म्याग्दीको दोस्रो ब्यापारिक केन्द्र दरबाङबाट म्याग्दी यातायात ब्यवसायी प्रालिद्धारा ३५ सिटे एसी सोफा सेट सहितको सेवा शुभारम्भ गरेको छ । पश्चिम म्याग्दीका यात्रुलाई लक्षित गरी म्याग्दी मालिका कम्पनीले सोमबारदेखि यात्रुहरुको सुविधालाई ध्यानमा राखेर साँझ साढे ४ बजे दरबाङबाट पहिलो सेवा सुरू गरेको हो।
पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरी गाउँपालिका तथा बागलुङ जिल्लाबाट काठमाण्डौसम्म यात्रा गर्न यात्रुलाई लक्षित गरी पहिलो चरणमा दरबाङ र काठमाण्डौबाट दुई वटा बसमार्फत सेवा सुरु गरिएको सञ्चालक बिजय थापाले बताए।
‘आरामदायी यात्राका लागि निरन्तर प्रतिबद्ध छौ, पहिलो दिन सबै सिट बुकिङ भएको थियो’ सञ्चालक थापाले भने । उनले पश्चिम म्याग्दीका विभिन्न बस्तीबाट काठमाण्डौसम्मको यात्राका लागि सदरमुकाम बेनी आउनुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै आगामी दिनमा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन यात्रुको सुझाव अनुसार थप सुविधा बढाउने बताए ।
बेनी–दरबाङ सडकखण्ड अन्तरगत विभिन्न स्थानमा मर्मतको आवश्यकता रहेकाले सम्बन्धित निकायलाई बस सेवालाई सहज हुने गरी सडक मर्मतका लागि समेत अनुरोध गरिएको छ ।
सडकखण्ड अन्तरगत दरबाङदेखि बेनीसम्मका रुटबाट यात्रा गर्ने यात्रुको भाडादर समेत तोकिएको छ । यात्रुको सुविधालाई ध्यानमा राखेर अत्याधुनिक सेवा सुविधा दिने गरी आगामी दिनमा बस संख्या समेत थप गरिने छ । दरबाङबाट काठमाण्डौसम्मको भाडादर १६ सय ५० रुपैयाँ कायम गरिएको छ ।