म्याग्दीको बेनी नगरपालिका–९ घतानका बासिन्दाले स्तरोन्नति भएका सडकमा सार्वजनिक यातायातको भाडादर समायोजन गर्न माग गरेका छन् । बेनी नगरपालिकाले नेप्टेचौरमा आयोजना गरेको चालु आर्थिक वर्षको प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयबासीले सडक स्तरोन्नति भएपनि गाडीभाडा समायोजन नहुँदा मर्कामा परेको गुनासो गरेका थिए।
घतानका राजु परियार र डेकबहादुर चोखालले बेनी–पाखापानी सडकको घतानको सिमानासम्म कालोपत्र र ढलान भएपनि बेनी आउन जान पुरानै रु. दुई सयका दरले भाडा तिर्नुपरेको गुनासो गर्नुभयो ।
कार्यक्रममा सहभागी स्थानीयबासीहरुले योजना निर्माणलाई गुणस्तरीय बनाउन, बस्ती स्तरका सडक स्तरोन्नतिमा प्राथमिकता दिन, योजना छनौट र कार्यान्वयनमा जनसहभागिता बढाउन, आन्तरिक आम्दानीको स्रोत पहिचान गर्न, जोखिमयुक्त विद्युतको तार हटाएर विद्युत आपुर्ति गुणस्तरीय नियमित बनाउन, पशुपालक कृषकका कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
उनिहरुले खेतीयोग्य जमिन बाँझिन, गाउँघर रित्तिन र झाडीको तप्क्यानले खेतीबालीमा असर पुगेको गुनासो गरेका छन् । कार्यक्रममा बेलबहादुर चोखाल, बिपिन चोखाल, गोरी दर्जी, रेशम राई, चक्रपाणी सुवेदी, मोहन चोखाल, बिजय चोखाल, वुद्धीबहादुर चोखालले पनि सुझाव, गुनासो र जिक्षाशा राख्नु भएको थियो ।
नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडा अध्यक्ष चक्र केसी, पूर्वाधार शाखाका प्रमुख ईञ्जिनियर सुदिप गौतम, पशु सेवा शाखाका प्रमुख डा. आशिष सापकोटाले प्रश्न गर्नुभएको थियो ।
नगर प्रमुख केसीले सडक स्तरोन्नतिसँगै भाडादर समायोजनका लागि प्रशासन कार्यालयसँग समन्वय गरेको, बेनी–पाखापानी सडकको घतान खण्डको स्तरोन्नतिको काम प्राथमिकताका साथ भइरहेको, पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान दिने गरेको, नयाँ मार्ग नखोल्ने र पुराना सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको, सिकाई उपलब्ध बृद्धिका लागि कक्षा ८ को परिक्षा सञ्चालनमा नयाँ अभ्यास गर्न लागेको बताउनुभयो । बिजुलीको नाङ्गो तार हटाएर एबिसी केबुल राख्न प्राथमिकता दिएको बताउनुभयो ।
विद्युतको जोखिमयुक्त तार र पोलको अवस्थाका जानकारी गराउन आग्रह गर्दै त्यसलाई परिवर्तनको काम तत्काल गरिने बताउनुभयो । अटो रिक्सा थप गर्न र रुट परमिटको दुरी बढाउने तयारी गरेको बताउनुभयो ।
नगर उपप्रमुख ज्योती लामिछानेले आयआर्यजनमा जोडेर गाउँमै बस्ने वातावरण बनाउन जोड दिएको, योजनाहरुको गुणस्तरीय अनुगमनका लागि विगतका वर्षमा अन्य कार्यालयबाट उपकरण लिने गरिएकोमा यसपाली नगरपालिका आफैले ब्यवस्था गर्न लागेको, सामाजिक शसक्तिकरणको क्षेत्रमा पनि काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले चालु आर्थिक वर्षमा रु. ९३ लाख १० हजार ९८ बिनियोजन गरेकोमा चालुतर्फ २२.५ र पुँजिगत तर्फ २.२९ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । ठूला आयोजनाहरुको ठेक्का सम्झौता भएपछि पुजिगत खर्चको दर बढ्ने उहाँले बताउनुभयो । नगरपालिकाले आर्थिक वर्षको पहिलो चौमासिकसम्म रु. ८० लाख २७ हजार १८ राजस्व संकलन गरेको जनाएको छ ।
यस वर्ष नगरपालिकाले दुई सय ७१ वटा योजनाहरु कार्यान्वयन गर्न बजेट बिनियोजन भएकोमा हालसम्म १७ वटाको भुक्तानी, ४७ वटाको सम्झौता भएको बताउनुभयो ।
नगर उपप्रमुख ज्योती लामिछानेको अध्यक्षता, बेनपा ९ का वडा अध्यक्ष चक्र केसीको स्वागत र बरिष्ठ प्रशासकीय अधिकृत युवराज थापाको सञ्चालनमा सम्पन्न सार्वजनिक सुनुवाईको सहजिकरण पत्रकार सन्तोष गौतम र अमृत बास्कुनेले गर्नुभएको थियो ।