रेखाकौशल रेग्मी
म्याग्दीको बेनी प्राचीन बेलादेखि नै चाहे भोट–तिब्बत देखि नून या सुनैको पनि व्यापारका कारणले होस् चाहे उत्तराखण्डको पावन तीर्थ मुक्तिनाथ ,दामोदर कुन्ड दर्शनका अभिलाषाले आउने धर्मभिरूका कारण गुल्जार भैराख्ने थलो हो।
हिमालपारीका मुस्ताङ,डोल्पा लगायत ठाउँले पदयात्रा र पर्यटनमा चासो राख्ने अन्तर्राष्ट्रिय पर्यटकलाई समेत आकर्षित गर्न थालेदेखि बिक्रमको चालिसका दशक ताका गोराहरूको बेनी हुँदै मुस्ताङको ट्रेक बाक्लिन थाल्यो।
खच्चड र भेडाच्याग्रा घाटीमा घण्टी टङटङाउदै यहाँका धुलौटे घोडेटा र गोरेटाहरू छिचोलिरहेका केही कर्मचारीका सुब्बा हाकिम,केही छोटेबडे नेता,राजनीतिकर्मी,केही यतातिर विकासको लहर भित्राउन राज्यले छुट्याएका निर्माण योजनाको भारी सम्हालेका ठेकेदार साहेबहरू अनि केही ब्यापारी र गाउले महाजन या ठालुहरू घोडा सवारी हुँदै यात्रा गरिरहेका भेटिन्थे।
यही समयमा मुस्ताङको कोवाङ मूलथलोका जयप्रसाद र गङ्गा शेरचनका परिवार गर्मीमा मुस्ताङको खेतीपाती अनि हिउँदमा म्याग्दीको कालीपुल क्षेत्र बेनीमा बस्ने क्रम रह्यो ।
मुस्ताङको थकाली परिवारबाट भए पनि ब्यापारिक प्रयोजनले रहने;यताको सामाजिक पारिवारिक सम्वन्ध र सहयोगी व्यवहारका कारण कतै मितेरी अनि कतै छिमेकीका नातामा शुभचिन्तक र हितैषीहरूको संजाल फैलिन थाल्यो ।
शेरचन बुबा आमाका ७ जना दिदीबहिनी र १ जना दाइमध्येकी साहिली बिरान्ती भनिने बिमला नृत्य,गायन,खेलकुदलगायत अतिरिक्त क्रियाकलापसंगै पढाइमा पनि प्रतिभाशाली हुनाले बेनीको प्रकाश मा वि मा कक्षा ८,९ र १० पढुन्जेलमा समाजसेवी पिता जयप्रसाद शेरचनकी छोरीमात्रै भनेर नभई आफ्नो अलग बिशेष चिनारी बिरान्ती भन्ने व्यक्तित्व बनाइसकेकी थिइन् ।
वि.स.२०३७ सालमा एस एल सी परीक्षा सम्पन्न गरेलगत्तै मुस्ताङ कोवाङ्का राम गौचनसित मागी बिहेपछि उनीहरू दुवैले उतै थाक लज सञ्चालन गरे पनि बिमलाले आफू पढेको,हुर्केको बेनीबजारमा रही ब्यवसाय संचालन गर्न रहर गर्दा पत्नीको इच्छालाई कदर गरी राम गौचनसमेत पढाउने वृत्तिबाट छुट्टी लिई निर्माण व्यवसायीको कारोवारमा जोडिन्छन ।
छोरा रोशन र छोरी अनुषालाई उचित लालनपालनसंगै कालीपुल बेनीमा संचालित विदेशी पर्यटकलक्षित गौचन गेष्ट हाउसमार्फत पाहुनामा राम्रो प्रभाव बनाएका बिरान्ती र बिमलाले म्याग्दीको होटल ब्यवसायमा आधुनिक ब्यवस्थापन भित्राउन कोशेढुङगा जसरी वि स २०५१ सालदेखि न्यु रोड बेनीमा सुबिधासम्पन्न अत्याधुनिक संरचनासहितको होटेल यती सन्चालनमा ल्याएका हुन। पाहुनासत्कारको व्यवसायमा ठुलो लगानीसहित थालेको होटल फराकिलो भविष्यको योजना बनाएर अगाडि बढेको थियो ।
संरचनालाई स्तरीकरण गर्ने क्रममा चिप्स लगाइएको होटेलको मूलभवनमा मार्वलको संरचना फेर्ने पारिवारिक सल्लाहअनुसार काम भैरहेका बेला वि स २०६४ सालमा राम गौचनले आकस्मिक र अकल्पनीय दुर्घटना बेहोरेर ज्यान गुमाउनु भयो। पतिपत्नी मिलेर सफल पार्ने भविष्यका धेरै योजनाका भार थामेर बिमला गौचनको व्यवसायसंगै सामाजिक,राजनीतिक भूमिकामा अब्बल सकृयता जारी रहेको बेला २०८१ कार्तिक २८ मा असामयिक निधन भयो।
व्यवहारको व्यस्तता,शारीरिक अस्वस्थता,काम गर्दा खेप्नुपर्ने असहजता,आर्थिक या भौतिक लाभहानी लगायत केही पनि बहानामा जिम्मेवारीबाट नभाग्ने तर लागेको कामले टुंगोमा नपुगुन्जेल निरन्तर लागिपर्ने,सहकर्मीलाई पनि कामका लागि हौस्याउदै उत्प्रेरित गरिराख्ने कुशल नेतृत्वदायी संगठक खुबी बिमला गौचनको ब्यक्तित्वको अनुकरणीय पाटो हो। उच्च नैतिक ईमान र विश्वसनीय चरित्र पनि उहाँमा भरपुर थियोे ।
बिभिन्न किसिमका भौतिक ,मानसिक कठिनाइ बेहोरिरहेका किशोरी ,महिला ,युवा,ज्येष्ठ नागरिक सबैप्रति समताको ब्यवहार र कुशल परामर्शदाता,सहयोगी दातासमेत रहेर संकट टार्न सघाउने बिमला गौचनको उदार चरित्रबाट गुणी सज्जन या अवसरवादी सबैले पर्याप्त अनुकूल लाभ लिए। सहयोगका लागि पुग्ने सबैप्रति भएको,पुगेको र सकेको सहयोग गर्न पाउदा सन्तोष मान्ने स्वभाव भएकी बिमलाबिनाको बेनीबजार शायदै कल्पना गरिएको थियो ।
बेनीमा उहाँको अन्त्येष्टि हुँदा श्रद्धाञ्जली चढाएर ओसिला आखा र खिन्न मन पार्ने भीड उहाँको गुनिलो ब्यवहारलाई बिर्सिन नसक्नेहरूको ओइरो थियोे ।
गौचनले अगालेको राजनीतिक आस्था आवद्ध राजनीतिक दल नेपाली काङ्ग्रेसबाट पनि उहाँको चेतना,ब्यक्तित्व र समुदास्तरमा उहाँको पहुँच र सम्वन्धको महत्त्वलाई कदर गर्दै विगतमा प्रतिनिधि सभा ,रास्ट्रिय सभा सदस्यका रूपमा समानुपातिक उम्मेदवारको मौका दिएको थियोे भने यो पटक प्रदेशसभा सदस्यका लागि समानुपातिक कोटाबाट प्राप्त अवसरका कारण गौचनले सामाजिक सेवामा भूमिका र हैसियतसहित योगदान गर्ने अवसर पाउनुभएको थियोे ।
प्राप्त अवसर र जिम्मेवारी निष्ठापूर्वक पालना गर्दागर्दै विश्रान्त उहाको जीवनयात्राको अन्तिम विदाइ ओजिलो,मर्यादापूर्ण र सम्मानजनक गराउदै प्रदेशसभा ,उहाँको आवद्धता रहेको नेपाली काङ्ग्रेस म्याग्दी उहाँका पारिवारिक सामुदायिक संस्था थकाली सेवा समितिलगायतले संस्थागत औपचारिक रूपमा स्मरणीय कार्यक्रमसहित गरे भने सम्वद्धता रहेका अनेकन संघसंस्थाका औपचारिक ,अनौपचारिक अन्तिम श्रद्धाञ्जलीले उहाँको जीवनले भौतिक विश्राम लिए पनि सम्झनामा जीवन्त बनाइराख्ने छन।
महिला मानव अधिकार रक्षक संजाल म्याग्दी,एकल महिला तथा बालबालिका केन्द्र म्याग्दीको निवर्तमान अध्यक्षसमेत रहनुभएका बिमला गौचन गण्डकी प्रदेश सभाका माननीय साम्सद वहाल रहदै देहावसान हुनुभएको छ। जीवनकालमा छोटो समयमै उदाहरणीय सफलता हासिल गरेर सम्भवत सान्सारिक जगतबाट बिदाई हुनलाई पनि उहाँलाई यसरी हतारै भएछ ।
बाचुन्जेली उहाँको काम गराइको गतिमा तिव्र अनि शिघ्र परिणामको उत्साह र अपेक्षा हुन्थ्यो;उस्तै गरी हतारिएर अनि कतै भेटिदा या छुटिदा उहाँ जसरी झुलुक्क झुल्किएर सुटुक्क निस्किनुहुन्थ्यो ;यो पालि सन्सारैबाट बिदाइ हुनलाई रहेछ थाहै नदिई बिमारीका कारण अस्पताल पुगेर अनि सुटुक्कै अन्तिम प्राण बिसाएपछि सामाजिक सन्जालका दुखदायी खबर बनेर छाउनुभयो। धेरैचोटि संगै बसेर आसु बगाएका र खुशी बाडेका सम्झनाहरूमा मेरो पनि अन्तिम सास हुन्जेल सम्मानपूर्वक मुटुमा अटाउनुहुनेछ।
आदरणीय बिमला गौचनबिनाको यो बेनीका गल्ली अनि चोक चकमन्न छन् ,उहाँको कर्म र पौरखले सिगारेको यती होटेलको आगन,बगैंचा खिन्न र सुनसान छन् तर पनि सबैको सम्झनामा बिमला गौचन नयाँ युगको जीवन्त उदाहरण बनेर बाचिरहनुहुनेछ।भावपूर्ण श्रद्धाञ्जली ।
लेखक महिला अधिकारकर्मी एवम् म्याग्दी बहुमुखी क्याम्पसकी उपप्राध्यापक हुन् ।