अग्लो कद भएका । टाउकोमा छाते टोपी (क्याप) र खुट्टामा कपडाको जुत्ता लगाएका । शरिरमा पुरानो ज्याकेट, टिसर्ट र पाइन्ट लगाएका । साथमा भाङ्ग्रा भिरेका छन् । उनको दैनिकी यस्तै पहिरनमा चौंरीगाईहरुको रेखदेख गरेरै बित्ने गरेको छ । उमेरले डाँडो क्रस गर्न लागेपनि उनको दिनचर्या चौंरी धपाएरै बित्छ ।

उनी हुन् विगत १६ वर्षदेखि म्याग्दीको खोप्रालेकमा चौंरीगाई धपाएर बसेका नांगीका सुकबहादुर पुन । ५ वर्ष हङकङ र २९ महिना कतार बसेर फर्किएका उनले वि.सं. २०६५ सालदेखि खोप्रालेक क्षेत्रमा पालिएका चौंरीगाई धपाउने काम गर्न थाले । विदेशबाट फर्किएर घरमै बसेका उनी सामाजिक कार्यकर्ता डाक्टर महाविर पुनको फोन सम्पर्कबाट चौंरीगाईको रेखदेख गर्नको लागि खोप्रालेक पुगेका हुन् ।

सुरुमा मासिक ४४ सय रुपैयाँको तलवमा चौंरीगाई हेर्ने गरेकोमा अहिले तलब बढेर १९ हजार रुपैयाँ पुगेको सुकबहादुर पुन बताउँछन् । पाउद्वारको एक समितिमार्फत सञ्चालित चौंरीगाईपालन व्यवसायबाट प्राप्त आम्दानी पाउद्वार मावि पाउद्वार र हिमाञ्चल माध्यमिक विद्यालय नांगीमा निजी क्षेत्रबाट अध्यापनरत शिक्षकहरुको तलव भत्तामा खर्च गर्ने गरिन्छ ।

लेकाली क्षेत्रमा यसरी चौंरीपालन व्यवसाय गरेर त्यसबाट प्राप्त हुने आम्दानीले गाउँकै विद्यालयमा रोजगारको सिर्जना गर्ने अवधारणा भने महाविर पुनले ल्याएका हुन् ।

महाविर पुनकै योजनामा खोप्रालेकमा चौंरीगाई पालनसँगै महरेडाँडा र नांगीमा सामुदायिक लज सञ्चालन गरिएको छ । पर्यटकलक्षित सामुदायिक लजमा स्थानीयले रोजगार समेत पाएका छन् । खोप्रामा चौंरीगाई धपाउँदै आएका पुनको साथमा एकजना पर्वतका सहयोगी पनि सँगै छन् ।

उनीहरु दुईजना मिलेर दैनिक रुपमा चौंरीको रेखदेख गर्ने गर्दछन् । हिमालको फेदीमा पालिएका चौंरीगाई त्यहाँ पुग्ने पर्यटकहरुको आकर्षण बन्ने गरेको भए पनि चौंरी धपाउनेहरुका लागि भने यो पेशा निकै चुनौतीपूर्ण रहेको छ । खोप्रालेक क्षेत्रमा चौंरीगाई हेर्ने जिम्मा पाएका पुनले अहिले पनि १ सय ४० वटा चौंरीगाईको रेखदेख गर्दै आएका छन् ।

महाविर पुनको अनुरोधमा चौंरीगाई हेर्न भन्दै नांगीबाट पुन खोप्रामा आएपछि चौंरी हेर्न क्रममा १ सय ७० वटासम्म पुगेको उनले जानकारी दिए । गर्मीयाममा चौंरीगाईलाई माथिल्लो क्षेत्रमा लैजाने गरिन्छ भने हिउँदमा जाडो बढ्दै जान थालेपछि बेंसीतर्फ झार्ने चलन छ । चौंरीगाईलाई समय समयमा नुन खुवाउनुपर्दछ ।

महाविर पुनको पहलमा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित खोप्रालेक क्षेत्रमा चौंरीगाई पालेर खुन खाने र ठूल्ठूला याक काटेर त्यसको मासु बिक्रीबाट प्राप्त आम्दानी पाउद्वार र नांगीको विद्यालयमा लगानी गरिएको छ ।

घर बनाउने, काठ काट्नेलगायत विभिन्न काममा सिपालु सुकबहादुरले चौंरीगाई हेर्न सक्ने राम्रो गोठालो आएको खण्डमा आफू घर फर्किने योजना सुनाए । उनले आफ्नो परिवार सबै विदेश भए पनि आफू चौंरीको स्याहारसुसारमा लागेको बताए। हरेक वर्षको साउन र फागुनमा चौंरीगाईको खुन खाने मेला लाग्ने गर्दछ ।

Leave a Reply