म्याग्दीको बेनी नगरपालिका-६, अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण भएको छ । शुक्रवार विद्यालयमा एक समारोहको आयोजना गरी हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

विद्यालयमा स्थापित उक्त कोषबाट बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत ५५ जना जेहेन्दार, गरिब तथा विपन्न समुदायका विद्यार्थीहरुलाई छात्रवृत्तिस्वरुप पोशाक, स्टेशनरी, न्यानो कपडा र जुत्ता वितरण गरिएको विद्यालयले जनाएको छ । उक्त सामग्रीहरु स्व. हिराबहादुर बानियाँको ससुराबुबा लालबहादुर हमाल, छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीबाट पनि विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीहरुलाई न्यानो कपडा, पोशाक र स्टेशनरी वितरण गरिएको छ । कार्यक्रममा स्व. बानियाँको परिवारबाट स्मृति छात्रवृत्ति कोषमा तीनलाख रुपैयाँ थप गरी आठलाख पु¥याइएको छ ।

गतवर्ष पाँचलाख रुपैयाँको अक्षयकोष विद्यालयमा स्थापना गरेर अक्षयकोषको सुरुवात गरिएको थियो । कोषमा रकम वृद्धि गरेर २५ लाख रुपैयाँसम्म पु¥याउने लक्ष्य अनुसार शुक्रबार नै थप ३ लाख हस्तान्तरण गरिएको कोषका संस्थापक किरण बानियाँले जानकारी दिनुभयो ।सरकारी जागिरबाट सेवानिवृत्त हिराबहादुर बानियाँको गतवर्ष निधन भएको थियो ।

कार्यक्रममा बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, प्रकाश माध्यमिक विद्यालय बेनीका प्रधानाध्यापक लेखबहादुर हमाल र स्व. हिराबहादुर बानियाँको छोरा प्रकाश बानियाँले मन्तव्य व्यक्त गर्दै हिराबहादुर बानियाँले शैक्षिक तथा सामाजिक क्षेत्रसहित विभिन्न क्षेत्रमा खेलेको भूमिकासँगै उहाँको बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीको अध्यक्षता, प्रअ सोमनाथ ढुङ्गानाको स्वागत र शिक्षक टेकबहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो । विद्यालयमा स्थापित कोषबाट वितरित छात्रवृत्तिले विद्यार्थीहरुको अध्ययनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply