---Advertisement---

‘तिमीलाई मन पराउँछु, सिंगापुर लैजान्छु’ भन्दै २७ लाख ठगी गर्ने पक्राउ

On: November 18, 2024 6:57 PM
Follow Us:

नक्कली फेसबुक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–७ बस्ने ४१ वर्षीय रुद्रबहादुर गुरुङ रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

गुरुङले नक्कली फेसबुक र अन्य सामाजिक सञ्जाल एकाउन्ट प्रयोग गरी युवतीहरूलाई प्रलोभनमा पारी ठगी गरेको खुल्न आएको छ। आफूलाई ‘फ्रान्स र सिंगापुरका लाहुरे’ भनेर चिनाउँदै उनले ‘तिमीलाई मन पराउँछु, विवाह गरेर सिंगापुर लैजान्छु’ जस्ता प्रलोभन देखाएका थिए।

यसका लागि कागजात बनाउन पैसा लाग्छ भन्दै उनले काठमाडौं र चितवनका विभिन्न स्थानमा आफ्नो हुलिया परिवर्तन गरेर भेट्न बोलाई करिब २७ लाख ८३ हजार २ सय रुपैयाँ ठगी गरेको अनुसन्धानमा पाइएको छ।गुरुङलाई ठगीसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।