बागलुङ/सोमबार बिहान बागलुङको जैमिनी नगरपालिका वडा नं. ८ को केवैदेखि सदरमुकाम आउने जिप दुर्घटना भयो । दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने एक जना घाइते छन् ।

दुर्घटनाका घाइते गंगाबहादुर पुनले खबर गरेपछि मात्र स्थानीय र प्रहरीले दुर्घटनाबारे जानकारी पाएका थिए । काम विशेषले सदरमुकाम हिंडेका गंगाबहादुर श्रीष मात्रै घटनामा जिवित रहेका छन् । उक्त घटनामा गंगाबहादुरका ७५ वर्षिय बाबु कुलप्रसाद श्रीष, ३८ वर्षिय चालक महेन्द्र पुन, उनकै छिमेकी २० वर्षकी रश्मी श्रीष, ५० वर्षकी नन्दकली पुन र १७ वर्षका निरज श्रीषको पनि मृत्यु भएको हो ।

बिहान अन्जादी ८ बजे हिंडेको जिप आधा घण्टा नबित्दै दुर्घटनामा परेको थियो । ग २ च ९२४७ नम्बरको जिपमा सवार गंगाबहादुर घरबाट निस्केकोे छिमेकी ममबहादुरले देखेका थिए । लहै निस्कें भनेर हिंडेको ३० मीनेट नपुग्दै ममबहादुरको मोबाइलमा गंगाबहादुरकै फोनको घण्टी बज्यो । ममबहादुरले बोल्न नपाउँदै गंगाबहादुरको आवाज आयो, ‘हामी ढुंगाखानीमा दुर्घटनामा प¥यौं, स्टेचर लिएर आउ ।’ उक्त फोनको आवाजले ममबहादुर झस्के ।

फोनमै बोलाएकोले सामान्य घाइते होलान भन्दै गाउँका ४ जना दौडेर घटनास्थल पुगे । घटनास्थल पुग्दा गंगाबहादुर रगताम्मे भएर कराइरहेका थिए । उनलाई तत्काल उद्दार गरेर उपचारका लागि लैजाने तयारी गरे । गाडी सडकदेखि ५ सय मीटर तल खसेको थियो । जिपको आसपासमा अरु सबैको शव देखिए । गंगाबहादुरकै बाबु कुलप्रसादको पनि शव देखियो।

उद्दारकर्ताले घाइतेलाई बचाउन पहिलो प्रयास गरे । छिस्ती प्रहरी चौकी र नगरपालिकामा पनि खबर गरे । प्रहरी चौकीका जवानहरुले बेलबगरका स्थानीयलाई पनि फोन गरेर बोलाए । स्थानीय तमसम राना सहितको टोली घटनास्थल पुग्दा बिहानको पौने १० बजिसकेको थियो । स्थानीयकै सहयोगमा जैमिनी नगरपालिकाको एम्बुलेन्समा राखेर गंगाबहादुरलाई उपचारका लागि सदरमुकाम पठाइयो ।

घटनास्थलमा ५ जनाको मृत्यु भैसकेको खबरले जिल्ला प्रहरीबाट पनि प्रहरी निरीक्षक केशव थापाको नेतृत्वमा टोली उद्दारका लागि खटियो । मृतकको शव भने प्रहरीले संकलन गरेर पोष्टमार्टमका लागि पठायो । प्रहरीका अनुसार गाडीमा स्टेरिङ फेल भएकै कारण दुर्घटना भएको अनुमान छ । घटनाबारे थप अनुसन्धान पनि भैरहेको थापाले जानकारी दिए ।
बाटोमा आउँदा पनि गंगाबहादुरको भने होस गुमेन । जसका कारण दुर्घटनाको कारण थाहा पाउन सहज भयो भन्छन् ममबहादुर श्रीष । स्टेरिङले काम नगरेपछि जिप भीरमा खसेको अनुमान पुनले गरेका छन् । पुनको धौलागिरि अस्पतालमा उपचार भैरहेको छ ।

यो घटनाले जैमिनी ८ को केवै गाउँ शोकमग्न भएको छ । साताभित्रै बागलुङमा भएका तीनवटा घटनामा ६ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । Dhorpatandaily.com

Leave a Reply