नबिन जुग्जाली
“जिन्दगी एक साइकल जस्तै हो, यदि त्यसलाई सन्तुलित बनाएर अगाडि बढाउने हो भने पाइडल मारिरहनुपर्नेछ” अल्वर्ट आइन्स्टाइन ।

हर वखत हर व्यक्तिले आफूलाई व्यस्त स्फूर्त र गतिशील बनाउनुपर्छ । यसका साथसाथै आफ्नो दिमाखलाई चलाइ राख्नुपर्छ । अनि मात्र आफ्नो जिन्दगीलाई फाइदा लिन सकिन्छ भन्ने मान्यता राख्ने प्रगतिशील सोचका एक असाधारण नारी थिइन् विमला गौचन ।

जसले आफ्नो जिन्दगीलाई सन्तुलित बनाएर अगाडि बढाउन सानै उमेरदेखि आफूलाई संघर्षमा होमेकी थिइन् । हुने बिरुवाको बिरुवाको चिल्लो पात भनेझैं सानै उमेरदेखि नै ज्यादै चलाख बुद्धि भएकी गौचन मेहेनेती हुनुका साथै हाँसो ठट्यौली वाद सम्वाद गरेर जो कोहीलाई सम्मोहित बनाउनमा माहिर हुनुहुन्थ्यो ।

सँधै हँसिलो र उज्यालो चेहरामा देखिने गौचनको भाग्य पनि उज्यालो नै थियो । भाग्यले आफूलाई सुहाउँदो जीवन साथी जुराइदिएको थियो । यी सुहाउँदो जोडीको दाम्पत्य जीवन उज्ज्वल एवम् सुखद बनिरहेको थियो । तर बिडम्बना गौचनको दाम्पत्य सुखलाई भाग्यले चाँडै नै खोस्यो ।

आफ्नो हितैषी पति गुमाउनु प¥यो । यसरी एकल भएकी गौचनले त्यसपछिका जीवनमा पनि कहिल्यै हार मानिनन् । यसबाट थाहा हुन्छ बाहिर हार र जितको खेल चलिरहन्छ तर मनले भने कहिल्यै हार मान्नुहुँदैन भन्ने कुराको शिक्षा सहजै लिन सकिन्छ ।

लगनशील, धैर्यशील, कर्मशील बनेर जीवनभर संघर्ष र मेहेनत गरेकी गौचनले आफ्नो होटल व्यवसामार्फत् देश तथा विदेशमा आफूलाई अब्बल व्यवसायीको रुपमा चिनाउन सफल भएकी थिइन् ।

अर्कोतिर समाजका विभिन्न संघसंस्थाहरुमा आबद्ध भई सामाजिक सेवामार्फत् सबैका मनमनमा बस्न सफल गौचनको राजनीतिक यात्रामा पनि उत्तिकै अतुलनीय भूमिका र योगदान रहँदै आएको थियो । पार्टीभित्र व्यापक अन्तरसंघर्षको सामना गर्दै समानुपातिक तर्फबाट वि.सं. २०७९ सालमा गण्डकी प्रदेश सभा सदस्यको रुपमा चयन हुनुभएको थियो ।

जिन्दगीलाई लम्बाईबाट होइन उचाईबाट नापिनुपर्छ अर्थात् ऊ कति लामो आयु बाँच्यो भन्ने कुराले खासै अर्थ राख्दैन बरु ऊ छोटो जिन्दगी बाँचेर पनि कति उचाई छुन सक्यो भन्ने कुराले जिन्दगीमा ठूलै अर्थ र महत्व राख्छ ।

दुःख र संघर्षका अनुकरणीय आत्मकथा एकातिर थिए भने अर्कोतिर कला र प्रतिभाका रंगीन पानाहरुले सजिएको एक बहु प्रतिभाशाली नारी तथा नेपाली कांग्रेस पार्टी म्याग्दीका चम्किलो धु्रवतारा थिइन् तर के गर्नु सृष्टिको रीति भनौं या परमेश्वरको विधान उनी सदाको लागि अस्ताइन् ।

विगतका दिनहरुमा बाँड्दै हिँडेका सपना र आश्वासनहरु अन्तरमनको अनगिन्ती थिए होलान् ती सबै अनुत्तरित भए माननीय गौचन सदा सदाको लागि चिर मौनतामा विलिन् भई सकिन् भावपूर्ण श्रद्धाञ्जली ।

Leave a Reply