डेंगुको कारण ज्यान गुमाउनुभएकी गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनको आगामी मंसिर १ गते (शनिबार) अन्त्येष्टी हुने भएको छ । नेपाली कांग्रेस म्याग्दीका सचिव हिरा पुनले मंसिर १ गते  बेनी दोभानमा अन्तेष्टी गर्ने तयारी भइरहेको बताउनुभयो ।

शुक्रबार दिउँसो ४ बजेदेखि ६ बजेसम्म काठमाण्डौको बनस्थलीमा रहेको थकाली समाजमा श्रद्धाञ्जली सभा, शनिबार विहान ६ देखि ९ बजेसम्म गण्डकी प्रदेशसभामा र सोही दिन बेनीमा अन्तेष्टी गरिने सचिव पुनको भनाई छ ।

गौचनको उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा बुधबार राती गौचनको निधन भएको थियो । डेंगु लागेर काठमाडौंस्थित घरमै आराम गरिरहेका बेला केही असहजता भएपछि बुधवार राती अस्पताल पुराइएकोमा हृदयघात भएको चिकित्सकको भनाई छ । स्वर्गीय गौचन २०७९ को निर्वाचनमा समानुपातिक उम्मेदवार बनेकी उनी कांग्रेसबाट प्रदेश सांसद बन्नुभएको थियो ।

म्याग्दीको बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी ६३ वर्षीया गौचनको २०१८ मंसिर १८ मा मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङमा जन्म भएको थियो । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघ म्याग्दीको पूर्व सभापति समेत हुनुहुन्थ्यो ।

एक छोरा र एक छोरी छन् । गौचनका श्रीमान् राम गौचनको २०६४ मा निधन भएको थियो ।होटल तथा रेष्टुराँ व्यवसायी संघ म्याग्दीकी पूर्व अध्यक्ष गौचनको सदरमुकाम बेनीमा ३० वर्षदेखि यति होटल संचालनमा छ । सधै हँसिलो मुहार, निर्धक्कसाथ बोल्ने, केही गर्नुपर्छ भन्ने हुट्हुटी भएकी र मेहनत गर्नुपर्छ भन्ने भावना गौचनमा थियो ।

‘सिंगो म्याग्दी जिल्लालाई नै अपुरणीय क्षती भएको छ, पार्टीले एक उर्जाशिल नेता गुमाएको छ‘ प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले भन्नुभयो । यही भदौ २ र ३ गते मुस्ताङकै दामोदर कुण्ड पुगेका बेला लेक लागेर बिरामी भएपछि नेपाली सेनाले उनको उद्धार गरेको थियो ।

Leave a Reply