म्याग्दीको मालिका गाउँपालिका-७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा ६३ लाखभन्दा बढी आर्थिक संकलन भएको छ ।

अक्षय कोषको घोषणा भएको करिब एक महिनाको अवधिमा गाउँ सहित नेपालभित्र ३३ लाख ९२ हजार र विदेशमा २९ लाख ५० हजार गरी ६३ लाख ४२ हजार संकलन भएको अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जालीले बताउनुभयो ।

‘दैनिकजसो स्वतस्फूर्त रुपमा सहयोग आइरहेको छ, संसारभरी रहेका बिमबासीबाट सहयोग जुटाइरहेका छौ’ विदेश विभाग प्रमुख जुग्जालीले भन्नुभयो ।

उहाँका अनुसार अक्षषकोषका बारेमा जानकारी पाएपछि मंगलबार गोर्खा कर्नर रेष्टुरेन्टका सञ्चालक तनँहु जिल्ला घर भएका एकबहादुर आलेमगरले १५० पाउण्ड अर्थात नेपाली २५ हजार ७ सय हजार सहयोग गर्नुभएको छ ।

अक्षयकोषका लागि विदेशमा रहेका बिमबासीले अभियान नै सञ्चालन गरेपछि छोटो समयमा अपेक्षा गरे अनु्सार आर्थिक संकलन भएको किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले बताउनुभयो ।

‘यो सक्रियता विमबासीको एकताको नमुना पनि हो,आफ्नो गाउँको प्राविधिक शिक्षालयमा स्थापना हुने अक्षयकोषका लागि मन खोलेर सहयोग भइरहेको छ’ प्राचार्य गर्बुजाले भन्नुभयो ।

अक्षयकोष स्थापनाका लागि गाउँमा खेलिएको देउसीभैलोमा ३३ लाखको हाराहारीमा संकलन भएको थियो । देशका विभिन्न जिल्लाबाट कृषि र भेटेरनरी शिक्षा लिनका लागि यहाँ आउनुहुनेगरिब,विपन्न र जेहेनदार विद्यार्थीहरुको सहयोगका लागि दुई करोडका किसानी सञ्जीवनी अक्षयकोष स्थापनाको अभियान सञ्चालन भइरहेको छ । यो अभियानमा आफ्नो क्षमता अनुसार सहयोग गर्न समेत विद्यालयले अपिल गरेको छ ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ । बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका छन् ।

कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । देशका विभिन्न जिल्लामा सञ्चालन खर्च समेत जुटाउन नसकिरहेको कृषि प्राविधिक शिक्षालयका बिच पश्चिम म्याग्दीमा रहेका किसानी कृषि प्राविधिक शिक्षालयमा भने देशभरबाट पढ्न आउने र रोजगारीका लागि समेत धमाधम सिफारिस भइरहेका छन् ।

कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरु उत्पादन गरी बजारमा लगेर बिक्री समेत गर्ने गरिएको छ।

कृषि प्राविधिक शिक्षालयको स्थापना भएपछि बिम गाउँ समेत नेपालभित्र चर्चामा छ । यहाँ विद्यार्थी र शिक्षकहरुकै प्रयासमा उत्पादन भएको बस्तु बिक्री गरी विद्यार्थीले आफ्नो खर्च चलाउने गरेका छन् ।

Leave a Reply