जनताको त्यो तहको माया र सद्भाव थियो तर आज जनता भन्दा ठूलो सुरक्षा घेरा वनाएर हिड्नुपर्ने भएको छ। हिजो घाँटी सुक्नेगरी लाग्ने जिन्दावादको नारा अहिले मुर्दावाद र अपमानमा आईपुगेको छ। फेरी पनि यो आक्रोश हो र सचेत खवरदारी हो। सुध्रने हामीले नै हो।
किन कि यो बीचमा नयाँहरू पनि परिक्षाको वेन्चमा असिन पसिन भैसकेकाका छन्। उत्तीर्ण हुने सम्भावना क्षीण देखिन्छ। हामीसँग ऐजेण्डा ठिकै छन्, ईतिहास पनि समर्पण र बलिदानकै छ। मात्र हाम्रो व्यबहारमा परिवर्तन ल्याँयौं। कसका मुद्वाहरुले पाउनुपर्ने प्राथमिकता कसले पाईरहेका छन्। कित चौबाटोमा उभिएर कवुल गरौं, हामी दलाल पूँजिवादको सामु घुडा टेकिसक्यौं भनेर। हैन भने समीक्षा आवाश्यक भैसक्यो। अझैँ हामीले यस्को महत्वलाई आत्मसात गर्न सकेनौं भने पूर्णबहादुरहररूले नियमितको विश्वासमाथी निर्मम भएर समीक्षा गर्नैछन्।
त्यसैले यति धेरै खुला राजनीतिक वहस त छैन। तर, यस भित्रको हरेक घटनाक्रमले चुकेका ठाँउहरु प्रष्टसँग देखाई दिएको छ र गणतन्त्र जिन्दावादको नाराप्रति पनि त्यति नै विश्वास देखिन्छ। हामी ठिक परिस्थितीको ठिक विश्लेषण गर्नै माक्सवादी हौँ भन्ने दावीलाई पुष्टि गर्ने हो भने झण्डै ३ दशक त हामी नै सत्ताको म्युजिकल चेयरमा दौडिरहेका छौं। कहाँ-कहाँ छुट्दै आए हाम्रो ऐजेण्डा र प्रतिवद्वताहररू तिनै पूर्णबहादुरहरूको बस्तिमा उभिएर बस्तुनिष्ट समीक्षा गरौं नभए उनीहरू अन्तिम समीक्षा गर्न बाध्य हुनेछन्।
अन्त्यमा, नेपाली सिनेमाको खस्कदो आकर्षणलाई पनि पछिल्ला केही सिनेमाहरू जस्तै यो पूर्णबहादुरले पनि ठूलो योगदान गर्नेछ। साथै सबै निर्माण टिम र कलाकार साथिहरूलाई हार्दिक बधाई। पूर्णबहादुरको सारङ्गी सबैले एक पटक अवश्य हेरौं। ६० को दशकभन्दा अगाडीको हाम्रो समाजको यथार्थ चित्र यस्मा पाईन्छ।
(लेखक विश्वकर्मा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य हुनुहुन्छ।)