---Advertisement---

कोरला नाकामा खोलिएको अध्यागमन कार्यालय उद्घाटनकै भोलिपल्टबाट बन्द

On: November 18, 2024 7:21 PM
Follow Us:

आबश्यक तयारी बिनानै उद्घाटन गरिएको मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला अध्यागमन कार्यालय उद्घाटनको भोलिपल्ट देखिनै बन्द भएको छ ।

कात्तिक १४ गते बिहान गृहमन्त्री रमेश लेखक नेतृत्वको टोली त्यहाँ पुगेर तामझामसहित अध्यागमन कार्यालय उद्घाटन गरेका थिए । तर आवश्यक पूर्वाधार र व्यवस्थापन नहुँदा उद्घाटनको भोलिपल्टदेखि नै सो कार्यालय बन्द भएको हो ।
उद्घाटनको अर्कोदिन देखि तिहार बिदा परेको थियो । तिहारपछि अहिलेसम्म कार्यालय खुलेको छैन । अध्यागमन कार्यालयमा खटाइएका कर्मचारी चिसो बढेकोले अब बैशाखबाट कार्यालय खोल्ने भन्दै घर फर्केका छन् ।

‘अहिले कोरलास्थित नेपाली भन्सार कार्यालय बन्द छ । मन्त्रीले उद्घाटन गरी हेलिकोप्टरमा फर्केपछि कर्मचारी पनि कार्यालयको ढोकामा चाबी लगाएर अब वैशाखमा फर्किन्छौं भन्दै घर हिँडेका हुन्,’ उपल्लो मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोप्पेल विष्टले ढोरपाटनसंग भने, ‘उता (चिनियाँ) भन्सार कहिल्यै बन्द हुँदैन, यता जाडो र गर्मीको निहुँमा आधा समय खुल्दैन ।’

समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाईमा रहेको कोरला नाकास्थित अध्यागमन कार्यालयमा सरकारले १ जना अध्यागमन अधिकृत, २ बरिष्ठ अध्यागमन सहायक, १ सहायक लेखापाल, २ सहायक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीसहित ८ जनाको दरबन्दी कायम गरी कर्मचारी खटाएको थियो ।

कोरलास्थित अध्यागमन कार्यालय मात्र होइन नाकादेखि १२ किलोमिटर तल नेचुङमा सशस्त्र प्रहरीको वीओपीसँगै रहेको भन्सार कार्यालय पनि अहिले बन्द छ । कोरला नाकास्थित नेपाली अध्यागमन र भन्सार कार्यालय बन्द गरिए पनि चिनियाँ अध्यागमन कार्यालय खुला रहेकोले नेपाली ब्यापारी सीमापारि तिब्बत पुगेर दैनिक उपभोग्य र व्यापारिक सामान ल्याउने गरेका छन् ।

कोरोला नाका व्यवसायिक रुपमा खुल्ला भएसँगै उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिकाका बासिन्दाले परिचय पत्रका आधारमा तिब्बत तर्फ ३० किलोमिटर परसम्मका बजारमा आउजाउ गर्न पाइने व्यवस्था अनुसार सीमापारि गएर सामान ल्याउने गरेका हुन् ।

चीनले कोरला नाका औपचारिक खुल्ला भएको अवसरमा वार्षिकोत्सव मनाएको छ । कात्तिक २८ गते मुस्ताङस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र जनप्रतिनिधिहरुलाई तिब्बतको झोम्बा काउन्ट्रीमा आमन्त्रण गरी उत्सव मनाएको थियो ।

गत वर्ष कात्तिक २८ गते कोरोला नाकाको चीनको सिगात्से प्रान्तको झोम्बा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र नेपालको गण्डकी प्रदेश अर्न्तगत मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उद्घाटन गरेका थिए ।

गण्डकी प्रदेशमा पर्ने नवलपुर गैंडाकोटबाट ४ सय ३५ किमी लामो कालीगण्डकी करिडोर कोरला नाकामा पुगेपछि तिब्बतको झोङ्वा काउन्ट्री हुँदै २० किमीपर सिगात्सेबाट आएको ‘चाईना नेसनल हाईवे २१९’ सँग जोडिन्छ । मुस्ताङ चीनको स्वसाशित तिब्बतसँग १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अर्न्तरष्ट्रिय सीमा जोडिएको छ ।

कोरोला नाकामा चिनियाँ अध्यागमनको आमने–सामने हुने गरी भन्सार प्रयोजनका पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि पूर्वाधार भने बनेका छैनन ।

नेपाल र चीनलाई सडक सम्पर्कले जोड्ने केरुङ र तातोपानी नाकापछि कोरोला तेस्रो नाका हो । नेपाल–चीन बीच सात वटा द्विदेशीय व्यापारिक नाका (ताप्लेजुङको अलाङचुङगोला, संखुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, गोर्खाको लार्के, हुम्लाको यारी र मुगु) पनि छिट्टै खोल्ने सहमति छ । dhorpatandaily.com