गुल्मीको धुर्काेट गाउँपालिका–६ रजस्थलका मेघनाथ अर्यालको परिवारले चार सय मुरी धान फलाएको छ । एउटै परिवारले यति धेरै धान फलाउने अर्याल परिवार जिल्लामै एक्लो हो ।

अहिलेसम्म तीन सय मुरी धान खेतबाट उठाइसकेको र अझै सय मुरी उठाउन बाँकी रहेको अर्यालले बताउनुभयो । उहाँले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गर्नुभएको हो । भाडामा लिएको जग्गाको वार्षिक प्रतिरोपनी तीन हजार रुपैयाँका दरले बुझाउँदै आएको अर्यालले बताउनुभयो ।

यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ गरेर बेच्ने उहाँको योजना छ । पहाडमा सधैँ तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना रहेको किसान अर्यालले सुनाउनुभयो । उहाँले धान खेतीका साथै व्यावसायिक भैँसीपालन पनि गर्नुभएको छ ।

धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एउटै किसानले यति धेरै परिमाणमा धान उत्पादन गर्नुले गरे के हुँदैन भनेर अरूलाई पनि राम्रो सन्देश दिएको बताउनुभयो । यस्ता किसानलाई प्रोत्साहनका लागि पालिकाले आवश्यक सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।

मेघनाथले मिल स्थापनाका लागि सहयोग पाए हुन्थ्यो भन्ने गरेको सुनेकाले यसमा लागत साझेदारी गर्न पालिका तयार रहेको मेयर पोखरेलले बताउनुभयो ।

गुल्मी जिल्लाभर यस वर्ष सात हजार हेक्टरमा बर्खे धान लगाइएकामा २१ हजार मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply