साग र कन्द दुवै पकाएर वा काँचै खान मिल्ने साग वर्गको वनस्पतिलाई नै मुला भनेर चिनिन्छ । मुलाको खेती पहिले परम्परागत रुपमा गरिन्थ्यो भने अहिले व्यावसायिक तरिकाले गर्न थालिएको छ ।

विगतको समयमा अर्गानिक मुला उत्पादन हुने गरेको भए पनि आजभोलि भने हाईब्रिट प्रजातिका (छिटो उत्पादन दिने) विभिन्न नामका मुलाको खेतीतर्फ जोड दिने गरिएको पाइन्छ । तर, हिमाली जिल्ला म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा भने अहिले पनि अर्गानिक मुलाको उत्पादनले निरन्तरता पाएको छ ।

पछिल्लो समय पर्यटकीयस्थल टोड्केमा उत्पादन हुँदै आएको मुला स्थानीयको पहिचान बन्दै जान थालेको छ । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइको कारणले स्थानीय जातको मुलाले टोड्केको पहिचान बनाउँदै गएको स्थानीयवासी बताउँछन् । पर्यटकीय क्षेत्र टोड्के मुला खेतीका लागि प्रसिद्ध मानिन्छ । टोड्केका स्थानीयवासीले परम्परागत तरिकाले मुला लगाउने गर्दछन् ।

जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्केमा परम्परागत रुपमा स्थानीय जातको मुला लगाउने गरिएको छ । पछिल्लोपटक टोड्के पर्यटकीय गन्तव्य बन्दै जान थालेपछि मुला खेती पनि आकर्षक बनेको हो । साविक धौलागिरि क्षेत्रमै मुला खेतीमा अब्बल मानिने म्याग्दीको टोड्केका स्थानीयवासीले स्थानीय जातको सेतो र रातो रङको मुला लगाउँदै आएका छन् । उनीहरुले आफ्ना बाबुबाजेको पालादेखि विभिन्न ठाउँबाट मुलाको बिउबिजन ल्याएर लगाएका थिए ।

अहिले पनि बाबुबाजेको पालादेखि गरेको मुला खेतीलाई टोड्केवासीले निरन्तरता दिएको बताउँछन् । टोड्केमा उत्पादित मुलाले स्थानीय पहिचान बनाउनुका साथै पर्यटकका लागि कोसेली समेत बन्ने गरेको छ । जम्मा ५ घरधुरीको बसोबास रहेको टोड्केमा स्थानीय रातो र सेतो जातको मुला उत्पादन हुँदै आएको छ भने टोड्केवासीले मुख्य पेशा मुला र आलुखेती गर्छन् । यहाँका स्थानीयको मुख्य आम्दानीको स्रोत पनि मुला खेती बनेको छ । स्थानीयले मुला, आलु, र फापरको साथमा भेडापालन गर्दै आएका छन् ।

अर्गानिक मुला उत्पादनमा सक्रिय टोड्केकी तीजमाया पाईजाले आफ्ना बाबुबाजेको पालादेखि लगाउँदै आएको मुला खेतीलाई अहिले पनि आफूहरुले निरन्तरता दिएको बताइन् । समुन्द्री सतहदेखि २५ सय मिटरको उचाइमा रहेको टोड्केमा मुलासँगै आलु र फापरको पनि खेती हुन्छ । टोड्केका स्थानीयले परम्परागत मुला खेतीलाई नै निरन्तरता दिएका छन् । अर्गानिक मुलाबाट विभिन्न परिकारहरु बनाउने गरिन्छ ।

गाईभैंसी र भेडाको मल मात्रै हालेर लेकाली तरिकाले उत्पादन गरिने भएकाले लोकल मुला खोज्दै ग्राहकहरु किन्न आउने गरेको मुला उत्पादक किसान पाईजाले जानकारी दिइन् । स्थानीयले एक सिजनमा उत्पादित मुला बेचेर झण्डै एकलाख रुपैयाँसम्म आम्दानी गर्ने गर्छन् । विषादिरहित मुला उत्पादन गर्दै आएका टोड्केका स्थानीयले मुलाबाट धजरा, चाना, सिन्की (गुन्द्रुक) बनाएर बिक्री गर्दै आइरहेका छन् । काँचो मुलालाई भाङ्गोसँग चट्नी बनाएर खाने गरिन्छ भने यो निकै स्वादिलो पनि हुन्छ ।

Leave a Reply