म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, शिखमा रहेको अधिकांश मगर समुदायको बाहुल्यता रहेको पाउद्वार गाउँ आफैमा पनि निकै मनमोहक, आकर्षक र सुन्दर छ । परम्परागत सिप तथा प्रविधिमा आधारित रहेर बनाइएका पाउद्वार गाउँका ढुङ्गे घरको आकर्षणले मनै लोभ्याउँछ ।

पहिले–पहिले गाउँमा सडक र यातायातको साधन नपुग्दा मानिसहरुले घोडा, खच्चडलाई यातायातका साधनको रुपमा प्रयोग गर्ने गर्दथे । तर, म्याग्दीको पाउद्वार गाउँमा भने यदि कसैले पनि घोडा, खच्चड ल्यायो भने गाउँका भूमेले राम्रो गर्दैनन्, गाउँमा असिनापानी पर्ने, बाढीपहिरो आउँछ भन्ने भनाइ थियो ।

त्यसैले पाउद्वार गाउँ जानेहरु पाउले टेकेर अर्थात् पैदलयात्रा गर्नुपर्ने भएकाले पाउद्वारा पुग्ने भन्दाभन्दै गाउँको नाम पाउद्वार रहन गएको किम्बदन्ती छ ।

पछिल्लो समय पाउद्वार गाउँसम्मै सडकको पहुँच विस्तार भएको छ भने अचेल मानिसहरु घोडा, खच्चडको प्रयोग गर्ने र तिनैलाई भारी बोकाउँछन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट सिधै पाउद्वार हिँडेर वा गाडीमा पनि जान सकिन्छ ।

अहिले पोखरेबगर र पाउद्वार गाउँ जोड्ने घारखोलामाथि पक्की मोटरेबल पुल निर्माणा भएको छ । अर्कोतर्फ पोखरेबगर–घार–शिख–स्वाँत–किन्दु हुँदै पनि पाउद्वार पुग्न सकिन्छ भने घारदेखि कुरिलाखर्क हुँदै हिँडेर समेत पाउद्वार गाउँमा पुग्न सकिन्छ ।

पाउद्वारमा तीनवटा तल्लोगाउँ, अन्तरगाउँ र डाँडागाउँ रहेका छन् । हाल पाउद्वार गाउँमा खान र बस्नका लागि होटलहरु समेत सञ्चालनमा आएका छन् । प्रसिद्ध खयरबराह र खोप्रालेक क्षेत्रले पाउद्वार गाउँलाई चिनाएको स्थानीयवासीको भनाइ छ ।

अन्नपूर्ण हिमालको फेदीमा पर्ने खयरभारानीमा खासगरी जनैपूर्णिमा पर्वको अवसरमा धार्मिक पर्यटकहरु पुग्ने गर्दछन् ।
पाउद्वार गाउँमा मकै, कोदो, गहुँ, जौ, आलु, सिमी, भटमासलगायत पुरानो तथा रैथाने बालीको उत्पादन हुँदै आएको छ । पछिल्लो समय आलु र सिमी बढी उत्पादन हुने गरेको छ ।

आलु र सिमीलाई विभिन्न परिकारमा रुपान्तरण गरेर प्रयोग गर्न सकिने भएकाले पछिल्लोपटक पाउद्वारमा आलु र सिमीको उत्पादन फस्टाउँदै जान थालेको हो । गाउँमा पुग्ने जो कोही वा पर्यटकलाई पनि त्यहाँका स्थानीयले आलुको अचार, तरकारी बनाएर तथा उसिनेर खाजाको रुपमा समेत खुवाउने गर्छन् ।

सफा र चिटिक्क परेका ढुङ्गेघर, मनमोहक ग्रामीण सौन्दर्य, मगर समुदायको बाहुल्यतासँगै कला, संस्कृति, लेकाली उत्पादनको स्वाद चाख्न पाइने पाउद्वार गाउँको विशेषता हो ।

गाउँमा आउने स्वदेशी तथा विदेशी पर्यटक र मेला, पर्वमा मगर समुदायका युवायुवतीहरुले गीतसङ्गीत र नृत्यबाट स्वागत गर्ने गर्दछन् । पाउद्वार गाउँका कतिपय वैदेशिक रोजगारीमा पुगेका छन्भने ब्रिटिस र ईन्डियन लाहुरेहरु पनि छन् ।

पाउद्वार गाउँमा पाउद्वार आधारभूत विद्यालय र पाउद्वार मावि गरी दुईवटा विद्यालयहरु सञ्चालनमा रहेका स्थानीयवासी समेत रहेकी अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन् । पाउँद्वार गाउँभन्दा माथि पर्यटकीय क्षेत्र खोप्रालेक र खयरबराहताल पर्दछ ।

Leave a Reply