हरिबोधिनी एकादशीको अबसरमा बागलुङ नगरपालिका वडा नं. ४ स्थित निरयघाटमा ३० वर्षपछि सामुहिक तोरण तारिएको छ । २०५१ पछि रोकिएको एकादशी मेला समेत संचालन भएको छ ।

मेलामा भजनकृतन, पञ्चेबाजा लगायत धार्मिक समूहले पनि आफ्नो परम्परा अनुसार सहभागि भएका थिए । कालीगण्डकी नदी किनारको निरयघाटमा परापूर्वकालदेखि एकादशी मेला लाग्ने र तोरण तार्ने गरिएकोमा सशष्त्र द्वन्द्वपछि प्रशासनले रोक लगाएकोले यो पर्व रोकिएको थियो । यहाँको राधाकृष्ण मन्दिर सेवा समितिले सामुहिक रुपमा तोरण तार्ने र मेला व्यवस्थापन गर्ने काम गरेको हो ।

यहाँको उपगौरी महिला समूहले १ सय ५० मीटर लामो तोरण बाटेको थियो भने पूजा र व्यवस्थापन मन्दिर व्यवस्थापन समितिले गरेको थियो । यहाँ स्थानीयले तयार पारेको १६ लाख दिप प्रज्वलन पनि गरिएको समितिका अध्यक्ष रमेश राजभण्डारीले बताए । उक्त अबसरमा नेपाली सेना, सशष्त्र र नेपाल प्रहरीले तोरण तार्ने कामदेखि अन्य कार्यमा पनि साथ दिएका थिए । एकादशी नुहाउन पनि कालीगण्डकी नदीमा सयौं मानिस पुगेका थिए ।

मेलालाई अबदेखि निरन्तरता दिने गरी प्रशासन र स्थानीयले सहमति गरेका छन् । ‘ऐतिहासिक महत्वका पर्वलाई जीवन दिनुपर्छ भनेर पहल गरेका छौं’ राजभण्डारीले भने, ‘सबैको साथ र सहयोग भएमा मेलाले जीवन पाउनेछ ।’ अब भने हरेक वर्ष फूलको डोली र तोरण तार्ने, भजन र पञ्चेबाजा लगायतका साँस्कृतिक नृत्य र झाँकी समेत प्रर्दशन गर्ने व्यवस्थापन गरिएको हो ।

हिन्दुधर्ममा हरिबोधिनी एकादशीको ठूलो महत्व छ । यो दिन गंगा स्नान गरेर भगवान बिष्णुको अबतारको रुपमा तुलसीको पूजा समेत गरिन्छ । तुलसीको मठ सिगारेर राखिन्छ । तोरण तार्दा मानिसहरुले जानीनजानी गरेको पापबाट तर्ने विश्वास पनि गरिन्छ । एकादशीकै अबसरमा कालीगण्डकीको मालढुंगा, जैमिनी धाम र बेलबगरमा पनि तोरण तारिएको थियो ।

Leave a Reply