म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुंगा सडक स्तरोन्नतिका लागि दैनिक ६ घण्टा बन्द हुने भएको छ। निर्माणधिन बेनी–जोमसोम सडक स्तरोन्नतिका लागि भन्दै आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो ।

पर्वतका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलको अध्यक्षतामा पर्वत र म्याग्दीका सम्वन्धित स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि एवं सरोकारवाला निकाय सम्मिलित आइतबार पर्वतको कुश्मा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

‘रोकिएको कामलाई गति दिन हामीले सम्बन्धित निकायलाई समेत निरन्तर निर्देशन दिइरहेका छौ, सडक बन्द मात्रै होइन परिणाम देखिने गरी कामको समेत अनुगमन हुन्छ’ प्रजिअ ढकालले भन्नु्भयो ।

सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेका थिए।

बेस प्रिपेमेन्ट मा प्राईम कोर्ड स्प्रे गर्ने र सडकको चेनेजमा पत्थरलाई फोर्ने लगायतका निर्माणकार्यमा समन्वय र सहजीकरणका उल्लेख समयसम्म सडक आवागमनमा टाईमकार्ड लागु गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

कुश्मा नगरपालिका-१ मालढुंगादेखि जलजला गाउँपालिका ८,७,४ र ३ वडा हुँदै म्याग्दीको बेनी जोड्ने १३ किमी दुरीमा २ लेनको कालापेत्र सडक स्तरोन्नतिकार्य भईरहेको छ ।

उक्त सडक बन्दको समयमा मालढुंगा,बागलुङबाट रत्नेचौर हुदै बेनीको सडक प्रयोग गर्न सकिन्छ । ठेकेदारको ढिलासुस्ती र आयोजना पक्ष निरिह हुदाँ २०७७ साल चैत्र महिनामा ५२ करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको ठेक्का अहिलेसम्म पूरा हुन सकेको छैन । सडक निर्माणका लागि भन्दै यसअगाडी समेत पटकपटक सडक नै बन्द गर्ने गरिएको थियो ।

Leave a Reply