म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दाना तितीरका ७५ बर्षिय टेकबहादुर पूर्जाले गुमेको ज्योति फेरि पाउँदा पहिलो पटक छोरा नरबहादुर पूर्जालाई हेर्ने रहर पनि पुरा भयो । बाल्यकालमै देब्रे आँखा बन्द भएबको बृद्ध पूर्जाको १० बर्ष अगाडी दाहिने आँखा पनि बन्द हुदाँ कष्टपूर्ण जीवन विताइरहेका थिए ।

आँखाको दृष्टि गुमेपछि ओछ्यानदेखि शौचालयसम्म पुग्दा साहारा चाहिन्थ्यो। एकदशकसम्म एक ठाउँबाट अर्को ठाउँमा सर्नका लागि परिवारका अन्य सदस्यको सहयोग लिनुपर्ने अवस्था थियो ।

दुबै आँखा पूर्णरुपमा बन्द भएपछि बृद्ध टेकबहादुर धेरैपटक घरआगनमै ढले पनि । गाउँमा रहेको ज्ञानप्रकाश माविमा आयोजित दुई दिने आँखा शिविरको सूचना छोरा नरबहादुरले सुनाएपछि सवारीसाधनमा विद्यालयको प्रवेशद्धारसम्म पुगेका टेकबहादुरलाई बोकेर उपचारस्थलसम्म पुर्याइएको थियो ।

प्रवासमा बसोबास गर्ने दानाबासीको साझा संस्था फ्रेन्डली ब्रदर दाना सेरोफेरोले आयोजनामा शुक्रबार र शनिबार सञ्चालित शिविरमा टेकबहादुरले दाहिने आँखाको ज्योति फेरि फर्केपछि दंग छन् ।

‘१० वर्षदेखि आँखा नदेख्दा संसार नै अँध्यारो लागेको थियो।अब घरायसी काम पनि गर्न सक्छु’ टेकबहादुरले भने।उनले आँखा बन्द हुदाँ जिउँदो लास जस्तै भएको बताउँदै आँखा खुलेपछि आफ्नै खुट्टाले हिडेर सवारीसाधनसम्म पुगेको बताए । कृष्ण नेत्रालय प्रालि भैरहबाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा दृष्टि फर्केपछि बृद्धबृद्धाले खुशी एकअर्कामा साटिरहेका थिए।

श्री कृष्ण नेत्रालय प्रालि भैरहबाको प्राविधिक सहयोगमा अन्नपूर्ण गाउँपालिभित्रका विभिन्न बस्ती र बाहिरी जिल्लाबाट मजदुरी गर्न आएका मजदुर सहित ५ सय जनाको आँखाको उपचार भएकोमा ३४ बिरामीको निःशुल्क शल्यक्रिया र दुई बिरामीको आँखामा पलाएको मासु निकाल्न आर्थिक सहयोग गरिएको ज्ञानप्रकाश मावि दानाका उच्च मावि संयोजक बाबुराम पौडेलले बताए ।

गरिब, विपन्न, एकल, असहाय तथा दैनिक मजदुरी गर्नेहरूको उपचारमा सामान्य खर्च नहुदाँ समेत यूवापुस्तादेखि बुढ्यौलीका कारण आँखाको समस्या पालेर बसेकाहरूको सेवा गर्न पाउँदा निकै खुसी लागेको फ्रेन्डली ब्रदर दाना सेरोफेरो यूकेका निर्वतमान अध्यक्ष बलबहादुर पुर्जाले बताए । उनले प्रवासमा बसेर शिक्षा, स्वास्थ्य, बिकास निर्माण सहित विभिन्न क्षेत्रमा निरन्तर सक्रिय रहेको संस्थामार्फत विपन्नको उपचारलाई प्राथमिकता दिने बताए ।

शिविरमा श्रीकृष्ण नेत्रालय प्रालिकी डा.सल्मा केसी, विद्यालयकै पूर्व विद्यार्थी यूकेका बसोबास गर्ने डा.सुमिन्द्रा पुन सहितको टोलीले सचेतनामुलक जानकारी सहित विशेषज्ञ सेवा प्रवाह गरेका थिए । शिविरलाई वडा कार्यालय, ज्ञानप्रकाश मावि, दाना स्वास्थ्य चौकी, स्थानीय आमा समुह, युवा क्लव लगायतका संघ संस्थाले समेत सहयोग गरेका थिए

Leave a Reply