धौलागिरिको पहिलो विद्युतिय संचार माध्यम धौलागिरि एफएम ९८.६ मेगाहर्ज २० वर्ष पुरा गरि २१ औं वर्षमा प्रवेश गरेको छ ।

२०६१ साल कार्तिक २७ गते साविक धौलागिरि अञ्चलमा नै पहिलोपटक स्थापना भएको एफएम बिभिन्न आरोह–अवरोह पार गर्दै २० वर्ष पुरा गरि २१ औं वर्षमा प्रवेश गरेको हो ।

एफएमले २० औँ स्थापना दिवस एफएमको स्टुडियोमै प्रत्यक्ष रुपमा मुल समारोह र शुभकामना आदानप्रदान एवम् सुझाव सल्लाह संकलन गरि मनाएको छ ।

बिहान एफएम स्टुडियोबाटै मुल समारोह र दिउँसो स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख, बिज्ञापनदाता र स्रोतासंग शुभकामना आदानप्रदानसहित सुझाव सल्लाह संकलन गरेर दिवस मनाइएको स्टेशन प्रमुख उमाकान्त शर्माले जानकारी दिए ।

मुल समारोहमा बोल्दै बागलुङ नगरपालिकाका कार्यवहाक नगरप्रमुख राजु खड्काले समय सापेक्षा संचार माध्यम परिवर्तन हुनुपर्नेमा जोड दिए । खड्काले संचार माध्यम समाजको ऐना भएकाले पनि समाजको यथार्थ गतिविधीलाई छर्लङ पार्नुपर्ने बताए ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले समाज परिवर्तनको अग्रणी भुमिकामा रहेको संचार माध्यमको सवलीकरणका लागि आम सरोकारवालाले ध्यान दिनुपर्ने बताए । समाजमा लुकेर रहेका विषयवस्तुलाई तथ्यपरक रुपमा प्रस्तुत गर्नु नै सञ्चार माध्यमको धर्म भएको उनको भनाई थियो ।

यसैगरी नेपाल पत्रकार महासंघ तथा उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले पछिल्लो समय बिभिन्न कारणले संचार माध्यम बन्द हुने अवस्था र संचार माध्यममा कार्यरत पत्रकार एवम् संचारकर्मीहरु पलायन हुने अवस्थालाई चिन्तन मनन् गर्नुपर्ने बताए ।

सो अवसरमा प्रत्येक वर्ष कर्मचारीबाट गरिने सम्मान यसवर्ष प्राविधिक तथा प्रस्तोता लक्ष्मी परियारलाई गरिएको थियो । कार्यक्रम एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, स्टेशन प्रमुख उमाकान्त शर्माको स्वागत र सम्पादक ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply